बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ दोब्बर, खसीको मासुमा २०० बढ्यो

पत्रपत्रिकाबाट

आइतबार, ०५ जेठ २०७६, ०६ : २९
बजेटअघि नै मूल्यवृद्धि : गोलभेडाको भाउ  दोब्बर, खसीको  मासुमा २०० बढ्यो

फाईल फोटो

काठमाडाैं । यस वर्ष महँगीले नयाँ रेकर्ड कायम गर्ने संकेत देखिएको छ । सामान्यतया बजेट भाषणपछि महँगी बढ्ने गर्थ्यो । तर, यसपटक बजेटअघि नै बजार भाउ अकासिन थालेको छ । आगामी आर्थिक वर्ष ०७६/७७ बाट कर्मचारीको तलब र वृद्धभत्ता बढ्ने घोषणा सरकारले गरिसकेको छ । यसकारण बजेटपछि मूल्यवृद्धि हुने निश्चित छ । तर, त्यसअघि नै महँगी बढ्दा उपभोक्ता आक्रान्त बनेका छन् ।

महँगीको सबैभन्दा धेरै असर हरियो तरकारीमा परेको छ । तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार यस वर्ष निरन्तर पानी परेका कारण तरकारी उब्जनी घटेका छ । ‘यसपटक असिना पानी परिरहँदा किसानले बर्से तरकारी राम्ररी लाउन पाएनन् । त्यसकारण अहिले उपत्यकामा आपूर्ति घटेको छ,’ उनले भने, ‘भारतबाट आयात हुने तरकारी पनि मूल्य बढेर आएको छ ।’

खसीको मासुमा किलोकै २०० वृद्धि
खसीको मासुको भाउ प्रतिकिलो दुई सय रुपैयाँ बढेको छ । चौपाया खरिद बिक्री सेवा संघका अध्यक्ष गोविन्द पाठकले भारतबाट नियमित खसी ल्याउन नपाउँदा उपत्यकामा मागअनुसार आपूर्ति गर्न नसकिएको बताए । ‘भन्सार नाकाबाट भारतीय खसी ल्याउन सकिएको छैन । उपत्यकाको मागलाई धान्न व्यवसायीहरू गाउँगाउँ गएर खसी ल्याउँदैछन् । त्यसैले केही लागत बढ्न गएको देखिन्छ,’ उनले भने । जिउँदो खसीको भाउ प्रतिकिलो छ सयबाट बढेर छ सय ५० रुपैयाँसम्म पुगेको उनले बताए । तर, एक महिनाअघि एक हजार ५० रुपैयाँ प्रतिकिलोसम्म रहेको खसीको मासुको भाउ अहिले एक हजार दुई सय ५० पुगिसकेको छ ।

तेल–दाल प्रतिकिलो १०, चामल ५० रुपैयाँ वृद्धि
चामल, दाल, तेललगायत खाद्यपदार्थको मूल्य पनि बढेको छ । थोक व्यवसायी देभेन्द्रभक्त प्रधानका अनुसार भारतबाटै चामलको भाउ बढेर आएको छ । ‘अहिले २५ किलो चामलको भाउ ५० रुपैयाँले बढेको छ,’ उनले भने । दाल प्रतिकिलो १० रुपैयाँसम्म वृद्धि भएको छ ।  दाल आयात हुने प्रमुख देश बर्माबाटै मूल्य बढेर आएको उनको दाबी छ । खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो समय किराना पसलबाट बढी बिक्री हुने चामल, दाल, चिनी, तेललगायतको मूल्य आकासिन थालेको छ ।  उनका अनुसार ९० रुपैयाँ प्रतिकिलो रहेको मुसुरो दाल एक सय पुगेको छ । मासको दाल एक सय १० बाट एक सय २० र ठूलो खालको मासको दाल र रहर दाल एक सय ३० बाट १४० रुपैयाँ प्रतिकिलो पुगेको छ । 
आइतबारबाट मूल्यवृद्धिको अनुमगन गर्छौँ : योगेन्द्र गौचन, महानिर्देशक, 
आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग

ताजा तरकारीको भाउ अकासिएको विषयमा विभागले अनुगमन प्रक्रिया अघि बढाइसकेको छ । आइतबार दिउँसो कालिमाटी बजारका थोक व्यवसायीलाई किन भाउ बढेको हो भन्ने विषयमा जानकारी लिन बोलाएका छौँ । बिचौलियाका कारण भाउ बढेको हो वा कुनै मनासिब कारण छ भन्ने विषयमा हामी निक्र्र्योलमा चाँडै पुग्छौँ । किसान र संकलन केन्द्रको भाउ कस्तो छ भनेर अनुगमन गर्ने तालिका बनाइसकेका छौँ । खाद्यान्नको भाउ बढेकोमा पनि सोधपुछ गरिसकेका छौँ । हाम्रो सबै संयन्त्र प्रयोग गरेर मूल्यवृद्धि नियन्त्रणको प्रयास सुरु गरेका छौँ । 

मूल्यबृद्धि हुनुका मुख्य तीन कारण

असिनापानी र हावाहुरीले उत्पादन कम, मूल्य बढी

वर्षे तरकारी लगाउने समयमा निरन्तर असिनापानी र भारी वर्षात हुँदा किसानले तरकारी लगाउन पाएनन् । अहिले तरकारीको मागभन्दा आपूर्ति करिब ३०% कम छ । आपूर्ति कम भएकाले मूल्य बढेको छ ।

आपूर्ति घट्यो, आएकोमा पनि मूल्यवृद्धि
भारतबाट आयात भइरहेको तरकारी पनि महँगिएको छ । व्यवसायीका अनुसार भारतमा चुनावका कारण मूल्य बढेको छ । चुनावकै कारण केही दिनअघि एक सातासम्म भारतबाट तरकारी नै आउनेक्रम न्यून थियो ।

भारतबाट खसी आयातमा कडाइ, मागको ५०% मात्र उपलब्ध
खसीको मासुमा मुलुक ७५% भारतमा निर्भर छ । तर, नेपालले खसीको स्वास्थ्यको प्रमाणपत्र माग्न थालेकाले भारतबाट आयात रोकिएको छ । जसकारण उपत्यकामा मागको तुलनामा खसीको मासुको आपूर्ति करिब ५०% कम छ । यही वेलामा बर्डफ्लुको संक्रमण फैलिएकाले कुखुराको मासुको माग घटेको छ । त्यसैले पनि खसीको मासुको मूल्य बढेको छ । याे समाचार अजित अधिकारीले नयाँ पत्रिकामा लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस