काठमाडौँ । मलेसियाका एकजना राजनीतिज्ञले नेपालमा एक धन्दा चलाउन अनुमति दिन ५ करोड घुस लिएको खुलासा भएको छ ।
मलेसिया जाने नेपाली कामदारबाट अवैध शुल्क असुल गर्ने वान स्टप सेन्टर अर्थात् ओएससीलाई पुनः अनुमति दिन सो घुस रकम लेनदेन भएको खुलासा भएको हो । जवकी वान स्टप सेन्टरले ठगी गरेको भन्दै तत्कालीन श्रममन्त्री गोकर्ण विष्ट खारेज गरिदिएका थिए ।
बुधबार क्वालालुम्पुरस्थित उच्च अदालतमा बयान दिने क्रममा मलेसियास्थित प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडीका निर्देशक अजलान साह जफ्रिलले नेपाल र पाकिस्तानमा वान स्टप सेण्टर स्थापना गर्नका लागि तत्कालीन गृहमन्त्री अहमद जाहिद हमिदीलाई २० लाख मलेसियन रिङ्गिट (करीब नेपाली ५ करोड) घुस दिएको बताएसँगै सो खुलासा भएको हो ।
प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडी नामक कम्पनीले पासपोर्ट संकलन गरी दूतावाससम्म पुर्याउने कामका लागि वान स्टप सेण्टर अर्थात् ओएससी नामक सिस्टम खडा गरेको थियो । ओएससीमार्फत् नै संकलित पासपोर्ट दूतावाससम्म पुराउने काम गरिन्थ्यो ।
काठमाडौंको लैनचौरस्थित मेट्रो पार्कमा ओएससीको कार्यालय रहेको छ । उक्त स्थानबाट मलेसियन दूतावाससम्मको दूरी जम्मा ७ किलोमिटर रहेको छ । तर यही दूरीमा पासपोर्ट पुर्याउनकै लागि नेपालमा प्रतिव्यक्ति ३ हजार २ सय रुपैयाँ शुल्क उठाउने गरिएको छ । त्यो शुल्कमा पनि अझै मूल्य अभिवृद्धि कर लिएर थप शुल्क लिने गरिएको छ ।
तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले यस संस्थाबाट ठगी भएको भन्दै संस्था नै खारेजीको घोषणा गर्दै २ अर्बभन्दा बढी रकम ठगी गरेको आरोपमा कारवाही प्रक्रियासमेत अगाडि बढाएका थिए । प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडीका निर्देशक अजलान साह जफ्रिलले नेपाल र पाकिस्तानमा ओएससी सिस्टम खडा गर्नका लागि स्वीकृति लिने क्रममा ५ करोड नेपाली रुपैयाँ घुस दिएको बयान अदालतसमक्ष दिएका हुन् ।
बयान दिने क्रममा प्रोफाउण्ड रेडियन्स एसडीएन बिएचडीका निर्देशक अजलान साह जफ्रिलले पूर्व उपप्रधान तथा गृहमन्त्रीलाई एकमुष्ठ घुस दिनेबाहेक तपाह भन्ने स्थानको मस्जिदको लागि मासिक २१ हजार मलेसियन रिङ्गिट घुस दिनुपरेको बयान दिएका छन् ।
मलेसियामा आप्रवासी कामदार भित्र्याउने क्रममा विभिन्न संस्था खडा गर्न लगाएर भ्रष्टाचार गरेको भन्दै मलेसिया पूर्व उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीबिरुद्ध अदालतमा मुद्दा चलिरहेको छ । क्वालालाम्पुरको उच्च अदालतमा उनीविरुद्ध सुनुवाई भइरहेको छ ।
नेपालले मलेसियामा कामदार पठाउने प्रक्रिया नै रोकी भ्रष्टाचार र ठगीबारे अनुसन्धान थालेपछि मलेसियाले पनि माइग्राम्स, बायोमेट्रिक, ओएससी, आइएससी र भिएलएन सञ्चालनका सम्बन्धमा छानबिन थाली अनुसन्धान सुरु गरेको थियो । त्यसै क्रममा हमिदीमाथि छानबिन हुँदा उनले भ्रष्टाचार गरेको भनी मुद्दा परेको थियो ।
अहिले नेपालमा भने यी सबै संस्थाले काम गरिरहेका छन् । यद्यपि, माइग्राम्स भने अहिले हटेको छ । तत्कालीन मन्त्री विष्टले ओएससीले नेपाली युवाहरुबाट अर्बौ रुपैयाँको ठगी गरेको भन्दै त्यसका सञ्चालक राम श्रेष्ठविरुद्ध ठगीको उजुरीमा हिरासतसम्म पुर्याएका थिए ।
यद्यपि पछि उनी अदालतको आदेशबाट थुनामुक्त भएका थिए । तर नेपालमा ओएससी स्थापना गर्ने समयमा ओएससीका सञ्चालकले भने मलेसिया तत्कालीन उपप्रधान तथा गृहमन्त्रीलाई ५ करोड नेपाली रुपैयाँ घुस दिएको बयान दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ मंसिर २०७६, ०६ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई र माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
ठगी गरेको आरोपमा २ जना पक्राउ
अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
पोर्चुगल र जापान पठाइदिने बहानामा ठगी गरेको अभियोगमा दुई जना पक्राउ