एनआईसी एशिया बैंकको सुपर चमत्कारिक मासिक निक्षेप खाता योजना सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, ०३ मंसिर २०७६, १८ : ०३
एनआईसी एशिया बैंकको सुपर चमत्कारिक मासिक निक्षेप खाता योजना सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंकले बचत खातामै ९.७५% व्याज दिने भएको छ । बैंकले सबै ग्राहकहरुलाई अधिकतम सुविधा प्रदान गर्ने उद्देश्यले नयाँ सुपर चमत्कारिक मासिक निक्षेप खाता योजना सार्वजनिक गरेको हो । 

यस निक्षेप योजनामा तीन महिनादेखि १० वर्षसम्म न्यूनतम ५०० को गुणनमा निश्चित रकमबाट खाता सुचारु गर्न सकिनेछ । कुनै पनि समय आफूसँग अतिरिक्त रकम भएमा १०० को गुणन दरले ५०० भन्दा बढी रकम जम्मा गरी ९.७५% व्याज प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

ग्राहकहरुले मासिक रुपमा थोरै–थोरै रकम जम्मा गरी बचतमा मुद्दती बराबरको लाभ लिन सक्नेछन् । कुनै महिना तोकिएको रकम बुझाउन असमर्थ भएमा अर्को महिना किस्ता बराबरको रकम कुनै अतिरिक्त शुल्कबिना यथास्थितिमा बुझाउन सकिने सुविधा पनि बैंकले दिएको छ । 

मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग वा सिधै उपयुक्त पर्ने बैंकको शाखामार्फत् रकम जम्मा गर्न सकिने सुविधा पनि यस योजनामा रहेको छ । यस खातावाहकले निक्षेपको ९०% सम्म कर्जा प्राप्त गर्न सकिनेछ भने निक्षेप योेजनाको ५०% परिपक्व हुने अवधि कटेपछि आवश्यक परेको खण्डमा खाताबाट रकम झिक्न पनि सकिने बैंकले जनाएको छ ।
‘सुपर चमत्कारिक मासिक निक्षेप खाता’ बैंकमा खाता भएका इच्छुक सबै खातावाहकहरु तथा नयाँ खाता खोल्न चाहनेहरुले यस खाता खोली अधिकतम लाभ लिन सक्ने बैंकले जनाएको छ । 

यो योजनाअन्तर्गत थोरै–थोरै रकम जम्मा गरी कुनै लगानी तथा आफ्नो आम्दानीलाई नियमित रुपमा बचत गरी आवश्यकताहरु पूरा गर्न, भविष्यका योजनाहरु जस्तै विदेश भ्रमण, इच्छाइएको बहुमूल्य सरसामानहरु जोड्न र बचत खाताबाटै मुद्दती खाता बराबरको प्रतिफल प्राप्त गर्न सकिनेछ । 

यस निक्षेप योजनाबाट आम जनमानसको बचत गर्ने बानीलाई थप सहज बनाउँदै, प्रोत्साहन गर्ने र बचतको उचित प्रतिफल प्राप्त गर्न सकिने विश्वास बैंकले लिएको छ ।