शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा चरम ठगी: औषधिजन्य उपकरण ३३ सय गुणा बढी लिएर बिक्री

पत्रपत्रिकाबाट

शुक्रबार, १५ कार्तिक २०७६, ०८ : १७
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा चरम ठगी: औषधिजन्य उपकरण ३३ सय गुणा बढी लिएर बिक्री

काठमाडौं । काठमाडौं बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले औषधि र औषधिजन्य उपकरणमा व्यापक ठगी गरेको पाइएको छ । केन्द्रबाट खरिद भएका औषधिमा खरिद मूल्यभन्दा ३ हजार ३ सय गुणासम्म बढी मूल्य लिएर बिक्री गरेको पाइएको छ ।

केन्द्रको फार्मेसीबाट औषधि र भल्बहरू खरिद मूल्यभन्दा २ हजार ७ सय गुणादेखि ३ हजार ३ सय गुणा बढीसम्ममा बिरामीलाई बिक्री गरी व्यापक ठगी गरेको पाइएको हो । बिरामीलाई सहुलियतमा औषधि उपलब्ध गराउनुपर्ने सरकारी नीतिविपरीत सो केन्द्रले अत्यधिक मूल्य लिएर खुलेआम ठगी गर्दै आएको हो ।

प्रधानमन्त्री मातहत रहेको राष्ट्रिय सर्तकता केन्द्रको छानबिन प्रतिवेदनले नै यस्तो तथ्य औंल्याएको हो ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा २ लाख ९३ हजार रुपैयाँ पर्ने पेरिमाउन्ट एडवार्ड नामक बायोलोजिकल भल्बलाई शिक्षण अस्पतालको मनमोहन कार्डियोलोजीमा सोही कम्पनीको भल्बलाई १ लाख १० हजार रुपैयाँ लिइँदै आइएको छ । यसरी हेर्दा भल्ब किन्नका लागि केन्द्रले एक लाख ८३ हजार रुपैयाँ बढी लिएको देखिएको छ ।

सप्लायर्स तथा फार्मेसीहरूको आपसी मिलोमतोमा मनोमानी ढंगले कम गुणस्तरीय उपकरणलाई बढी मूल्य लिई सप्लाई गरेको देखिएको छ । फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ९ मा ‘औषधि र औषधिजन्य पदार्थको बिक्री मूल्य निर्धारण गर्दा यसको खरिद मूल्यमा २० प्रतिशतमा नबढाइ बिक्री मूल्य निर्धारण गरिने’ उल्लेख छ । तर, यसरी बिक्री मूल्य निर्धारण गर्दा अधिकतम खुद्रा मूल्यभन्दा बढी हुनुहुँदैन ।

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा औषधि र भल्बमा खरिद मूल्यभन्दा २ हजार ७ सय गुणा बढीसम्म मनोमानी तरिकाले बिक्री मूल्य तोकी अर्बौं रुपैयाँ भ्रष्टाचार गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको थियो ।

राष्ट्रिय सतर्कता केन्द्रले फार्मेसी सेवा सञ्चालन निर्देशिका, २०७२ को दफा ९ को व्यवस्थाविपरीत भएको भन्दै केन्द्रलाई निर्देशिका संशोधन गरी सेवाग्राहीलाई मर्का नपर्ने गरी औषधिको मूल्य समायोजन गर्न निर्देशन दिएको छ । राजधानी दैनिकमा यो खबर छापिएको छ।

प्रतिक्रिया दिनुहोस