पुरुष प्रजनन क्षमता ह्रास हुनुका कारण

शुक्रबार, २४ फागुन २०७५, १८ : १६
पुरुष प्रजनन क्षमता ह्रास हुनुका कारण

- डा. दीपमाला कार्की स्त्री तथा निःसन्तान रोग विशेषज्ञ वेलकेयर हस्पिटल एन्ड रिसर्च सेन्टर
काठमाडौं । विगत केही वर्षयता भएका विभिन्न अध्ययनअनुसार पुरुषमा शुक्रकीटको संख्या घट्दो छ र त्यसको गुणस्तरमा पनि ह्रास आइरहेको पाइन्छ । विशेषगरी, अव्यावहारिक र अस्वस्थ जीवनशैलीका कारण प्रजनन क्षमतामा कमी आइरहेको हो । युरोपका विभिन्न देश तथा अमेरिकामा भएका अध्ययनअनुसार विश्वमा प्रत्येक वर्ष २ प्रतिशत पुरुषमा प्रजनन क्षमतामा ह्रास आइरहेको पाइएको छ ।

यसरी पुरुषमा प्रजनन क्षमता घट्दै जानुमा विभिन्न तनाव, रेडिएसनको प्रभाव, धूम्रपान–मद्यपान, अनिद्रा, अस्वस्थ खानपान, अप्रत्यक्ष रूपमा रासायनिक पदार्थको सेवन, मोबाइल तथा कम्प्युटरको अत्यधिक प्रयोग आदिलाई प्रमुख कारण मानिन्छ । सामान्यतया प्रजनन क्षमतामा कमी आउने क्रमका दुई चरण हुन्छन्, ओलिगोस्पर्मिया र एजोस्पर्मिया । ओलिगोस्पर्मिया शुक्रकीट उत्पादनमा कमी हुनु हो भने एजोस्पर्मिया शुक्रकीट नै उत्पादन नहुनु हो ।

शुक्रकीट उत्पादनमा कमी हुनुका कारण  

अस्वस्थ खानपान
बदलिँदो जीवनशैलीले हाम्रो खानपानमा परिवर्तन आएको छ । बाहिरको खाना बढी खानुपर्ने बाध्यता, त्यसमा पनि फास्टफुड, ड्राइफुड र जंकफुड । यस्तै खानेकुराको अत्यधिक सेवनले पुरुषको प्रजनन क्षमतामा कमी आइरहेको छ । यी खानेकुरामा हुने विभिन्न रसायनका कारण स्वास्थ्यमा समस्या आइरहेको हो ।

तनाव
लगातार तनावमा रहनाले शरीरमा हार्मोनको असन्तुलन पैदा हुन्छ । यसले गर्दा शरीरमा रक्तसञ्चारमा परिवर्तन ल्याउँछ । जसका कारण शुक्रकीटको संख्यामा कमी आउँछ । 
धूम्रपान–मद्यपान
धुम्रपान र मद्यपान गर्ने व्यक्तिको प्रजनन क्षमतामा ह्रास आइरहेको हुन्छ । यसमा पाइने विभिन्न रसायनले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । जसले शुक्रकीटको चालमा कमी ल्याउने, पूर्ण रूपमा उत्पादन नहुने वा उत्पादनमा बाधा पु-याउने हुन्छ । 

मधुमेह
मधुमेहका कारण रगतमा ग्लुकोजको मात्रा बढी हुँदा पिसाबनलीमा रहेका मांशपेसीलाई कमजोर बनाइदिन्छ । जसले गर्दा स्पर्महरू सजिलै बाहिर आउन सक्दैनन् । 

मोबाइल–ल्यापटप
धेरै समयसम्म खल्तीमा मोबाइल राख्दा र ल्यापटप काखमा राखेर लामो समयसम्म चलाउने पुरुषमा प्रजनन क्षमता कमी आउने गरेको पाइन्छ । यसबाट निस्किने रेडिएसनको असरले प्रजनन अंगमा कमजोरी ल्याउँछ । जसले गर्दा शुक्रकीट उत्पादन नै नहुने र उत्पादन भएमा पनि सबल उत्पादन नहुने हुन्छ । 

अन्य 
यसबाहेक किमोथेरापी गरिहेका र एन्टिडिप्रेसन औषधि प्र्रयोगमा ल्याइरहेका पुरुषको प्रजनन क्षमतामा कमी आइरहेको हुन्छ । -नयाँ पत्रिकाबाट
 

प्रतिक्रिया दिनुहोस