स्वास्थ्यमा सुधारसंगै प्रधानमन्त्री ओलीको ठट्टा

पत्रपत्रिकाबाट

शुक्रबार, १३ मंसिर २०७६, ०६ : ४१
स्वास्थ्यमा सुधारसंगै प्रधानमन्त्री ओलीको ठट्टा

काठमाडौं . आफ्नो स्वास्थ्यमा सुधारलगत्तै प्रधानमन्त्री केपी ओली जिज्ञासु हुन थालेका छन्। उपचार टोलीका संयोजक डा. अरुण सायमीसँग उनी सोध्छन्– ‘के छ खबर ? मिडियामा के–के आइरा’छन् ? ’ डा. सायमीले सामान्य ब्रिफिङ गर्छन्। प्रधानमन्त्री ओलीसँग उनको ठट्टा चल्छ।

एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको पाँचांै तलामा स्वास्थ्यलाभ गरिरहेका छन्। प्रधानमन्त्रीसँग सामान्य कुराकानी भइरहेका बेला बुधबार साँझ डा. सायमीलाई एक सञ्चारकर्मीको फोन आयो। ती सञ्चारकर्मीले आरोप लगाए, ‘तपाईंहरूले प्रधानमन्त्रीको स्वास्थ्यबारे कुरा लुकाउनुभयो।’

डा. सायमीले सबै कुरा सार्वजनिक भएको स्पष्ट पार्दै आरोपको प्रतिवाद गरे। दुई जनाको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले भने, ‘सबै कुरा बोल्दिनुस्। जे भइरहेको छ, जवाफ दिनुस्।’

प्रधानमन्त्रीले बिहीबार शुभचिन्तकलाई ट्विटरबाट धन्यवाद दिए। ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु। यति बेला मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ। स्वास्थ्य स्थितिबारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’, प्रधानमन्त्रीले लेखेका छन्।

्रप्रधानमन्त्रीको स्वास्थ्य र उपचार प्रक्रियाबारे जानकारी दिन चिकित्सकले शुक्रबार पत्रकार सम्मेलन गर्ने भएका छन्। उपचार टोलीका संयोजक डा. सायमी, निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. दिव्यासिंह शाह, वरिष्ठ सर्जन डा.रमेशसिंह भण्डारीलगायतले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिनेछन्।

चिकित्सकका अनुसार प्रधानमन्त्रीले बिहीबार बिहान झोलिलो पदार्थ र दाल खाए। ‘केही बेर ह्विलचेयरमा बसायौं। स्वास्थ्यमा उल्लेखनीय सुधार छ। अझै केही दिन उच्च चिकित्सकीय निगरानीमा सघन उपचार कक्षमै राख्छौं’, एक चिकित्सकले भने।

प्रधानमन्त्री बिहीबार पत्नी राधिका शाक्य, मुख्य सल्लाहकार विष्णु रिमाल र स्वकीय सचिव राजेश बज्राचार्यसँग केही बेर गफिए। भेटेर फर्किएका रिमालले अन्नपूर्णसँग भने, ‘अपेक्षा गरेअनुसार नै दु्रत ढंगले स्वास्थ्यमा सुधार भइरहेको छ।’ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न नेकपा महासचिव विष्णु पौडेललगायत नेता अस्पताल पुगेका थिए। यद्यपि, उनीहरू चिकित्सकसँग स्वास्थ्य अवस्था बुझेर फर्किएको उपचार टोलीका संयोजक डा. सायमीले बताए। भेट्न दिँदा संक्रमण हुन सक्ने भएकाले चिकित्सकले रोक लगाएका छन्।

डाक्टर–ओली ठट्टा

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सायमी र प्रधानमन्त्री ओलीबीच सघन उपचार कक्षमा ठट्टा चल्ने गर्छ। प्रधानमन्त्री ओलीलाई बाहिरी हालखबर सोध्न मन पर्छ। जवाफमा डा. सायमी ‘जोक’ गर्छन्। उनले भने, ‘प्रधानमन्त्रीज्यूको निजी चिकित्सक त होइन तर २५ वर्षदेखि उहाँको स्वास्थ्य हेर्दै आएको छु। आपसमा जोक हुन्छ।’

निकट सम्बन्धका कारण ओलीले बाहिर के भइरहेको छ ? भन्दै प्रश्न गर्दा आफूले उपनिर्वाचनको अवस्था बुभ्mन र दशरथ रंगशाला जान मन लागेको हो ? भन्दै ठट्टा गरेको उनले सुनाए।

प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान आकस्मिक उपचार कहाँ गराउने भन्ने छलफलमा डा. सायमीले निर्णायक भूमिका निर्वाह गरेका थिए। डा. सायमीकै आग्रहमा प्रधानमन्त्रीलाई उपचारका लागि मनमोहन सेन्टरमा भर्ना गरिएको थियो। सायमी सेन्टरमा कार्यरत भएकाले प्रधानमन्त्रीलाई अन्यत्र लगिएन।

प्रधानमन्त्रीको मंगलबार शल्यक्रियापछि रेनलथेरापी र बुधबार नियमित डायलासिस भइरहेको जानकारी सेन्टरबाट दिइएको छैन। ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्यबारे केही लुकाउनु हुँदैन भन्ने मान्छे हुँ’, डा. सायमीले भने।

प्रधानमन्त्रीसँग राष्ट्रपतिको भेट

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको पूर्ण स्वास्थ्य लाभको कामना गरेकी छन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर बिहीबार साँझ भेट गरी शुभकामना व्यक्त गरेकी हुन्। प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिमाभइरहेको सुधारप्रति खुसी र सन्तोष व्यक्त गरेकी थिइन्।राष्ट्रपति भण्डारीले झन्डै १५ मिनेट प्रधानमन्त्री ओलीसँग कुराकानीगरेको स्रोतले बतायो। प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि राष्ट्रपति भण्डारीले उपचार व्यवस्थाबारे अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठ, उपचार टोलीका संयोजक डा. अरुण सायमी लगायतका चिकित्सकसँग जानकारी लिएकी थिइन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाले राष्ट्रपति भण्डारीद्धारा प्रधानमन्त्री ओलीको उपचार र स्वास्थ्यस्थितिबारे जानकारी लिएको बताए। प्रधानमन्त्री उपचाररत सघन उपचार कक्षमा यस अघि बाहिरका आगन्तुकहरुलाई प्रवेशमा रोक लगाइएको थियो। राष्ट्रपति भण्डारीले भेट गर्ने चाहना राखेपछि प्रवेश गर्न दिइएको उपचारमा संलग्न एक चिकित्सकले बताए। अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस