किन बिग्रिरहन्छ महिलाको मुड ?

शुक्रबार, ०८ चैत्र २०७५, २० : ०३
किन बिग्रिरहन्छ महिलाको मुड ?

तपाईंकी श्रीमती तपाईं अफिसबाट ढिलो आउँदा, तपाईंले ल्याइदिन्छु भनेका सामान घरमा ल्याउन बिर्संदा झोक्किने गर्नुहुन्छ ? श्रीमतीको जन्मदिन वा तपाईंहरूको विवाह भएको दिन बिर्संदा कत्तिको रिसाउने गर्नुहुन्छ ? 

श्रीमान्–श्रीमतीका बीचमा यस्ता विषयलाई लिएर हुने खटपट अधिकांश समय परालको आगोकै रूपमा सकिन्छ। ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’ भन्ने नेपाली उखानै छ। तर, सबैको घरमा श्रीमान्–श्रीमतीको झगडा परालको आगोका रूपमा मात्रै सकिँदैन। श्रीमतीले व्यक्त गर्ने असन्तोष र उनको मुड श्रीमान्ले ख्याल गर्न नसक्दा धेरैको घरझगडा भुसको आगोमा परिणत भइरहेको हुन्छ। 

श्रीमान्का गतिविधिलाई लिएर चियोचर्चो गर्ने, अलिकता ढिलो अफिसबाट आउँदा पनि शंका गर्ने, गर्छु भनेका सामान्य काम नगर्दा पनि आकाश नै खस्न लागेको जस्तो व्यवहार देखाउने महिला थुप्रै हुन्छन्। यस्ता स्वभाव भएका महिलालाई उनीहरूले खोजेजस्तै गरिदिने, ‘अर्को पटकदेखि मबाट यस्तो गल्ती हुँदैन’ भनेर ललाइफकाई गरेर सामसुम पार्न पटक–पटक प्रयत्न गर्दा पनि केही सीप नलागेपछि मनोपरामर्शका लागि आउनेहरू दिन प्रतिदिन बढ्दै गएका छन्। 

बाहिरबाट हेर्दा सामान्य लाग्ने गतिविधि ‘व्यक्तित्व गडबडी’ भएपछि हुन्छ भन्ने तथ्य पत्ता लगाउन विशेषज्ञता हासिल गरेका मनोचिकित्सकलाई पनि केही समय लाग्न सक्छ। पूरा गर्न सकिने ‘डिमान्ड’ राखुञ्जेल कसैले पनि श्रीमतीले घरमा यी–यी शर्त राखिन् भनेर अस्पताल लिएर आउँदैनन्। जब श्रीमतीका माग अस्वाभाविक र छिटोछिटो फेरिन थाल्छन्, त्यसपछि केही समस्या भयो कि भनेर अस्पताल आइपुग्नेहरू हुन्छन्।

व्यक्तित्वको ‘प्याटर्न’ मै गडबडी भएर हुर्किएका महिलामा मात्र हुने ‘बोर्डरलाइन पसर्नालिटी डिसअर्डर’ का बारेमा जानकारी नहुने र यो समस्या पहिचान गर्न नसक्नेले महिलाले राख्ने डिमान्ड पूरा गरेरै, उनीहरूलाई बढी ‘केयर’ गरेर वा माया दर्शाएर ठीक पार्न कोसिस गरिरहेका हुन्छन्। तर, यस्तो समस्या भएका महिलाहरूको माग पूरा गरिदिएर वा उनीहरूलाई माया गरेर मात्र उनीहरूको स्वभाव परिवर्तन गर्न वा मुड अर्डरमा ल्याउन सकिँदैन। यो समस्या भएकाहरूको मुड अस्थिर हुने हुन्छ। उनीहरू बढी नै ‘इमोसनल’ हुन्छन्। छिनछिनमा मुड परिवर्तन भइरहने समस्या हुन्छ।

उपचारक्रममा भेटिएका प्रतिनिधि केस 
काठमाडौँकी स्थायी बासिन्दा हुन्, रेबिका शर्मा (नाम परिवर्तन)। आर्थिक रूपमा सम्पन्न परिवारमा हुर्किएकी उनले उच्च शिक्षा हासिल गरेकी छिन्। उनको विवाह पनि सम्पन्न परिवारमै भएको थियो। उनका श्रीमान् प्राइभेट कम्पनीमा काम गर्थे। रेबिका स–साना विषयलाई लिएर श्रीमान्सँग दिनहुँ झगडा गरिरहन्थिन्। श्रीमान् अफिसबाट आउन थोरै समय ढिला हुँदा पनि उनी नानाथरी शंका गर्थिन्।

श्रीमान् अफिसमा भएका बेलामा अफिसमा फोन गरेर चियोचर्चो गर्ने र थोरै ढिला गरेर घर पुग्दा अरू केटीलाई भेट्न गएको र आफूलाई छोड्न लागेको भन्दै झगडा गर्थिन्। सामान्यतया मानिसमा शंका गर्ने बानी हुन्छ। श्रीमान्ले श्रीमतीलाई अनि श्रीमतीले श्रीमानलाई तथा प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमीलाई केही न केही शंका गरेकै हुन्छन्।  

श्रीमान् अरू केटीसँग लागेको शंका गरिरहने उनमा भने अनौठो खालको समस्या थियो। आफूलाई श्रीमान्ले छोड्न लागेको भनेर शंका गरिरहने उनी भने कोही सुन्दर पुरुष देख्यो भने त्योसँग सम्बन्ध बढाउन मरिहत्ते गर्ने खालकी थिइन्।

उनलाई मन पर्ने नायक तथा गायकहरूसँग भेटघाट गराउनुपर्‍यो भनेर श्रीमान्सँग करकर गर्थिन्। कतिचोटि फ्यानका रूपमा उनले केही नायक तथा गायकसँग भेटघाट पनि गरिन्। यसरी भेटेकाहरूलाई महँगो उपहार पनि दिन्थिन् उनी। उनलाई मन पर्ने नायक वा गायकका फिल्म तथा गीत टेलिभिजनमा प्रसारण हुँदा उनी, ‘ल अब उसलाई भेटिहाल्नुपर्‍यो’ भनेर श्रीमान्सँग किचकिच गर्न थालिहाल्थिन्।

तर, उनले खोजेको र चाहेको बेला सेलिब्रिटी भेट्न सम्भव हुने कुरा पनि भएन। दुईचार पटक केही सेलिब्रिटीसँग भेटघाट गराउन पहल गरेका रेबिकाका श्रीमान्  श्रीमतीको अस्वाभाविक आनीबानी देखेर दिक्क थिए। श्रीमान् अरू केटीसँग लागेको शंका गर्ने रेबिका आफू भने सुन्दर केटाहरू पट्याउन लागिपरेकी हुन्थिन्। सेलिब्रिटीसँगको भेटघाटलाई स्वाभाविक रूपमा लिएका रेबिकाका श्रीमान्ले अन्य परपुरुषसँग पनि श्रीमतीले हिमचिम बढाउन थालेपछि डिभोर्स गरे। 

के हो व्यक्तित्व गडबडी ? 
व्यक्तित्व गडबडीसम्बन्धी मानसिक समस्या बोर्डरलाइन पर्सनालिटी डिसअर्डर महिलामा हुने गम्भीर मानसिक समस्या हो। माथि उल्लेख गरिएका भिन्न–भिन्न केसहरू उपचारका क्रममा भेटेका केही नमुना हुन्। महिलामा मात्र हुने यस्तो समस्यालाई घरपरिवारका मानिसले बेलैमा पहिचान गर्न सक्दैनन्। मनोचिकित्सकले पनि लामो कुराकानी र ‘बिरामीको डिटेल हिस्ट्री’ लिएपछि मात्र बोर्डरलाइन पर्सनालिटी डिसअर्डर भएको पत्ता लाग्छ।  

शंकालु श्रीमती छिन् भने उनको शंका कसरी मेटाउने भन्नेमा श्रीमान् लागिपरेका हुन्छन्। जिद्दी छोरी भएका आमाबाउ छोरीको सबै माग पूरा गर्न लागिपरेका हुन्छन्। तर, कसैले पनि उनीहरूको हुर्काइको बेला केही खराबी भएको थियो कि भनेर सोचेका हुँदैनन्, जसले गर्दा यो समस्या पहिचान गर्न कठिन हुने गरेको छ। बोर्डरलाइन पर्सनालिटी डिसअर्डर हुने विभिन्न कारणमध्ये सानैमा हुने यौन दुव्र्यवहारलाई मानिएको छ। 

व्यक्तित्व भन्नाले मानिसका ती सबै शारीरिक र मानसिक पक्षहरूका परिवर्तनशील संरचना हुन्, जसले वातावरणमा घुलमिल हुने उसको खास पहिचान परिभाषित गरेका हुन्छन्। कसैको व्यक्तित्व बुझ्नु भनेको कुनै परिवेशमा उसले के–कस्ता प्रतिक्रिया गर्ला भन्ने पूर्वानुमान गर्न सक्नु हो। व्यक्तित्वका थुप्रै पक्ष भए पनि मनोचिकित्सामा सोच, विचार, मिजास, आवेश र अन्तरव्यक्तिगत सम्बन्ध महत्त्वपूर्ण हुन्छन्। 

कसरी चिन्ने ? 
गडबडी तब मात्र भनिन्छ, जब ती बानी–व्यहोरा सबै परिवेशमा उस्तै रहन्छन् र त्यसले व्यक्ति स्वयंलाई वा अरूलाई नोक्सानी पुर्‍याउँछ। त्यस्तै ती बानी व्यहोराहरूको सुरुवात बाल्यकाल वा किशोरावस्थामा नै भएको हुनुपर्छ। लागुपदार्थको असर वा अन्य मानसिक रोग (साइकोसिस, उदासी, चिन्ताको गडबडी आदि) हो, ध्यानपूर्वक छुट्याउनु पनि पर्छ। यी सबै अवस्था साथसाथै पनि हुन सक्छन्, जसले छुट्याउन गाह्रो हुन सक्छ। 

उपचार कसरी गर्ने ? 
व्यक्तित्व गडबडीको परिभाषा नै स्थायित्व हो र उपचार गर्नु भनेको कसैको प्राकृतिक स्वभाव बदल्न खोज्नु हो। जुन पूर्ण रूपमा असम्भव नभए पनि एकदम कठिन अवश्य हुन्छ। औषधि–उपचार समस्याजनक एकाध लक्षण वा अलग थप मानसिक रोगप्रति लक्ष्य गरी सिफारिस गर्न सकिन्छ। अन्य मनोवैज्ञानिक उपचार जस्तो ‘कग्निटिभ एन्ड डायलेक्टिकल बिह्याभिएर थेरापी’ आदिले पनि समस्यामूलक लक्षण कम गर्न कोसिस गरिन्छ। 

पुरुषमा के हुन्छ ? 
बोर्डरलाइन पर्सनालिटी डिसअर्डर पुरुषलाई हुने समस्या होइन। पुरुषहरूमा ‘एन्टी सोसल पर्सनालिटी डिसअर्डर’ हुन्छ। यस्तो समस्या हुनेहरूले अरूको मुड, आवेग, सोचविचार, दुःख आदि केही पनि महसुस नगर्ने हुन्छन्। अरूलाई पीडा दिँदा रमाइलो मान्ने तथा समाजमा स्थापित नियम–कानुन तोड्दा आनन्द मान्ने हुन्छन्। जसले गर्दा यस्तो समस्या भएका पुरुषले हत्या, बलात्कार, बाल यौन दुराचारजस्ता अपराध गर्ने सम्भावना बढी हुन्छ। 

मिजासको गडबडी 
जलवायुमा घाम, पानी, हुरीबतास भनेजस्तै सबै मानिस भित्री वा बाह्य परिस्थितिअनुसार छिनछिनमा खुशी, दुःख, रिस आदि आवेग (इमोसन) महसुस गर्छन्। त्यस्ता दैनिक परिवर्तनहरू भए पनि केही महिनाभर मूल रूपमा रहने एउटा गुणको आधारमा जाडो, गर्मी, वर्षा मौसम भनेजस्तै मानिसका पनि परिवर्तनशील मिजास हुन्छन्। परिवर्तन कति ढिलो, कति चाँडो, कति लामो, कति बेजोड भन्ने कुरा ठाउँ र समयअनुसार मौसम भनेझैँ मानिसपिच्छे मिजास परिवर्तन (मुड डिसअर्डर) को आ–आफ्नै खाका हुन्छन्। 

मानिसको आफ्नो स्वभावभन्दा एकदम भिन्न खालको लामो मिजासमा परिवर्तन (जसले उसलाई वा वरिपरिको वातावरणलाई नोक्सान पुर्‍याउँछ वा पुर्‍याउन सक्छ) वा मिजासको गडबडी एक प्रकारको मानसिक रोग हो। 

लगातार असामान्य दुःखी वा दिक्दार भइरहने अवस्थालाई उदासी भनिन्छ। लगातार असामान्य खुशी भइरहने वा रिसाउने अवस्था उत्तेजना हो। यसरी एकै मानिसको जीवनमा कहिले उत्तेजना र कहिले उदासी भइरहन्छ भने त्यसलाई दुईधु्रवीय मिजास गडबडी अर्थात् ‘बाइपोलार मुड एफेक्टेड डिसअर्डर’ भनिन्छ। कहिल्यै उत्तेजना नभई बारबार उदासीपन मात्र भइरहने रोग पुनरावृत्ति उदासीपन हो। 

कसलाई, कतिलाई ? 
उदासीः मानसिक रोगहरूमध्ये सबैभन्दा बढी हुने उदासी नै हो। कुनै पनि व्यक्तिलाई जीवनभर उदासी हुन सक्ने सम्भावना झन्डै १७ प्रतिशत हुन्छ। महिलालाई पुरुषको तुलनामा दोब्बर हुने गर्छ। प्रायः जसो ४० वर्ष औसत उमेरमा यो रोगको सुरुवात हुने गर्छ। अविवाहित, एक्ला व्यक्तिहरूलाई यो रोगको बढी जोखिम हुन्छ। 

बाइपोलार मुड डिसअर्डरः कुनै पनि जनसमुदायको करिब एक–दुई प्रतिशत मानिस (महिला र पुरुष) दुवैमा बाइपोलार मुड डिसअर्डरका रोगी हुन सक्छन्। प्रायः जसो ३० वर्ष उमेरको हाराहारीमा यो रोगको सुरुवात हुने गर्छ। 

किन, कसरी ? 
हालसम्मको अध्ययन–अनुसन्धानबाट यही कारण भनी यकिन गर्ने अवस्था छैन। तर, थुप्रै जोखिमका कारकहरू भएका प्रमाण छन्। वंशानुगत आधार, मस्तिष्कमा हुने स्नायु रसायन (डोपामिन, सेरोटोनिन), वा ग्रन्थि (थाइराइड) आदिको गडबडी, असह्य मनोसामाजिक तनाव, उदासोन्मुख व्यक्तित्व, क्षति अस्वीकार गर्ने बानी आदिले गर्दा मुड डिसअर्डर हुनसक्छ। 

उपचारका लागि के गर्ने ?
बारम्बार दोहोरिने रोग हुनाले रोगीहरूलाई राम्रोसँग मद्दत गर्न, समाजमा पुनःस्थापना गर्न औषधिका साथै रोगी तथा उनका परिवार, समाज सबैले उचित ज्ञान, सोचविचार र व्यवहार सिक्न र गर्न आवश्यक हुन्छ। यो रोगमा मिजास मात्र गडबड हुने हुँदा स्वस्थ अवस्थामा उसका अन्य क्षमता स्मरण, बुद्धि, विवेक, कार्यक्षमता आदिमा खासै ह्रास आउँदैन। अझ कसैकसैमा त विशेष जोश जाँगर र प्रतिभा प्रस्फुटन हुन सक्छ।

मानव समाजलाई गहकिला योगदान दिने अनगिन्ती विख्यात साहित्यकार, कलाकर्मी, वैज्ञानिक, राजनीतिज्ञ यही रोगबाट पीडित थिए  भन्ने तथ्य बिर्सन सकिँदैन। बिरामीको उपचारको रेखदेख, पूर्वसूचक लक्षणहरूका सतर्कतापूर्वक निगरानी आदि बाहेक बिरामीलाई उचित सहानुभूति प्रदान गर्नुपर्छ। ऊसँग आत्मीय व्यवहार गर्नुपर्छ र उसलाई तनावरहित वातावरण प्रदान गर्नुपर्छ। सम्पूर्णबाट 

प्रतिक्रिया दिनुहोस