उपेन्द्रको विदेश मोह: फेरि अमेरिका उड्ने तयारी

सरकारमा सहभागी भएको १६ महिनामा झण्डै दुई दर्जन पटक विदेश भ्रमणमा

सफल खबर संवाददाता

मंगलबार, ३१ भदौ २०७६, ०७ : ५८
उपेन्द्रको विदेश मोह:  फेरि अमेरिका उड्ने तयारी

फाईल फोटो

काठमाडौं । डेंगु संक्रमणले देशै प्रभावित बनिरहेका वेला स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई भने विदेश मोहले छोडेको छैन । डेगुका कारण अहिलेसम्म ७ जना मानिसको मृत्यु भईसकेको छ भने सरदर ६५ जिल्लामा डेंगु ले प्रभाव पारिरहेको छ ।

यस्तो वेला सरकारले ढेगुको प्रभाव न्यूनीकरण गर्ने उपायको खोजी गर्नुपर्ने वेला मन्त्री यादव भने यसप्रति गम्भिर देखिदैनन ।

प्रधानमन्त्री ओली स्वदेश फर्केपछि गत आइतबार ढेगुका विषयमा रणनीति वनाउन मन्त्रिपरिषद् वैठक वसेको थियो । उक्त वैठकमा पनि मन्त्री यादवको सहभागिता रहेन । उनी त्यसबेला पनि जिल्ला तिर थिए ।

पछिल्लो समय मन्त्री यादवको ध्यान भने विदेश मोह तिर नै देखिन थालेको छ । मन्त्री बनेयता मात्रै उनले झण्डै दुई दर्जन पटक विदेश भ्रमण गरिसकेको उनकै नीजि सचिवालयले पुष्टि गरेको छ ।

भोलि मात्रै (असोज १ ) पनि यादव दुई साताका लागि अमेरिका उड्ने तयारीमा छन् । ३ असोजमा हुने संविधान दिवसका कार्यक्रम छल्नका लागि र संविधान दिवसको विवादवाट पन्छिनका लागि उनले यो रणनीति अवलम्वन गरेको उनी निकट नेताहरुको भनाई छ ।

यादवको पार्टी संघीय समाजवादीले संविधानप्रति पूर्ण सन्तुष्टी जनाउन सकिरहेको छैन । सरकारमा सहभागी हुने वेलामै उसले संविधान संसोधनको प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डसँग २ वुदे सहमति गरेर सरकारमा सहभागी भएका थिए ।

गत वर्ष वैशाखमा सरकारमा सहभागी भएको करिब दुई महिनामा पहिलो पटक साउन ९ गते थाइल्याण्डको महिडोल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन विदेश भ्रमणमा निस्केयता उनको विदेश भ्रमण रोकिएको छैन । उनी एक पछि अर्काे विदेश भ्रमणको कार्यक्रम वनाई विदेश घुम्नमै रमाउन थालेका छन् ।

उनले मन्त्रालयको कामको जिम्मा पनि धेरैजसो स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवलाई जिम्मा दिन थालेका छन् । आफ्ना विश्वासप्राप्त यादवलाई राज्यमन्त्रीमा ल्याएपछि उनको ध्यान विदेश मोहमा पर्न थालेको हो ।

सरकारमा सहभागी हुने वेलामै खासगरी परराष्ट मन्त्रीको जिम्मेवारी खोजेका यादव अझै पनि मन्त्रालय हेरफेरमा प्रदीप ज्ञवालीलाई परराष्टवाट हटाएर आफु उक्त मन्त्रालयको जिम्मेवारीमा जान चाहन्छन् । त्यसका लागि सरकारमाथी दवाव बढाउने उनको राणनीति त छदैछ । स्वास्थ्यमै रहेर पनि उनको विदेश भ्रमणको मोहका कारण भने उनी अहिले आलोचित हुन थालेका छन् ।

भाद्र ११ र १२ गते भियतनामको हनोई सहरमा भएको कार्यक्रममा गएका उनी त्यसलगत्तै भाद्र १८ फेरि भारतमा एक हप्ते भ्रमणमा निस्क्ेका थिए ।

यत्तिमा मात्र उनको विदेश मोह रोकिएन ।  त्यसपछि उनको भ्रमण संयुक्त राष्ट्र संघको महासभाको कार्यक्रम अमेरिकाको लागि थियो । तर भिसा नपाएपछि सहभागी हुन सकेनन् । अहिले भने उनको भ्रमणमा परिवार सहितकै भिसा मिलेको स्रोत बताउँछ ।

अमेरिकामा भएको क्षयरोग सम्बन्धी उक्त कार्यक्रममा आफ्ना छोरालाई समेत लिएर जान खोज्दा दुवैको भिसा नलागेपछि कार्यक्रममा जान बाट त्यसबेला मन्त्री यादव रोकिएका थिए ।

  मन्त्री भएको करिब चार महिनाको अवधिभित्रको कार्यक्रममध्ये अमेरिकको भ्रमण रद्द भए पनि असोज अन्तिम सातादेखि मंसीरसम्म ५ वटा विदेश भ्रमणको कार्यक्रम यादवले पूरा गरिसकेका थिए ।

गत असोज २३, र २४ (अक्टोबर  ८ र १० ) मा लण्डन, असोज ३१ गतेदेखि कार्तिक २ गते ( १७ अक्टोबर देखि १९ अक्टोबर ) सम्म टर्कीको आनटल्या, कार्तिक ८ र ९ ( अक्टोबर २५ देखि २६ ) मा काजकास्तानको अस्तानामा, कार्तिक १३ देखि १५ (अक्टोबर ३० देखि सेप्टेम्बर १) मा जेनेभा, मंसीर २६ र २७ ( डिसेम्बर १२ र १३)  मा भारतमा उनको भ्रम्ण भएको थियो ।

विदेश भम्रणमा राखेजस्तो दिलचस्पी मन्त्रालयका काममा नदिदाँ काम प्रभावित हुदैँ गएको स्वास्थ्यका कर्मचारीले बताएका छन् ।  मन्त्रालयका एक कर्मचारीले भने, ‘मन्त्रीज्यू जाने सबै भ्रमण मन्त्रीस्तरीय कार्यक्रमका नै हुन्, उहाँलाई निम्तो आएका हुन् तर एकै महिनामा २÷३ पटकसम्म वैदेशिक यात्रामा जाँदा मन्त्रालयका सबै काम प्रभावित भइरहेका छन् । यो समयमा फाजिल कर्मचारीको व्यवस्थापन गर्नुपर्ने, अर्गानोग्राम फाइनल गर्नुपर्ने, डेगु नियन्त्रणका लागि सरकारी रणनीति बनाउनु पर्नेमा मन्त्रीको दिलचस्पी भने विदेश मोहमा देखिन थालेको छ ।’

प्रतिक्रिया दिनुहोस