प्रधानमन्त्रीलाई एक हप्तामा तिन पटक डायलसिस

पत्रपत्रिकाबाट

आइतबार, १५ मंसिर २०७६, ०७ : २०
प्रधानमन्त्रीलाई एक हप्तामा तिन पटक डायलसिस

काठमाडौं । आईसीयूमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार सातौं पटक डायलसिस गरिएको छ । यसअघि ग्रान्डी इन्टरनेसनल हस्पिटलमा २६ दिनमा चार पटक डायलसिस गरिएको थियो । एपेन्डिसाइटिस भएर प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएयता तीन पटक डायलसिस गरिएको हो । 

एपेन्डिक्सको शल्यक्रिया गरिएको पाँचौं दिन शनिबार प्रधानमन्त्री ओलीले उसिनेको अन्डा र साग खाएका छन् । उनलाई आईसीयूभित्रै सहारा दिएर हिँड्डुलसमेत गराइएको छ । दिउँसो डायलसिस गरिएपछि प्रधानमन्त्री ओली ३–४ घण्टा सुतेको अस्पताल स्रोतले जनाएको छ । उपचारमा संलग्न एक चिकित्सकले ओलीलाई अझै संक्रमणको जोखिम रहे पनि समग्र स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको बताए । चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई शल्यक्रियापछि देखिन सक्ने ‘निमोनिया’ को जोखिमबाट जोगाउनुपर्ने र शल्यक्रिया गर्दाको घाउ छिट्टै निको पार्नुपर्ने छ ।

‘मिर्गौलाका रोगीहरूको कुनै पनि घाउलगायतका स्वास्थ्य समस्या ढिलो गरी निको हुने गर्छ,’ ती चिकित्सकले भने, ‘उहाँ (ओली) को रगत र पिसाबमा देखिएको संक्रमणमा एन्टिबायोटिक औषधिले सकारात्मक प्रभाव देखाएकाले समग्र स्वास्थ्यस्थिति सुधारोन्मुख भन्नुपर्छ ।’‘एपेन्डिसाइटिस’ सहित पेरिटोनाइटिस (पेटको संक्रमण) देखिएपछि गत मंगलबार प्रधानमन्त्री ओलीलाई आकस्मिक रूपमा सेन्टरमा लगी शल्यक्रिया गरिएको थियो ।

अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे शनिबार रातिसम्म बुलेटिन जारी गरेको छैन । शुक्रबार भने ओलीको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकले पत्रकार सम्मेलन गरेर जानकारी दिएका थिए । एपेन्डिसाइटिसको शल्यक्रिया गरेका डा.रमेश सिंह भण्डारीले संक्रमणको असर पेट र रगतमा अलिअलि भए पनि अनुमान गरिएजति नभएको बताएका थिए । 

मोदीद्वारा स्वास्थ्यलाभको कामना

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य समस्याका कारण अस्पताल भर्ना गरिएका नेपालका समकक्षी केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरेका छन् । काठमाडौंस्थित भारतीय दूतावासमार्फत् शनिबार सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले ओलीको उपचारमा सहयोग गर्न तयार रहेको संकेतसमेत गरेका छन् ।

‘घनिष्ठ मित्रका हिसाबले भारत सरकार र भारतीय जनताका तर्फबाट प्रम ओलीको आवश्यक थप चिकित्सीय तथा परामर्श सेवासमेत प्रस्ताव गर्छु,’ मोदीले सन्देशमा भनेका छन् । उनले प्रम ओलीको नेतृत्वको प्रशंसा गर्दै आफू दुईबीचको उल्लेखनीय साझेदारीबाट दुवै मुलुकका जनता लाभान्वित भएको समेत उल्लेख गरेका छन् । उनले नेपाल र भारतको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन आगामी दिनमा प्रधानमन्त्री ओलीसँग मिलेर काम गर्ने चाहना व्यक्त गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस