शेरवहादुर देउवा चैत २५ यता स्वदेश नफर्किने

सफल खबर संवाददाता

आइतबार, ०८ चैत्र २०८२, ०८ : ५३
शेरवहादुर देउवा चैत २५ यता स्वदेश नफर्किने

काठमाडौं । कांग्रेसका पूर्व सभापति शेरवहादुर देउवा नेपालमा नयाँ सरकार नबन्दासम्म स्वदेश नफर्किने भएका छन् । प्रतिनिधिसभा चुनाव अगाडी नै देउवा र उनकी पत्नी डा आरजु राणा देउवा दुवै विदेश हिँडेका थिए । 
अलग –अलग बाटोबाट सिंगापुर पुगेका देउवा दम्पती अहिले त्यहाँबाट हङकङ पुगेका छन् । यधपी उनीहरु अझै त्यहाँ दुई साता जति रहने देउवा निकट स्रोतले जनाएको छ । 
नेपालमा चुनावपछि नयाँ सरकार बन्ने तयारी रहेको र आउने सरकारका केही दिनका गतिविधि बुझेर मात्र देउवा दम्पती स्वदेश फर्किने सूरमा देखिएका छन् । त्यही बीच कांग्रेससँग सम्वन्धित विवादमा सर्वाेच्च अदालतको पनि एउटा धारणा आउन सक्ने सम्भाबना रहेको भन्दै देउवाले चैत २५ आसपास मात्र स्वदेश फर्किने तयारी गरेको देउवा निकट स्रोतको भनाई छ । 
‘उहाँहरु (देउवा दम्पती) निर्वाचनमा दुईतिहाइ नजिक बहुमत ल्याएको रास्वपाले बनाउने सरकारको गतिविधि केही समय हेर्नुहुन्छ । अर्काे त्यही बीचमा कांग्रेसको आधिकारिकता विवादमा सर्वाेच्चमा तारिख पनि छ, यी दुवै विषय के हुन्छ पहिले उहाँहरुले हेर्नुहुन्छ, त्यसपछि मात्र स्वदेश फर्कनेबारेमा निर्णय लिनुहुन्छ,’ देउवा निकट कांग्रेसका एक नेताले भने ।

देउवा प्रतिनिधिसभा निर्वाचनअघि १३ फागुनमै सिंगापुर गएका थिए । १० फागुनमा भारत गएकी श्रीमती आरजु राणा देउवा पनि उतैबाट सिंगापुर पुगेकी थिइन् । उनीहरु अहिले शनिबार हङकङ पुगेका छन् । 

सरकारले चाल्ने कदम आग्रह÷पूर्वाग्रहका आधारमा चल्छ या स्वतन्त्र तरिकाले चल्छ भन्ने देउवा उतैबाट हेर्न चाहिरहेका छन् । त्यसअतिरिक्त कांग्रेसको विशेष महाधिवशेनबाट आएको नयाँ नेतृत्वले चुनाव हारको दोष आफुहरुमाथी थोपरेकोमा देउवा असन्तुष्ट देखिएका छन् ।

उनले दोष आफुतिर थोपरेर जाने प्रवृति गलत भएको भन्दै सर्वाेच्चको आदेश पर्खेका छन् । सर्वाेच्चमा कांग्रेसको आधिकारिकता विवादमा २२ चैतमा पेशी तोकिएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशन पक्षधरलार्इृ वैधानिकता दिएपछि देउवा पक्षका नेताहरु सर्वाेच्च अदालत पुगेका थिए । 

निर्वाचन परिणामपछि पार्टी मिलाउने र नयाँ शिराबाट एकताबद्द भएर नियमित महाधिवेशनको कार्यतालिका बनाएर जानुपर्नेमा विशेष महाधिवेशन पक्षधर नेताहरु झन् पूरानो नेतृत्वलाई दोष थुपार्नेतिर लागेपछि असन्तुष्ट छन् ।

देउवा पक्षधर नेताहरुले केही दिनमा पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउने र त्यसपछि १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको बैठक बोलाएर महाधिवेशनका बारेमा छलफल गर्ने योजना बनाईरहेका छन् । त्यसका लागि पनि हङकङ आईपुगेका देउवाको ग्रिनसिंग्नल पर्खेर बसेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस