शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला

सफल खबर संवाददाता

मंगलबार, १५ बैशाख २०८३, १४ : ३३
शेखर कोइरालाले बोलाए बागमती प्रदेशस्तरीय छुट्टै भेला

काठमाडौँ । नेपाली काँग्रेसभित्रको आन्तरिक समीकरण र पछिल्ला राजनीतिक विकासबीच नेता डा. शेखर कोइरालाले आफूनिकट नेताहरूको छुट्टै भेला आयोजना गर्ने भएका छन् ।

कोइरालाले वैशाख १७ गते बागमती प्रदेश स्तरका नेताहरूलाई लक्षित गर्दै छलफल कार्यक्रम तय गरेका हुन् । पार्टीभित्र पछिल्लो समय औपचारिक भेटघाट कम भएको भन्दै समसामयिक विषयमा विचार आदान–प्रदान गर्ने उद्देश्यले भेला राखिएको जनाइएको छ ।

नेता जीवन परियारका अनुसार लामो समयदेखि साथीहरूसँग नियमित छलफल नभएकाले समसामयिक राजनीतिक विषयमा सामान्य परामर्श गर्न भेला आयोजना गरिएको हो ।

उक्त छलफलमा बागमती प्रदेशका केन्द्रीय सदस्य, जिल्ला सभापति, संघीय सांसद तथा प्रदेश कार्यसमितिका पदाधिकारीहरूको सहभागिता रहने बताइएको छ ।

सर्वोच्च अदालतले पार्टीको आधिकारिक नेतृत्व सम्बन्धी विवादमा गगन थापाको पक्षमा निर्णय गरेपछि उत्पन्न राजनीतिक अवस्थालाई समेत ध्यानमा राख्दै कोइरालाले आफूनिकट नेताहरूसँग रणनीतिक छलफल अघि बढाउन लागेको बुझिएको छ ।

यसैबीच पूर्णबहादुर खड्का समूहले आयोजना गरेको आजको भेलामा शेखर कोइराला पक्ष भने सहभागी नभएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस