आज पहाडी जिल्लामा होली

‘रसायनयुक्त रङले मिर्गौलासम्म हानी गर्छ’

बुधबार, ०६ चैत्र २०७५, १२ : २०
‘रसायनयुक्त रङले मिर्गौलासम्म हानी गर्छ’

चितवन । पहाडी जिल्लामा आज धुमधामले होली पर्व मनाइँदै छ । चितवनलगायत कतिपय जिल्लामा आज र भोलि दुई दिन नै होली पर्व मनाइन्छ । होलीमा लगाइने रंगको विषयमा वातावरण वैज्ञानिक रामचरित्र साह छुट्टै तर्क गर्छन् । जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशकसमेत रहेका साहले वातावरण र स्वास्थ्य क्षेत्रमा लामो अनुभव संगालेका छन् । होली र रंगको विषयमा वातावरण वैज्ञानिक साहको यस्ता भनाइ छ,  उनकै शव्दमा :
होली पर्वमा परिपुरक नै बनिसकेको छ रंगको प्रयोग । तर त्यही प्रयोग हुने रंग अप्राकृतिक हुने तथा त्यसमा विभिन्न किसिमका रसायनहरु मिसिएका हुनाले स्वास्थ्यको हिसाबले अत्यन्त हानिकारक हुन्छ । रंगहरुमा विशेष गरी अम्ल, मिका, सिसाको धुलो तथा अन्य विभिन्न रसायनहरु मिसिएको हुन्छ । जसको सेवन वा शरीरमा प्रवेशले छालाजन्य रोगहरु लाग्ने, दागहरु बस्ने, चिलाउने, आदि रोग लाग्दछन् । 
कालो रंगमा लेड अक्साइड रसायन मिसिएको हुन्छ । जसले श्रवण शक्ति गुम्ने, मिर्गौलामा असर पुग्ने, स्मरण शक्ति कमजोर हुने र रक्तप्रणालीमा समेत असर गर्छ । हरियो रंगमा कप्पर सल्फाइड रसायन हुन्छ । यस रसायनले अन्धोपना हुन सक्ने, आँखाको एलर्जी, पेट दुख्ने तथा स्नायु प्रणालीमा असर पुग्छ । 
पर्पल प्याजी रंगमा क्रोमियम आयोडाइड रसायन हुने र यसले विभिन्न खालका शरीरमा एलर्जीहरु आउँछ । होलीका कतिपय रंगमा एल्मुनियम रसायनहरु हुन्छ, जुन रंगले क्यान्सरजन्य रोगहरु लगाउन सहयोग गर्नेछ । रातो रंगमा मर्करी सल्फाइट रसायन हुने र जसले स्नायु प्रणाली, पाचन प्रणाली, स्वासप्रश्वास प्रणाली, मिर्गौला तथा फोक्सोमा समेत असर गर्छ ।

श्वास फेर्दा वा खानामार्फत रंगमा भएका रसायनहरु मानिसको शरीरमा रगत हुँदै रक्त नलीमा पुग्दछ र हड्डीमा जम्मा भई अरु अङ्गहरुलाई हानी पु¥याउँछ । यदी बालबालिकाहरु रसायनको सम्पर्कमा आएका रक्त कोषिकाको उत्पादनमा कमी गर्ने, हाडलाई कमजोर बनाउनका साथै शारीरिक तथा मानसिक विकासमा अवरोध ल्याउँछ ।
कालो रंगमा प्रयोग हुने रसायन लेड (सिसा) विभिन्न स्रोतहरुबाट श्वासप्रश्वास, खानासेवन तथा छालाको माध्यमद्वारा हाम्रो शरीरमा प्रवेश गरी स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । रक्तनलीमा लेडले रातो रक्त कोषिकाहरुलाई मार्दछ । फलस्वरुप विभिन्न अङ्ग तथा तन्तुमा रगतको कमी भै आवश्यक अक्सिजन पुग्न सक्दैन् । 
लेडले मस्तिष्क र स्नायु प्रणालीको विकासमा अवरोध गर्छ । रक्तअल्पता यसको साधारण लक्षण हो । अरु लक्षणहरु जस्तै ःटाउको दुख्ने, सिक्ने क्षमतामा ह्रास आउने, दिमागी सन्तुलन बिग्रने, शरीर वृद्घिमा कमी आउने, व्यहोरामा परिवर्तन आउने, श्रवण शक्ति गुम्नाका साथै अचेत अवस्थामा पुग्ने पनि देखिन्छ । 
लगातार लामो समयसम्म लिडको सम्पर्कमा आयो भने यसले मृर्गौलाको कार्यमा असर पु¥याउँछ । नपुंसक बनाउन सक्छ । लेड अत्याधिक मात्रामा विषालु हुने भएकोले केवल एक डोज लेडको सेवनले पनि धेरै रोगका आकस्मिक लक्षणहरु देखा पर्न थाल्दछन् । लेडको कारणले हुनसक्ने अन्य रोगहरु जस्तै पाचन प्रणालीमा असर पर्ने, रक्तचाप बढ्ने, स्मरणशक्ति गुम्ने, मृगौलामा खराबी आउने, दिमागमा असर पुग्ने, मांशपेशी तथा जोर्नी दुख्ने नशामा असर पुग्ने तथा मांशपेशीबीच सामन्जस्यता बिग्रने हुन्छ ।
रातो रङ्गमा प्रयोग हुने रसायन मर्करी वातावरणमा विभिन्न जीवाणुहरुसँग मिलेर परिवर्तन हुने सबै भन्दा खतरनाक रसायन हो र यो एकपटक हावा, पानी, तथा माटोमा मिसिएपछि धेरै समयसम्म एक अवस्थाबाट अर्कोमा परिणत भई वातावरणलाई लामो समयसम्म प्रदूषित गरिराख्ने तथा वातावरणमा भएका अन्य जिवजन्तुलाई समेत असर गर्दछ । 
विश्व स्वास्थ्य संगठन अनुसार मर्करीले स्नायू प्रणाली, पाचन प्रणाली, स्वासप्रश्वास प्रणाली लगायत मिर्गाैला तथा फोक्सोमा असर गर्छ । यसले सुन्ने र हेर्ने शक्तिमा ह्रास ल्याउनुको साथै बच्चाहरुको बौद्घिक एवं शारीरिक विकासमा समेत असर गर्दछ ।
सबभन्दा आश्चर्यको कुरा के छ भने मर्करी हाम्रो शरीरको रोगसँग लड्ने क्षमताको सबैखाले प्राकृतिक बाधा जस्तैः गर्भनाल, मष्तिस्क रक्त कोशिका तथा छालालाई पार गरेर हाम्रो शरीरलाई हानी गर्छ । यसका अन्य असरहरुमा रिसाउने, लजाउने, काप्ने, हेर्ने र सुन्ने शक्तिमा नकारात्मक परिवर्तनको साथै स्मरण शक्ति सम्बन्धी समस्या, वाकवाक लाग्ने, रक्तचाप तथा छातिको धडकन बढ्ने, छालामा दाग तथा आँखा पाल्ने जस्ता रोगहरु देखापर्दछ । 
होली पर्वको मौकामा प्रयोग गरिने रङ्गहरुमा स्वास्थ्यको हिसाबले अत्यन्त हानिकारक रसायनहरु मिसिने भएकोले एकपटक सोच्नपर्ने अवस्था आइसकेको छ । रसायनयुक्त रङ्गको सट्टामा वैकल्पिक अवस्थाको पहिचान गर्न अत्यन्त आवश्यक छ र सकेसम्म कम रङ्गको प्रयोग गर्न गराउन हुन पनि सबैमा सन्देश दिन चाहन्छु । 
हाल नेपालीबजारमा पाईने विभिन्न रङ्गहरुमा अत्यधिक मात्रामा लिड (सिसा) पाइने गरेको र होलीका दिनमा बालबालिकाहरुले अनुहारमा लगाउने गरेको सिल्भर तथा गोल्डेन रङ्गहरुमा पनि अत्यधिक लिड (सिसा) पाईएको हुनाले सबै अभिभावकहरुलाई पनि यसको बारेमा आ आफ्नो बालबालिकाहरुलाई यस्ता रङ्गहरु मुखमा लगाउनबाट रोक्नु एकदमै जरुरी रहेको छ । 
यसका साथै हामीले दैनिक जिवनमा घर, भवन, फर्निचर तथा स्कूलआदि रङ्गाउन नेपाली बजारमा पाइने विभिन्न लेड (सिसा) र मर्करी (पारो) नमिसाइएको लोगो राखिएको रङ्गहरुमात्र प्रयोग गरेर आफू र आफ्ना बालबालिकाको स्वास्थ्य बचाउनुहुन सबैमा अनुरोध पनि गर्दछु ।  

प्रतिक्रिया दिनुहोस