गृहमन्त्री अर्यालको व्यवहार एमालेजस्तो भएको सुदन गुरुङको आरोप

सफल खबर संवाददाता

विहीबार, २७ कार्तिक २०८२, १२ : ०७
गृहमन्त्री अर्यालको व्यवहार एमालेजस्तो भएको सुदन गुरुङको आरोप

काठमाडौँ । जेन जेड आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालमाथि आक्रोश व्यक्त गरेका छन् ।

नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीले गरेको कारबाहीका क्रममा देखिएका गुरुङले गृहमन्त्री अर्यालको व्यवहार एमालेजस्तै भएको टिप्पणी गरे ।

उनका अनुसार, जंगी अड्डादेखि शीतल निवाससम्म आफूहरूसँग संविधानविद्‌का रूपमा उपस्थित भएका अर्याल अहिले आएर चुनाव मात्र मुख्य मुद्दा बनाएको आरोप लगाए ।

गुरुङले बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, “गृहमन्त्रीज्यूको एजेन्डा चुनाव मात्र रहेछ, तर हाम्रो एजेन्डा देशमा न्याय र व्यवस्था परिवर्तन हो । हामी देशमा न्याय नआइकन र हामीलाई न्याय नपाइकन चुनाव हुन दिनेछैनौँ । उहाँले अहिले जेन जेड आन्दोलनलाई मात्रै नियन्त्रणमा लिन खोज्नुभएको छ, कहिलेकाहीँ त उहाँ एमालेकै हो कि भन्ने लाग्छ ।”

उनले देशभरका जेन जेड समर्थकहरूलाई संगठित गर्न दुई महिनादेखि काम गर्दै आएको बताउँदै वडा तहसम्म समितिहरू गठन भइसकेको दाबी गरे ।