‘मोष्ट वान्टेड’ पक्राउमा सत्तारुढ नेकपाकै आपत्ति

एक बालक, तत्कालिन माओवादीका नेताहरु सहित ८ जनाको जघन्य हत्याका आरोपी हुन्, नासिम खाँ

सफल खबर संवाददाता

मंगलबार, २४ असार २०७६, ०८ : १६
‘मोष्ट वान्टेड’ पक्राउमा सत्तारुढ नेकपाकै आपत्ति

काठमाडौं । प्रहरीको रेकर्डमा मोष्ट वान्टेड सूचीमा रहेका नसिम अहमद खाँलाई प्रहरीले पक्राउ गरेपछि सत्तारुढ नेकपाले नै आपत्ति जनाएको छ । नेकपा जिल्ला कमिटि कपिलवस्तुले सोमबार विज्ञप्ती नै जारी गरी खाँको पक्राउप्रति आपत्ति जनाएको हो ।

नेकपा कपिलवस्तु जिल्ला अध्यक्ष झविलाल पोखरेल र सचिव रामचन्द्र शाहले संयुक्त विज्ञप्ती जारी गरी खाँ पार्टी सदस्य भएको भन्दै उनलाई रिहा गर्न सरकारसँग माग गरेका छन् । मायादेवी गाउपालिका–४ पिपराको पार्टी संगठित सदस्य रहेको विज्ञप्तीमा उल्लेख छ ।

खाँलाई एक बालक सहित ८ जनाको जघन्य हत्या गरेर फरार रहेको भन्दै प्रहरीले मोष्ट वान्टेड सूचीमा राखेको थियो । २०७४ फागुन ३ मा मोहम्मद आयमान मुसलमानको अपहरणपछि हत्या गरी फरार रहेका खाँलाई कपिलबस्तु प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत शुक्रबार राति काठमाडौंबाट पक्राउ गरेको थियो ।

पक्राउपछि खाँलाई प्रहरीले आइतबार तौलिहवामा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो । नसिमविरूद्व २०६३ यता सात वटा अन्य हत्याका मुद्दा पनि प्रहरीमा दर्ता छ । तत्कालीन माओवादीका जिल्लास्तरीय नेताहरु राजेन्द्र तिवारी, प्रेम परियार, अकाली धोबी, ज्ञानबहादुर सुनार, शिवपूजन कुर्मीलगायतको हत्यामा समेत उनी जोडिदै आएका थिए ।

नसिम कपिलवस्तुका मोस्ट वान्टेड हुन् । उनीविरूद्व जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा हत्या, अपहरण र डकैतीका एक दर्जन मुद्दा दर्ता छन् । उनी पैसा र पावरका आडमा अर्धभूमिगत बस्दै आएका थिए ।

माओवादी नेता कार्यकर्ताको हत्यामा समेत संग्लन्न रहेका उनी संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा कौटिल्य समुहमा आवद्ध थिए । पछि संविधान स्वीकार गदै उनको समुहले सरकारसँग हतियार बुझाएर सरकारसँग सम्झौता गरेका थिए । त्यसपछि उनी तत्कालिन एमालेमा प्रवेश गरेका थिए ।

अहिले उनलाई तत्कालिन एमाले धारका जिल्ला नेताहरुको दबाबमा छोड्न माग गर्ने गरी जिल्ला अध्यक्ष र सचिवले बक्तब्य दिनुपरेको नेकपा स्रोतले बताएको छ । उनीहरुको विज्ञप्तीमा भनिएको छ,– ‘सरकारद्दारा गठित आयोग र समिति समक्ष शान्तिपूर्ण जीवनयापन गर्ने धारणा राख्दै आएका बेला प्रहरीले पूराना राजनीतिक मुद्दा फिर्ता लिएर खाँ लाई रिहा गर्न सरकारसँग माग गर्दछौं ।’

तर कपिलवस्तुका एसपी दीपशम्सेर जबराले पार्टी कार्यकर्ता बचाउने नीति अनुसार वक्तब्य नेकपाले दिएपनि उनी विरुद्ध प्रहरीमा धेरै मुद्दा रहेकोले कानुनी दायरमा ल्याईएको बताएका छन् । ‘पार्टीको कार्यकर्ता वचाउने नीति हुन्छ,’ कपिलवस्तुका एसपी जवराले भने, –‘त्यसैको कडीस्वरुप विज्ञप्ती आएको होला । प्रहरी रेकर्डमा उनीविरुद्ध धेरै मुद्दा छ । अदालतबाट वारेन्ट जारी गरिएकोले पक्राउ गरी कानुनी दायरामा ल्याईएको हो । ’
 

प्रतिक्रिया दिनुहोस