अख्तियारको फन्दामा तानिदैं घुस्याहा इन्जिनियर

पत्रपत्रिकाबाट

सोमबार, २३ मंसिर २०७६, ०६ : ५८
अख्तियारको फन्दामा तानिदैं घुस्याहा इन्जिनियर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला ६ महिनाको अवधिमा घुससहित १ सय ४० जनालाई नियन्त्रणमा लिएर अदालतमा मुद्दा दर्ता गरेको छ । घुससहित नियन्त्रणमा लिएकाबाट अख्तियारले १ करोड ३७ लाख ७० हजार ४ सय ६० रुपैयाँ जफत गरेको छ ।

६ महिनाको अवधिलाई हेर्दा अख्तियार ठूलो भ्रष्टाचार मुद्दा केन्द्रितभन्दा पनि स्ट्रिङ अप्रेसन चलाएर मुद्दामा केन्द्रित भएको देखिन्छ । अख्तियारकै लय समाउँदै सरकार पनि भ्रष्टाचार नियन्त्रणका लागि निर्मम भएर लाग्नेभन्दा शून्य सहनशीलताको भाषण गर्ने, कसम खान लगाउने, गीत गाउन लगाउनेजस्ता ‘कस्मेटिक’ परिवर्तनमा रमाइरहेको छ ।

पछिल्लो समय अख्तियारले ठूलो मुद्दामा चासो दिन छाड्नुले पनि भ्रष्टाचारी समाउने भन्दा पनि धेरै मुद्दाको रेकर्ड कायम गर्नेमा केन्द्रित रहेको विज्ञको भनाइ छ । अख्तियारले १ हजार रुपैयाँदेखि ४७ लाखसम्म बिगो दाबी गरेर विशेष अदालतमा मुद्दा दर्ता गरेको देखिन्छ । सात महिनादेखि ललिता निवास प्रकरणको मुद्दा अनुसन्धान गर्नमै अख्तियार केन्द्रित छ भने ‘हाई प्रोफाइल’का अकुत सम्पत्ति मुद्दालाई थाती राखेर ५ सय रुपैयाँदेखि लाखौं रुपैयाँको स्ट्रिङ अप्रेसनमा केन्द्रित भएको छ ।

अख्तियारको साउनको तथ्यांक केलाउँदा १९ वटा अप्रेसनमा १० जना इन्जिनियर फन्दामा परेका थिए । अख्तियारले जलस्रोत तथा सिँचाइ विकास डिभिजन भोजपुरका सीडीई मोहनबाबु यादवले षडानन्द नगरपालिका–१३ बोयामा रहेको छाँगे खोला सिँचाइ कार्यक्रमको रनिङ बिल पास गरिदिने नाममा सेवाग्राहीसँग १ लाख ८० हजार रुपैयाँ लिदै गर्दा पक्राउ गरेको थियो । १४ असारमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङ्जामा कार्यरत इन्जिनियर (आठौं तह) बसी अख्तर मोहम्मदले खानेपानी आयोजनाको भुक्तानी दिएकामा सेवाग्राहीसँग ४ लाख घुस लिँदा लिँदै पक्राउ गरेको थियो ।

१३ साउनमा भोजपुरका तत्कालीन सीडीई लालु गिरीले बैंक खातामार्फत र नगदै गरी १८ लाख ५० हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरेको थियो । उनले एमके वाईपीजेभीका प्रतिनिधि देवजंग शाहीसँग भोजपुर–टक्सार–कोट–गोगने–लेखर्क सडक स्तरोन्नति योजनाको भुक्तानीका लागि घुस लिएको अख्तियारको दाबी छ । १० साउनमा शिक्षा समन्वय इकाइ काभ्रेका सबइन्जिनियर धनवीर भगत र शिक्षा समन्वय इकाइ भोजपुरका तत्कालीन सबइन्जिनियर निरजकुमार चौधरीले महाभारत, काभ्रेका स्कुल भवनको निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

उनले १ लाख ५० हजार रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक बनेपामा जम्मा गर्न लगाई उक्त रकम जम्मा गरेको भौचर लिइसकेको अवस्थामा निजहरूलाई उक्त भौचरसहित नियन्त्रणमा लिई अनुसन्धान भएको थियो । अनुसन्धानको क्रममा काभ्रेपलान्चोकमा निर्माण र मर्मत कार्य भई बेरुजु फछ्र्योट हुन नसकेका विद्यालयको स्थलगत अनुगमनसमेत गरी बेरुजु फछ्र्योट गर्ने सिलसिलामा शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमीद्वारा पठाइएका इन्जिनियर दीपेन्द्रकुमार देवले घुस लिन धनवीर भगतलाई पठाएको खुल्न आएको छ ।

४ साउनमा अख्तियारले कर्णाली नदी व्यवस्थापन कार्यालय बर्दियाका इन्जिनियर कमल सिटौला, इन्जिनियर विश्वेश्वरप्रसाद शाह, इन्जिनियर हरिप्रसाद चौधरी र सवारी चालक टंकप्रसाद ओझाले निर्माण योजना तारजाली भर्ने कामको बिल रकम भुक्तानी गरेबापत सेवाग्राहीसँग १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको थियो । गोलबजार नगरपालिका, सिरहाका सबइन्जिनियर उमा श्रेष्ठले शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिएबापत सेवाग्राहीसँग ५० हजार घुस लिँदा लिँदै पक्राउ गरेको थियो ।

४ साउनमै जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन इन्जिनियर प्रकाश अधिकारीले विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीसँग घुस रकम लिई बा१झ ५२८० नम्बरको सरकारी गाडीमा काठमाडौं जाँदै गर्दा १३ लाख ३८ हजार ५ सय रुपैयाँसहित अख्तियारको फन्दामा परेका थिए । त्यस्तै, रामनगर गाउँपालिका, सर्लाहीमा कार्यरत इन्जिनियर रामजीबाबु यादवले सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने (विद्युत् पोल, तार र ट्रान्सफर्मर) कार्यको प्राविधिक मूल्यांकनसहितको कार्य सम्पन्न प्रतिवेदन तयार पारेको भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो ।

भदौमा मात्रै अख्तियारले आठ जना इन्जिनियरलाई नक्कली शैक्षिक योग्यता प्रमाणपत्रदेखि घुस रकमसहित पक्राउ गरेको थियो । अख्तियारले भदौमा वन अधिकृत, मालपोत अधिकृत, नायव सुब्बा, प्रहरी हबल्दार, इन्जिनियर र विद्यालयका प्रधानध्यापकसमेत गरी ५४ वटा विभिन्न विषयमा अप्र्रेसन चलाएको थियो । अख्तियारले भदौमा मात्रै मालपोत, नापी, यातायात र राजस्व कार्यालयमा गरी १३ जना अधिकृतविरुद्ध मुद्दा दर्ता गरेको छ । विभिन्न कार्यालयमा कार्यरत नौ जना नायब सुब्बा अख्तियारको स्टिङ अप्र्रेसनमा परेका थिए । राजधानी दैनिकमा खबर छ ।