किन बोले प्रचण्ड, अब के होला ?

पत्रपत्रिकाबाट

सोमबार, २० जेठ २०७६, ०८ : ३१
किन बोले प्रचण्ड, अब के होला ?

काठमाडौँ । ‘यतिबेला किन बोले दाहाल ? ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे । यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए । भारी मन र खिन्न अनुहार बनाएर ओली भारततर्फ प्रस्थान गर्दै गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ५ बुँदे सहमति छ्याप्छ्याप्ती भइसकेको थियो । ओलीका लागि यो घटना निकै असह्य थियो ।

कम्युनिस्ट स्थापना दिवसका दिन आयोजित कार्यक्रममा सार्वजनिक पुस्तकमा पनि ५ बुँदे सहमतिपत्र छापिएको थियो । त्यतिबेला कुनै नेता–कार्यकर्ताले त्यसलाई गम्भीर रूपमा लिएनन् । ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तै बन्यो, ५ बुँदेको खुलासा । हो, पार्टी एकतादेखि ५ बुँदे सहमतिको पत्र सार्वजनिक हुँदाको अवस्थामा यस्तै अन्योलमा थिए, नेकपाका कार्यकर्ता । पार्टी एकता गर्दाताका के सहमति भएको थियो ? एकताको मोडेल के थियो ? पदको बाँडफाँट के कसरी हुन्छ भनी सोध्दा, नेकपाका जिम्मेवार नेताबाट जवाफ आउँथ्यो, ‘था छैन ।’ यस्तै था छैनको अन्योलबीच एक वर्ष गुजारे उनीहरूले ।

अब पोलिटब्युरो गठन, नेताको कार्यविभाजन के–कसरी हुन्छ भनेर सोध्यो भने अहिले पनि नेकपाका नेता ‘था’ छैन भन्ने जवाफ दिन्छन् । तर, कार्यकर्ताले था’ छैन भन्दाभन्दै जिल्ला तहसम्म पुगिसकेको छ, एकता । यस्तै अन्योलबीच पार्टी अध्यक्ष दाहालले सत्ताको नेतृत्व बराबरी गर्ने सहमति भएको खुलासा गरेपछि नेकपाभित्र हलचल पैदा भयो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा तरङ मात्र सिर्जना गरेको छैन, राजनीतिक ज्योतिषका अनेक भविष्यवाणी सार्वजनिक हुन थालेका छन् ।

अब के होला ?
दाहालले ५ बुँदे सहमतिको खुलासा गरेर प्रस्टता खोजे पनि त्यति सजिलै ५ बुँदे सहमति कार्यान्वयन हुने अवस्था देखिँदैन । सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ । सहमतिमा समान अवधिको कुरा गरिए पनि ‘आवश्यकता’ भन्ने शब्दमाथि नेताहरू खेल्ने ठाउँ छ । तर, सोही सहमतिको तेस्रो बुँदामा एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णय विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात् निर्णयको आधिकारिकता मानिने उल्लेख छ । यसले सहमति कार्यान्वयनका लागि दुवै अध्यक्षको सहमति अनिवार्यजस्तै छ । अर्को कुरा, एकतापछि पार्टीका निर्णयगत तहमा कुनै पनि पक्षको स्पष्ट बहुमत छैन ।

मुख्य गरी अध्यक्ष ओली र दाहाल तथा वरिष्ठ नेता माधव नेपालका ‘गुट’ छन् । केन्द्रीय कमिटीदेखि स्थायी समितिसम्मको अवस्था हेर्दा तीन मुख्य नेतामध्ये दुई नेता जतातिर मिल्छन्, त्यतै बहुमत पुग्ने स्थिति छ । दुई पार्टी एकता गर्दाताका पालैपालो सरकारको नेतृत्वको सहमति भए पनि तीन जना नेताको व्यवस्थापनले मात्र यसको सहज कार्यान्वयन हुने नेकपाका नेताको भनाइ छ । यो समाचार आजको अन्नपुर्ण पोष्ट दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस