कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी

सफल खबर संवाददाता

सोमबार, ०९ चैत्र २०८२, ०८ : ३९
कांग्रेसमा दल नेता : युवासँग नभिड्ने, सर्वसम्मत माग्ने अर्जुननरसिंहको तयारी

काठमाडौं । नेपाली कांग्रेसमा आफुलाई सर्वसम्मत संसदीय दलको नेता बनाउनु पर्ने माग अर्जुननरसिंह केसीले गरेका छन् ।

कांग्रेसका तर्फबाट हाल सांसद रहेकामध्ये संसदमा अनुभवी, सिनियर र अन्य राजनीतिक दलहरुसँग पनि समन्वय गर्नसक्ने नेता आफुमात्रै रहेकोले दलको प्रभावकारी संसदीय प्रस्तुतीका लागि पनि आफुलाइृ दल नेता बनाउनु पर्ने माग नेता केसीको छ ।

उनै केसीले चैत ११ मा राष्ट्रपति रामचन्द्र पौडेलसँग सांसदको शपथ लिँदैछन् । त्यसको भोलिपल्ट चैत १२ मा उनले संसदको सबैभन्दा जेष्ठ सदस्यका रुपमा अन्य सांसदहरुलाई सपथ खुवाउँदैछन् । आफुले शपथ खाने समय ज्योतिषी हेराएर तय गरेका केसीले युवामध्येबाट दलको प्रमुख सचेतक र सचेतक बनाउने र आफु दल नेता बन्ने तयारीमा जुटेका छन् । 

उनी निकट स्रोतका अनुसार, केसीले भीष्मराज आङदाम्बेलाई उपनेता, निश्कल राई या अन्य कुनै युवालाई प्रमुख सचेतक र दैलेखबाट विजयी भएकी बासना थापालाई सचेतक बनाएर जाँदा युवा, बृद्द सबैको सन्तुलन मिलाउन सकिने र संसदीय भूमिकामा शसक्त प्रतिपक्षी बन्न सकिने नेताहरुलाई सुनाउन थालेका छन् । 

समानुपातिकबाट सांसद भएका केसी कांग्रेसका सबैभन्दा अनुभवी सांसद हुन् । उनी पञ्चायती व्यवस्थादेखि नै सांसद र मन्त्री बन्दै आएका छन् । केसी समकालीन राजनीतिमा सबैभन्दा बढी चुनाव लडेका नेता पनि हुन् । ७८ वर्षीय केसी २०३८ सालमा राष्ट्रिय पञ्चायतबाट निर्वाचन लडेर निर्वाचित भइ राज्यमन्त्री भएका थिए ।

२०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचन दोस्रो पटक लड्दा पराजित भएपछि उनी २०४५ मा जिल्ला पञ्चायतका सभापति भए । २०४६ पछि कांग्रेसमा फर्किएका केसी २०४८, २०५१, २०७० र २०७९ मा नुवाकोटबाट निर्वाचित भएका थिए । केसी सहरी विकासमन्त्री ९२०७३०, शिक्षामन्त्री तथा आवास तथा भौतिक योजनामन्त्री ९२०५५०, स्वास्थ्य तथा जनसंख्यामन्त्री ९२०५२० बनेर काम गरिसकेका छन् । 

कांग्रेसका पार्टी सभापति गगन थापा उनका ज्वाई पनि हुन् । गगनका ज्वाई भएका कारण उनीमाथी समानुपातिक सांसद बनेको, दल नेता बन्न लागेको जस्ता आरोप भने कांग्रेसभित्रैबाट पनि लाग्न थालेको छ । 

यधपी केसीले कांग्रेसमा आफनो पहिचान गगनको ज्वाई भन्दा पनि अलग्गै रहेको बताईरहेका छन् । केसी गगन थापालाई नै सभापति मानेर विशेष महाधिवेशन पक्षधर भएपछि उनलाई दल नेता बन्न रोक्न शेरवहादुर देउवा र शेखर कोइराला पक्षले भने भीष्मराज आङदाम्बेलाई अगाडी सार्न खोजिरहेका छन् । 

आङदाम्बे अगाडी सारेमा भने केसी उनीसँग दल नेताका लागि आवश्यक परे चुनावै लड्न पनि तयार देखिएका छन् । तर युवा पुस्ताका नेताहरुसँग भने उनी चुनाव नलड्ने योजनामा छन् । 
‘भर्खरका छोरा, नाति पुस्ताका नेताहरुसँग चुनावी प्रतिस्पर्धा गरेर दल नेता बन्दा राम्रो सन्देश जाँदैन, उनीहरुलाई अनुभवी नेताहरुले नेतृत्व गरेर गाइड गर्ने हो,’ नेता केसीले निकट नेताहरुसँग भन्न थालेका छन्, ‘कांग्रेस संसदमा संख्यातमक रुपमा कमजोर उपस्थिती रहँदा अनुभवी नेताले डाइभिङ गर्नुपर्छ ।’

झण्डै दुई तिहाई को सिट सहित प्रतिनिधिसभामा राष्टिय स्वतन्त्र पार्टी सरकार चलाउँदै छ । कांग्रेस प्रमुख प्रतिपक्षी दल हुने भएकाले पनि कांग्रेसमा दल नेता बन्न नेताहरुको रस्साकस्सी चल्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस