ठगीको नयाँ रुप : युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली

सफल खबर संवाददाता

बुधबार, ०३ मंसिर २०८२, ०८ : ४५
ठगीको नयाँ रुप : युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली

काठमाडौं । युएईका ‘नक्कली कलेज’को पासोमा नेपाली विद्यार्थीहरु पर्न थालेका छन् । नेपालका शैक्षिक कन्सल्ट्यान्सहरुले संयुक्त अरब इमिरेट्स (युएई) मा अध्ययन गर्न पठाएका कतिपय नेपाली विद्यार्थी ठगिएको फेला परेको छ ।

अमेरिका, वेलायत, अष्टेलिया, न्यूजील्याण्ड र यूरोपका देशहरु अध्ययन गर्न जान नसकेका तर युएईमा भएपनि अध्ययन गरी उज्ज्वल भविष्यको सपना बोकेर संयुक्त अरब इमिरेट्स (युएई) पुगेका सयौं नेपाली विद्यार्थी ठगिएको खुलेको हो । केही ठगिएका विद्यार्थीहरुले मंगलबार प्रहरीमा पुगेपछि यसबारे खुलासा भएको हो ।  
अबुधाबीस्थित नेपाली दूतावास, शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय हुँदै उनीहरू मंगलबार काठमाडौं जिल्ला प्रहरी परिसर पुगेका थिए ।

‘प्रहरीले सामूहिक उजुरी दिन सुझाव दियो। अहिले हामी पीडितहरूको सूची संकलन गर्दैछौं,’ पिडित विद्यार्थीमध्येका एक विश्वजीत यादवले बताए । फ्रान्सका नाममा दर्ता, युएईमा तीन कोठे ‘युनिभर्सिटी’ नेपालका शैक्षिक कन्सल्ट्यान्टहरुले आकर्षक ब्रोसर, चम्किला वेबसाइट र झिलिमिली क्याम्पसका तस्बिर देखाएर कयौं नेपाली विद्यार्थीलाई फसाएका छन् । त्यसरी ठगिएका नेपाली विद्यार्थीले युएई पुगेपछि भेटे-फोटोमा देखिएका अत्याधुनिक कक्षाहरू होइन, तीन–चार वटा साना कोठाबाट सञ्चालन हुने ‘कलेज’ अनि करिब सबै कक्षाहरू अनलाइन मात्र ।

अजमानस्थित ब्रिटिश युनिभर्सिटी कलेज इन्टरनेशनल (BUCI) बाट फर्किएका विश्वजीत कुमार यादव मंगलबार प्रहरीकहाँ न्याय खोज्दै पुगेका थिए । ‘वेबसाइटमा देखेंझैँ कलेज कतै थिएन । अवतरण गरेको हप्तौंसम्म ‘अनलाइन कक्षा लिनुस्’ भन्दै बसाइयो । कसरी यस्ता संस्थाले आफूलाई युनिभर्सिटी भन्छन् भनेर अचम्म लाग्यो,’ विश्वजीतले सफलखबरसँग भने,‘त्यसपछि थाहा लाग्यो हामीलाई ठगिएछ ।’

विश्वजीतको जस्तै अनुभव सुनाउँछिन् दुबईको क्रिएटिभ स्टार एजुकेशन इन्स्टिच्युट (CREI) बाट फर्किएकी २५ वर्षीया नीलम चौधरी पनि । उनी पनि मंगलबार प्रहरीकहाँ न्याय खोज्दै पुगेकी थिइन् । ‘स्वास्थ्य, व्यवस्थापन र नर्सिङ पढ्ने सबैलाई एउटै अनलाइन कक्षा । अन्ततः दबाब दिएपछि कलेज भित्र पस्न पायौं, जहाँ मात्र तीन वटा कोठा देखेर म स्तब्ध भएँ,’ चौधरीले सुनाइन् । 

ठगिएर फर्केका विद्यार्थीहरूको भनाइमा यस्ता ‘कलेज’ मध्ये धेरैजसो फ्रान्सका संस्थाहरूसँगको ‘अस्युर्ड टायअप’ भएको दाबी गर्छन् तर वास्तविकता भने युएईका फ्री जोनमा दर्ता भएका साधारण तालिम केन्द्र मात्र रहेको देखिएको छ । ।

फ्री जोन : दर्ता सजिलो, नियमन शून्य
छलमा परेका विद्यार्थीहरूका अनुसार यी संस्थाहरू प्रायः अजमान, शारजाह वा दुबईका फ्री जोनहरूमा दर्ता हुन्छन् । यस्ता ठाउँमा कडा नियमन हुँदैन, ट्रेड लायसेन्स मात्र लिएर शैक्षिक संस्था खोलेझैँ अभिनय गर्न सकिन्छ ।
‘फ्री जोनमा केही हेर्दैन। युनिभर्सिटी हो कि होइन, मान्यता छ कि छैन, कसैले सोधी खोजी नगर्ने रहेछ । त्यही भएर दर्ता सजिलो रहेछ, नियमन गर्ने कोही रहेनछ, त्यसैको फाइदा उठाउँदै विद्यार्थी ठगि चलिरहेको छ’ यादव बताउँछन् ।

यसरी युएई पुगेर ठगिएका अधिकांश विद्यार्थीले नेपालमै बसेको बेला ७ लाख ५० हजारदेखि १५ लाख रुपैयाँसम्म शुल्क बुझाएको बताउँछन् । उनीहरूलाई पठाउने प्रमुख परामर्शदातामा सताक्षी एजुकेशन फाउन्डेसन (SEF), अक्सब्रिज इन्टरनेशनल कन्सल्टेन्सी, हार्बर एजुकेशन कन्सल्टेन्सी, कान्तिपुर एब्रोड कन्सल्टेन्ट लगायतका एजेन्टहरूको नाम जोडिएको छ ।

युएईबाट एक महिनामै फर्किएका सन्देश उप्रेती भन्छन्, ‘हाम्रो पैसा मात्र होइन, भविष्यका सपना पनि लुटियो ।’ तर सताक्षी एजुकेशन फाउण्डेसन (SEF) का प्रमुख उमेश ढुंगेल भने दोषारोपण अस्वीकार गर्छन् । ‘शिक्षा मन्त्रालयले नो अब्जेक्सन सर्टिफिकेट दिएको थियो, त्रिविले बराबरी मान्छ भनेर देखिएको थियो । सबै कुरा थाहा पाएर नै विद्यार्थी युएई पुगेका हुन्।’

विद्यार्थीहरूका अनुसार BUCI र CREI मात्र होइन, ASTI एकेडेमी, भाइब एजुकेशन, सेन्ट्रल एकेडेमी फर म्यानेजमेन्ट स्टडीज, नेस्ट एकेडेमी अफ म्यानेजमेन्ट एजुकेशन, लिंकन युनिभर्सिटी अफ बिजनेस एन्ड म्यानेजमेन्ट, मोनार्क एकेडेमी, रोयल रोड्स युनिभर्सिटी, हार्बर एजुकेशन क्यापिटल युनिभर्सिटी कलेज जस्ता संस्थाहरूले पनि सयौं नेपालीलाई फसाइरहेका छन् ।