फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी

सफल खबर संवाददाता

बुधबार, ०१ असोज २०८२, ०९ : २२
फरार कैदीलाई थप कारबाही गर्ने  रौतहट प्रहरीको चेतावनी

रौतहट । रौतहटको गौरस्थित कारागार कार्यालयबाट जेनजी आन्दोलनको दिन फरार भएका कैदीबन्दीहरुलाई थप कारबाही गर्ने  जिल्ला प्रहरी कार्यालय रौतहटले चेतावनी दिएको छ ।  कार्यालयले एक सूचना जारी गर्दै कैदीबन्दीबारे कुनै जानकारी भएमा प्रहरीलाई सम्पर्क गर्न पनि सर्वसाधारणलाई आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटले मंगलवार एक सूचना जारी गर्दै प्रहरीले फरार कैदीबन्दीहरु सम्पर्कमा आएमा नजिकको प्रहरी कार्यालय वा कारागार कार्यालय गौर, रौतहटमा जानकारी गराउन अनुरोध गरेको हो।

जिल्ला प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्यथा प्रहरी र कारागार कार्यालयसँग सम्पर्क नगराई भागी हिँडेमा कारागार ऐन २०१९ को दफा ४४ को (१) बमोजिम तोकिएको सजायमा थप ५ वर्षसम्म कैद सजाय हुने ब्यहोरा समेत जानकारी गराइन्छ।”

प्रहरीले फरार कैदीबन्दीको खोजी कार्यलाई तीव्र बनाएको र सर्वसाधारणको सहयोग अत्यावश्यक रहेको समेत जनाएको छ। कुल २९१ कैदी रहेको गौर कारागारबाट गत २४ गते राती २७ जना बाहेक सबै फरार भएका थिए। सो मध्ये हालसम्म कारागार गौरमा ११२ जना कैदी रहेको रौतहट प्रहरी प्रमुख एसपी नेत्र मणि गिरीले बताएका छन्।

गत २४ गते राति कारागारमा झैझगडा गरी फरार भएकाहरुमा १७ जनालाई भारतीय सीमा सुरक्षा बल एसएसबीले पक्राउ गरी रौतहट प्रशासन लाई बुझाएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले ६८ जना कैदीलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको थियो भने १७९ जना कैदी हालसम्म फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रतिक्रिया दिनुहोस