काठमाडौं । आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौं पटक डायलसिस गरिएको छ । यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो । एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता तीन पटक डायलसिस गरिएको हो ।
एपेन्डिक्सको शल्यक्रिया गरिएको पाँचौं दिन शनिबार प्रधानमन्त्री ओलीले उसिनेको अन्डा र साग खाएका छन् । उनलाई आईसीयूभित्रै सहारा दिएर हिँड्डुलसमेत गराइएको छ । दिउँसो डायलसिस गरिएपछि प्रधानमन्त्री ओली ३–४ घण्टा सुतेको अस्पताल स्रोतले जनाएको छ । उपचारमा संलग्न एक चिकित्सकले ओलीलाई अझै संक्रमणको जोखिम रहे पनि समग्र स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको बताए । चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई शल्यक्रियापछि देखिन सक्ने ‘निमोनिया’ को जोखिमबाट जोगाउनुपर्ने र शल्यक्रिया गर्दाको घाउ छिट्टै निको पार्नुपर्ने छ ।
‘मिर्गौलाका रोगीहरूको कुनै पनि घाउलगायतका स्वास्थ्य समस्या ढिलो गरी निको हुने गर्छ,’ ती चिकित्सकले भने, ‘उहाँ (ओली) को रगत र पिसाबमा देखिएको संक्रमणमा एन्टिबायोटिक औषधिले सकारात्मक प्रभाव देखाएकाले समग्र स्वास्थ्यस्थिति सुधारोन्मुख भन्नुपर्छ ।’‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस (पेटको संक्रमण) देखिएपछि गत मंगलबार प्रधानमन्त्री ओलीलाई आकस्मिक रूपमा सेन्टरमा लगी शल्यक्रिया गरिएको थियो ।
अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे शनिबार रातिसम्म बुलेटिन जारी गरेको छैन । शुक्रबार भने ओलीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका डा.रमेश सिंह भण्डारीले संक्रमणको असर पेट र रगतमा अलिअलि भए पनि अनुमान गरिएजति नभएको बताएका थिए ।
मोदीद्वारा स्वास्थ्यलाभको कामना
नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएका नेपालका समकक्षी केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । काठमाडौंस्थित भारतीय दूतावासमार्फत् शनिबार सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले ओलीको उपचारमा सहयोग गर्न तयार रहेको संकेतसमेत गरेका छन् ।
‘घनिष्ठ मित्रका हिसाबले भारत सरकार र भारतीय जनताका तर्फबाट प्रम ओलीको आवश्यक थप चिकित्सीय तथा परामर्श सेवासमेत प्रस्ताव गर्छु,’ मोदीले सन्देशमा भनेका छन् । उनले प्रम ओलीको नेतृत्वको प्रशंसा गर्दै आफू दुईबीचको उल्लेखनीय साझेदारीबाट दुवै मुलुकका जनता लाभान्वित भएको समेत उल्लेख गरेका छन् । उनले नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आगामी दिनमा प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्ने चाहना व्यक्त गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १५ मंसिर २०७६, ०७ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारे : प्रधानमन्त्री
प्रधानमन्त्री बालेनले दिए यस्तो प्रष्टीकरण : ‘कोही पनि घरबारविहीन हुनुपर्दैन, भ्रममा नपरौँ’
प्रधानमन्त्री भेट्न नपाएपछि ट्रम्पका विशेष दूतले भेटे रवि लामिछाने
प्रधानमन्त्री बालेनलाई निम्तो दिन भारतीय विदेश सचिव बैशाख २८ मा काठमाडौं आउने
प्रधानमन्त्री बालेन ३७ वर्षमा प्रवेश, पत्नी सविनाले फेसबुकमाबाट दिइन जन्मदिनको शुभकामना
बालेन सरकारको एक महिना पूरा १०० कार्यसूची : कागजमा महत्वाकांक्षा, कार्यान्वयनमा मिश्रित संकेत