काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले गरेको कारागार अनुगमनमा देशभरका अधिकांश कारागारको अवस्था नाजुक रहेको पाइएको छ । बाँके, बर्दिया, नवलपरासी, चितवन, कञ्चनपुर, प्यूठान र रूपन्देहीलगायतका जिल्लाका कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको पाइएको छ ।
नवलपरासी–बर्दघाट सुस्ता पूर्वमा कारागार कार्यालय नभएको र सर्लाहीमा कारागार बन्दै गरेकाले कैदीबन्दीलाई सप्तरी र झुम्का कारागारमा पठाउने गरेको पाइएको महान्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता तथा प्रवक्ता सञ्जीवकुमार रेग्मीले जानकारी दिए ।
विगतको अनुगमन जस्तै यसपटक पनि कैदी तथा थुनुवाबन्दीले आफूले पाउने दैनिक ७ सय ग्राम चामल र ६० रुपैयाँ ज्यादै कम भएको तथा जरिमानाबापत कट्टा हुने रकमसमेत कम भएकाले यसमा पुनर्विचार गर्न कैदीहरूले माग गरेका छन् । हालको बजार भाउ र महँगीका कारण सो रकम पर्याप्त नभएको र दैनिकी धान्न गाह्रो भएको कैदीबन्दीले गुनासो गरेका छन् ।
सो विषयलाई सम्बोधन गर्न महान्यायाधिवक्ता कार्यालयले सरकारलाई सुझाव दिएको छ । हिमाल, पहाड र तराईको बजार मूल्यलाई आधार मानेर फरक–फरक ठाउँमा छुट्टाछुट्टै सिधा खर्च उपलब्ध गराउन महान्यायाधिवक्ता कार्यालयले सुझाव दिएको छ ।
महान्यायाधिवक्ता कार्यालयको रिपोर्टअनुसार अदालत रहेको स्थानभन्दा टाढा थुनुवा तथा कैदी राख्दा सुनुवाइको समयमा अदालत वा मुद्दा हेर्ने निकाय वा अधिकारीसमक्ष उपस्थित गराउन र आफन्त तथा कानुन व्यवसायीसँग भेटघाट गर्न कठिन भएको पाइएको छ । महान्यायाधिवक्ता कार्यालयले हिरासततर्फ ३७ जिल्लाको ५२ प्रहरी कार्यालय र चितवन राष्ट्रिय निकुञ्ज कसराको हिरासत अनुगमन गरेको थियो । थुनुवाको आश्रित नाबालकको संख्या मात्रै २२ जना हिरासतमा रहेको पाइएको छ ।
धेरैजसो हिरासतमा चर्पी र नुहाउने कक्ष अपर्याप्त देखिन्छन् । अधिकांश हिरासतको सरसफाइको अवस्था सामान्य रहेको तथा सबै हिरासतमा सुरक्षा व्यवस्था सामान्य रहेको रिपोर्टमा उल्लेख छ । कतिपय कारागारमा स्वास्थ्यकर्मीको पद रिक्त रहेको तथा औषधिको उपलब्धता पर्याप्त नभएको पाइन्छ । नियमित रूपमा कैदी र थुनुवाको स्वास्थ्य परीक्षण हुने गरेको नदेखिएको महान्यायाधिवक्ता कार्यालयले औंल्याएको छ ।
ज्येष्ठ नागरिक ऐनबमोजिमको कैद छुटबारे पनि स्पष्टता हुन नसक्दा त्यस्ता कैदीको कैद छुटको निर्णय हुन नसकेको र सर्वोच्च अदालतमा रिट पर्ने गरेको पाइएको छ । फरक किसिमका क्षमता भएका, तेस्रो लिंगी र ज्येष्ठ नागरिकका लागि हिरासत र कारागारमा विशेष प्रबन्ध भएको नदेखिएको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।
त्यस्तै, अनुगमन गरिएका धेरैजसो कारागारको अवस्था भौतिक रूपमा जोखिमपूर्ण देखिएको भन्दै सुधार गर्न महान्यायाधिवक्ता कार्यालयले सुझाव दिएको छ । पुराना र जीर्ण कारागार मर्मत सुधारका लागि पर्याप्त बजेटको व्यवस्था गरी सुधार कार्य गर्न भनेको छ । कारागारको क्षमताभन्दा बढी भएका कैदी र थुनुवालाई कम कैदी र थुनुवा भएको कारागारमा तथा निजको पायक पर्ने ठाउँमा स्थानान्तरण गर्न महान्यायाधिवक्ता कार्यालयको सुझाव छ ।
नयाँ मुलकी अपराध संहिताले केही विशेष प्रकारका अपराधमा आजीवन कारावासको व्यवस्था गरेकाले त्यस्ता मुद्दामा आजीवन कैद लागेका र सुरक्षा संवेदनशीलताका आधारमा छुट्टै राख्नुपर्ने प्रकृतिका कैदीहरूलाई राख्न छुट्टै कारागारको निर्माण गर्नुपर्ने र सो नभएमा कारागारभित्र विशेष कक्ष वा स्थानको व्यवस्था हुनु उपयुक्त हुने महान्यायाधिवक्ता कार्यालयको सुझाव छ । महान्यायाधिवक्ता कार्यालयले ३७ जिल्लाको २४ वटा कारागारको भौतिक अवस्थाअन्तर्गत आकार, क्षमता र संख्या साथै सरसफाइ र स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको थियो । आजको राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, २४ कार्तिक २०७६, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
झन्डै पाँच हजार कैदी फर्किए
कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ