नेपाल र बेलायतबीचको दुई सयवर्षे कूटनीतिक इतिहासमा पहिलो महिला राजदूत

पत्रपत्रिकाबाट

शनिबार, २१ मंसिर २०७६, ०८ : ०८
नेपाल र बेलायतबीचको दुई सयवर्षे कूटनीतिक इतिहासमा पहिलो महिला राजदूत

काठमाडौँ  । २० वर्षअघि ग्य्राजुएसन पढाइ पूरा गरेपछि निकोला पोल्लिट साथीभाइसँगै लन्डनबाट काठमाडौं आएकी थिइन् । नेपालका गाउँघर बुझ्न र प्रकृतिमा रमाउन आएकी उनी सिधै अन्नपूर्णको १७ दिने पदयात्रामा पुगिन् । थोराङ्ला–पास नाघेपछिको दृश्यले उनी मोहित बनिन् । र, साथीभाइबीच आफ्नो चाहना व्यक्त गरिन्, ‘कुनै दिन मौका पाए म फेरि यही भूगोलमा आउनेछु । 

उनै निकोला अहिले काठमाडौं फर्केकी छन् तर विद्यार्थी वा पदयात्रीका रूपमा होइन, नेपाल र बेलायतबीचको दुई सयवर्षे कूटनीतिक इतिहासमा पहिलो महिला राजदूत बनेर । बिहीबार अपराह्न लैनचौरस्थित बेलायती दूतावासमा भेटिएकी उनले आफ्नै लवजमा नेपालीमा भनिन्, ‘फेरि नेपाल आउन पाएकामा तपाईंले सोचेभन्दा बढी खुसी छु ।’ आफ्नै रुचिमा नेपाल पोस्टिङ छानेर आएको उनले बताइन् । ‘मसहित पाँच जना कूटनीतिक कर्मचारीले नेपाल पोस्टिङ चाहेका थिए तर अन्तर्वार्तामा म छानिएँ,’ उनले भनिन्, ‘१८ महिनाअघि म नेपाल आउने टुंगो भएको थियो । त्यसपछिको १० महिना नेपाली भाषा सिक्नमा खर्चिएँ । आज नेपालीमा कुरा गर्न सक्छु, नेपालीलाई अझ नजिकबाट बुझ्न सक्छु भन्ने लागेको छ ।’

उनले नेपाल आउनुअघि स्कुल अफ ओरिएन्टल एन्ड अफ्रिकन स्टडिज (सोआस) सम्बद्ध कृष्ण प्रधान (‘कम्प्लिट नेपाली’ पुस्तकका सहलेखक) सँग सुरुवातका केही महिना नेपाली अक्षर सिकेकी थिइन् । पछिल्ला ६ महिना काठमाडौंमा रहेका नेपाली भाषाका गुरुहरू कपिल गौतम तथा पवित्रा पौड्यालसँग स्काइपबाट नेपाली बोल्न सिकेकी थिइन् । उनी नेपालीमा थोरैतिनो लेख्न र पढ्न सक्छिन् भने बोलचालमा राम्रै दक्खल राख्छिन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउन बुधबार शीतलनिवास पुगेकी उनले आफ्नो नियुक्तिबारे नेपाली भाषामा ट्वीट गर्दै धेरै फलोवरको ध्यान तानेकी थिइन् । ‘मैले राष्ट्रपतिसमक्ष नेपाली महिलाको अवस्था, शिक्षा–साक्षरताबारे केहीबेर कुरा गरें,’ उनले थपिन्, ‘म आफ्नो तीनवर्षे कार्यकालमा बेलायती सहयोग नियोगमार्फत नेपाली महिलाको सामाजिक र आर्थिक स्तरोन्नतिबारे केही योजना ल्याउन चाहन्छु ।’

दुई साताअघि मात्रै काठमाडौं उत्रिएकी निकोलाले छाउपडी प्रथाका कारण हालसालै पश्चिम नेपालमा केही महिलाको मृत्यु भएको र सरकारले यसलाई गैरकानुनी भने पनि कुसंस्कार हट्न नसकेको समाचारले मन छोएको बताइन् । छाउपडी प्रथा उन्मूलनका लागि केही काम गर्न सकिन्छ कि भनेर सोचाइ बनाइरहेको उनले बताइन् । ‘महिनावारी बार्ने डरलाग्दो कुरीति नेपालमा रहेछ । आजको युगमा यसरी पनि महिला मरिरहेका रहेछन् । बेलायत सहयोग नियोगको कार्यक्रममार्फत छाउपडीविरुद्ध कार्यक्रम ल्याउन म चाहन्छु । म व्यक्तिगत रूपमा पनि त्यही क्षेत्रमा गएर सकेको सहयोग गर्न चाहन्छु,’ उनले थपिन् ।

सन् २००३ मा बेलायतको कूटनीतिक सेवामा प्रवेश गरेकी उनी ३ वर्ष नर्वे र १८ महिना अफगानिस्तानमा कूटनीतिक कर्मचारीका रूपमा कार्यरत थिइन् । ‘नेपाल–बेलायत कूटनीतिक सम्बन्धको दुई शताब्दी लामो इतिहासमा तपाईंलाई नेपालका लागि पहिलो बेलायती महिला राजदूत भन्दा अचम्म लाग्दैन ?’ प्रश्न झर्न नपाउँदै उनले भनिन्, ‘हो, म पनि अचम्म मानिरहेकी छु । बेलायतमा महिलालाई पुरुषसरह हक–अधिकार छ तर नेपालका लागि म पहिलो महिला राजदूत भएर आएकी रहेछु । खुसी लागेको छ ।’ बर्लिन, पेरिस, न्युयोर्कजस्ता महत्त्वपूर्ण नियोगहरूमा बेलायतबाट अझैसम्म महिला राजदूतको प्रतिनिधित्व हुन नसकेको उनले जानकारी दिइन् ।

निकोला दुई छोराछोरीकी आमासमेत हुन् । अझ काखको छोरो त एक वर्षको मात्रै छ । ‘यो कूटनीतिक जिम्मेवारी एउटी आमाका लागि कत्तिको मुस्किल छ ?’ यो प्रश्नमा उनी अलिक भिन्न देखिइन् । भित्र कोठामा छोरा सुतिरहेको संकेत गर्दै भनिन्, ‘हो, धेरै संघर्ष गर्नुपर्छ आमा भएर । म बिहान ७ बजेसम्म आमा हुन्छु, ८ बजेदेखि राजदूत ।’ उनी आफ्ना श्रीमान् मार्कको नाम बीचबीचमा लिइरहेकी थिइन् । ‘मेरा श्रीमान्ले छोराछोरी हेरेर मलाई सहयोग गर्नुहुन्छ, नत्र मलाई मुस्किल पर्ने थियो,’ उनी भन्छिन्, ‘यसरी नेपाल आउन पाउनु मेरा बच्चाहरूका लागि अत्यन्त रोचक अवसर हो । उनीहरूका नयाँ साथी हुनेछन्, नयाँ भाषा सिक्नेछन् । खानपिन र अरू कुरा पनि नयाँ नयाँ छन् । यो सिकाइ र बुझाइको राम्रो अवसर हो ।’

लामो कुराकानीको अन्त्यमा बिहीबार साँझ राजदूत निकोला ‘आमा निकोला’ बन्ने समय आइसकेको थियो । ‘तपाईंले नारीवादलाई कसरी बुझ्नुभएको छ ? के तपाईं नारीवादी हो ?’ यो जिज्ञासा सुन्नासाथ उनी जोडले हाँसिन् र भनिन्, ‘म नारीवादी हुँ तर पुरुषविरोधी होइन । किनभने मेरो श्रीमान्ले मलाई छोराछोरी हेरेर काममा पालो दिनुभएको छ । हामी मिलेर घरभित्र र बाहिर सम्हाल्छौं ।’ उनका बुझाइमा, महिलाको हक–अधिकारबारे कुरा गर्नु र अधिकार खोज्नु एकदमै स्वाभाविक कुरा हो । ‘हक–अधिकारका कुरामा म नारीवादी हुँ तर हरेक पक्षमा पुरुषको विरोध गर्ने कुरामा सहमत छैन,’ उनले थपिन्, ‘महिला–पुरुष मिलेर मात्रै घर चल्छ, त्यहीअनुसार समाज पनि चल्छ ।’कान्तिपुर दैनिकमा खबर छ ।