चितवन। नेपालको कृषि क्षेत्रमा रासायनिक विषादीको अनियन्त्रित प्रयोगले मानव स्वास्थ्य र वातावरणमा गम्भीर संकट निम्त्याइरहेका बेला चितवन, भरतपुरकी एक युवा कीट बैज्ञानिक निशा सुवेदी जैविक विकल्पसहितको कीरा व्यवस्थापन अभियानमा सक्रिय हुनुभएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय बाट कीट-विज्ञान (Entomology) मा स्नातकोत्तर (M.Sc. Ag.) तह पूरा गर्नुभएकी सुवेदीले आफ्नो अध्ययन र अनुसन्धानको ज्ञानलाई केवल प्रमाणपत्रमा सीमित नराखी किसानको खेतबारी र विद्यार्थीको कक्षाकोठासम्म पुर्याउन सुरु गर्नुभएको हो।
सुवेदीको अनुसार किसानहरूमा बालीनालीमा कीरा लाग्नुअघि नै 'आउला कि' भनेर पूर्वसावधानीका नाममा रासायनिक विषादी छर्ने र खेतमा एक-दुईवटा कीरा देख्नेबित्तिकै कडा रासायनिक विष प्रयोग गर्ने घातक अभ्यास बढ्दो छ। कुन कीराका लागि कुन औषधि उपयुक्त हुन्छ भन्ने प्राविधिक ज्ञानको अभावमा गरिने यस्तो अन्धाधुन्ध प्रयोगले कीराहरूमा बिस्तारै 'विषादी प्रतिरोध क्षमता' (Pesticide Resistance) विकास हुने र मित्र कीराहरू नष्ट भई शत्रु कीराको झन् तीव्र 'पुनरागमन' (Pest Resurgence) हुने जोखिम रहन्छ। यस्ता रसायनहरू माटो र जलस्रोतमा वर्षौंसम्म रहँदा वातावरणीय सन्तुलन बिग्रनुका साथै खाद्यान्नमार्फत मानव शरीरमा प्रवेश गरी गम्भीर स्वास्थ्य क्षति पुर्याइरहेका छन्।
यस जनचेतना अभियानमा होमिनका लागि आफूले स्नातकोत्तर तहमा दुई वर्षसम्म गरेको अनुसन्धान नै मुख्य प्रेरणाको स्रोत रहेको सुवेदी बताउनुहुन्छ। सुबेदीले हानिकारक रासायनिक विषादीको सुरक्षित विकल्पका रूपमा जैविक ढुसी (Entomopathogenic Fungi) को प्रयोग गरी फौजीकीरा व्यवस्थापनमा त्यसको प्रभावकारिताको अध्ययन गर्नुभएको थियो। उहाँले आफ्नो शोधकार्य प्रा. डा. सुन्दर तिवारी, सह-प्रा. डा. मीनराज पोखरेल र सहायक प्रा. तेज नारायण भुसालको सुपरीवेक्षणमा सम्पन्न गर्नुभएको थियो। अनुसन्धानका क्रममा उहाँ USAID, Virginia Tech, USA, iDE Nepal, NMRP र AFU को सहकार्यमा सञ्चालित परियोजनामा आबद्ध हुनुहुन्थ्यो। यस प्रक्रियामा Virginia Tech का डा. रंगस्वामी मुनिआप्पन, iDE Nepal का ललित साह र ल्याब टेक्निसियन टीकाराम बगलेको साथै परियोजनामा आबद्ध साथीहरु श्रीषा बिस्ट, भावना रेग्मी, लक्ष्मण चौधरीको विशेष सहयोग रहेको थियो। कृषि तथा बन बिज्ञान विश्वविद्यालयमा यस परियोजना भित्र ढुसी (Metarhizium rileyi) र परजीबी किराहरु (Telenomus remus, Trichogramma Chilonis) को फौजीकिरा ब्यबस्थापनमा प्रभावकारिता बारे शोधकार्य गरिएको थियो। परजीबी किराहरु (Telenomus remus, Trichogramma Chilonis) फौजीकिरा को अन्डा ब्यबस्थापनमा निकै प्रभावकारी देखिएको थियो भने ढुसी ( Metarhizium rileyi) फौजी किराको लार्भा ब्यबस्थापनमा प्रभावकारी देखिएको थियो। यसै अनुसन्धानका क्रममा सुबेदीले Metarhizium rileyi नामक ढुसी फौजीकीरा नियन्त्रणमा प्रभावकारी छ भनेर नेपालकै सन्दर्भमा पहिलो पटक वैज्ञानिक रूपमा प्रमाणित गर्नुभयो। उहाँको यो महत्त्वपूर्ण खोज प्रतिष्ठित Indian Journal of Entomology मा समेत प्रकाशित भइसकेको छ।
आफ्नो शोधकार्य सफलतापूर्वक सम्पन्न गरेपश्चात् सुवेदी पुन दोस्रो चरणको परियोजनामा आबद्ध हुनुभयो। USAID, PennState USA, PlantVillage, PlantVillage Nepal र Agriculture and Forestry University को सहयोगमा सञ्चालित यस परियोजनाको मुख्य उद्देश्य प्रयोगशालामा परजीबी किराहरु (Telenomus remus, Trichogramma Chilonis) र ढुसी (Metarhizium rileyi) धेरै मात्रामा उत्पादन गर्ने र किसानको मकै बारीमा प्रयोग गरी फौजी किरा ब्यबस्थापनमा प्रभावकारिता परीक्षण गर्नु थियो। यस अन्तर्गत सुवेदीले भने पहिलो चरणमा जस्तै ढुसीमा काम गर्नु भएको थियो । यस परियोजनामा विश्वविद्यालयका विज्ञहरू प्रा. डा. सुन्दर तिवारी, प्रा. डा. मिन राज पोख्रेल, प्रा. डा. शिव चन्द्र ढकाल, प्रा. डा. अर्जुन कुमार श्रेष्ठ, सहायक प्रा. अनन्त मणि भट्टराई , PennState बाट बिपना पौडेल तिमिल्सिना म्याम, PlantVillage बाट सुष्मिता शर्मा र प्रा. डा. हिराकाजी मानन्धर र विश्वविद्यालयका ल्याब टेक्निसियन टिकाराम बगाले साथै लेखामा राम किशोरीमा लगायतको टिम थियो।
अनुसन्धानबाट प्राप्त यो 'ब्रेकथ्रु' ज्ञानलाई निशाले अहिले भरतपुरका किसान र विद्यार्थीहरूमाझ निःशुल्क जनचेतना अभियान भनेर कार्यक्रम संचालन गरिरहनु भएको छ। प्रयोगशालाको अनुसन्धान र प्राविधिक सीपलाई किसानको खेतबारीमा पुर्याएर सेवा दिने उनको यो प्रशंसनीय कार्यले सुरक्षित र विषादीमुक्त कृषिका लागि थप आशा मिलेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०८ चैत्र २०८२, १९ : ३५
लेखकबाट थप