महिनावारीको बेलामा यौन सम्पर्क राख्नु हुन्छ कि हुँदैन ? डाक्टर यसो भन्छन्

विहीबार, २३ फागुन २०७५, २१ : ५०
महिनावारीको बेलामा यौन सम्पर्क राख्नु हुन्छ कि हुँदैन ? डाक्टर यसो भन्छन्

डा. सुमनराज ताम्राकार
मासिक रूपमा डिम्ब निष्कासनपछि शुक्रकीटसँग मिलन हुन पाएन अर्थात् गर्भ रहेन भने डिम्ब निस्केको दुई हप्तापछि मासिक स्राव हुन्छ। महिनावारी वयस्क महिलामा हुने प्राकृतिक शारीरिक प्रक्रिया हो। महिनावारी आफैँमा कुनै अपवित्र वा दूषित होइन। महिनावारीको बेला खेर जाने रगत खराब खालको होइन भन्ने कुरा पनि प्रष्टिनु जरुरी छ।

महिनावारीलाई अपवित्र मान्ने चलन पनि छ, यहाँ। नेपाली समाजमा अझै पनि महिनावारीका बेला पानी, पूजा, मांगलिक कार्यमा सरिक हुन दिँदैन। बार्ने गरिन्छ। महिनावारीको बेलामा गरिने सामाजिक तथा धार्मिक बन्देजलाई महिलामाथिको विभेद भन्न सकिन्छ। 

महिनावारी हुनु भनेको गर्भ नरहनुको संकेत पनि हो। त्यसैले श्रीमान्को अनुपस्थितिमा महिनावारी रोकिएको खण्डमा राम्रो मानिँदैन। यसरी महिनावारी महिला माथिको निगरानीको माध्यम बनेको छ। 

एकातिर महिनावारीका बेला यौन सम्पर्क राख्यो भने पुरुष तथा समाजलाई नराम्रो होला कि भन्ने अन्धविश्वास छ। कतिपय धार्मिक आख्यानमा महिनावारीका बेलाको यौन सम्पर्कलाई पाप नै मान्ने गरेको छ। महिनावारीका बेला स्वस्थ दम्पतीबीच यौन सम्पर्क राख्न मिल्छ। गर्भावस्थामा तथा योनि मार्गबाट कुनै कारण रगत बगेको अवस्थामा भने यौन सम्पर्क राख्नु हुँदैन। महिनावारी बेगर अन्य बेला यौन सम्पर्कका क्रममा योनि मार्ग रसिलो बनाउन तथा यौन कार्यलाई सहज बनाउन योनि रस उत्पादन हुन्छ। यस हिसाबले महिनावारीमा आउने रगत र योनि रसबीच खासै भिन्नता हुँदैन अर्थात् यी दुवै स्रावले पुरुष लिंगमा खासै नकारात्मक असर पुर्या‍उँदैन।

अहिलेको व्यस्त समयमा श्रीमान्–श्रीमती सधैँभरि साथै रहन नपाउन पनि सक्छन्। र, लामो समयपछि घर फर्किंदा श्रीमती महिनावारी भइरहेको हुन सक्छ। यस्तो बेला यौनेच्छा दबाउन गाह्रो पर्न सक्छ। यस्तो बेला पुरुष लिंगमा रगत लागेमा असहज मान्नु पर्दैन। त्यसो त हनिमुनका बेला पहिलो पटक हाइमेन च्यातिँदा पनि रगत लाग्ने हुन सक्छ।

तर, कतिपय सावधानी अपनाएको खण्डमा राम्रै हुन्छ। रगतको मात्रा बढी बगेको बेलामा यौन सम्पर्क राख्नु हुँदैन। यस्तो बेला योनि रस वा महिनावारीको रगत मिश्रित स्राव गन्ध पृथक हुन सक्छ। कतिपय पुरुष पार्टनरलाई अप्रिय लाग्न सक्छ। महिनावारीको बेला रगत तथा रोगसँग लड्ने क्षमता पनि कम हुने कुराको हेक्का राख्नुपर्छ। महिनावारी भइरहँदा कतिपय महिलाले कमजोरी वा थकित महसुस गर्ने हुनाले यौन सम्पर्क राख्न अनिच्छा हुन सक्छ। त्यसैले महिला पार्टनरको इच्छा विपरीत करबल गर्नु हुँदैन। पुरुषले आफ्नो पार्टनर वा श्रीमतीको चाहना वा स्विकृतिमा मात्र महिनावारीका बेला यौन सम्पर्क राख्नु राम्रो हुन्छ।

महिनावारी भइरहँदा पनि वैकल्पिक खालका यौन उपाय अपनाएर पनि दम्पतीबीच यौन आनन्द लिन सकिन्छ। महिनावारी हुँदा यौन सम्पर्क राखे पनि सरसफाइमा बढ्ता ध्यान पु¥याउनुपर्छ। कतिपय महिलामा स्त्री जननेन्द्रिय क्षेत्रमा बढ्ता रक्त प्रवाह सँगै यौन चाहना बढ्ने, महिला पार्टनरको यस अपेक्षालाई नजर अन्दाज गर्न मिल्दैन।

यौन सम्पर्कको क्रममा प्राप्त हुने चरमसुखले महिनावारीका बेला तल्लो पेट दुख्ने समस्या (डिस्मेनोरिया) मा कमी आउने, राहत मिल्ने गर्भ नरहने वास्तविकताले ढुक्कका साथ बिनासाधन यौन सम्पर्क राख्न सकिन्छ। यदि यौन चाहनालाई नियन्त्रणमा राख्न सकिएन भने महिनावारीको समयमा यौन सम्पर्क राख्दा कतिपय सतर्कता अपनाउनुपर्ने हुन्छ। यौन सम्पर्कको क्रममा महिनावारीको रगत ओच्छ्यान, डसना, सिरकमा लाग्न सक्छ। यतातिर पनि ध्यान दिनुपर्छ। 

यौन सम्बन्धका लागि लिंग योनि सम्पर्क नै गर्नुपर्छ भन्ने छैन, पारस्परिक हस्त मैथुन, चुम्बन, स्पर्शलगायत यौन आनन्दका वैकल्पिक उपाय अपनाउन सकिन्छ। महिनावारीका बेला महिला पार्टनर तनावमा हुने तथा तिनीहरूलाई विभेद गरिएको ठान्न नदिन जिम्मेवार पुरुष पार्टनरले आलिंगन, स्पर्श, चुम्बन गरेको खण्डमा दाम्पत्य जीवन प्रगाढ बनाउँछ। सामाजिक मूल्य मान्यताअनुरूप चौथो दिनमा चोखिने अर्थात् त्यो दिनसम्म सरसफाइ नगरी बस्नुपर्ने प्रथालाई समयानुकूल परिवर्तन गर्नुपर्छ। एचआईभीलगायत यौनजन्य संक्रमणबाट बच्न कन्डम प्रयोग गर्नुपर्छ।

महिनावारीलाई आत्मग्लानिको अनुभूति गर्नु पर्दैन। महिनावारीको बेला यौन सम्पर्क कार्य शतप्रतिशत रूपमै वर्जित गर्नु नपर्ने भए पनि श्रीमान् र श्रीमती दुवैको सहमतिमा मात्र यौन सम्पर्क राख्नु राम्रो हुन्छ। यसका लागि दुवै पार्टनरबीच स्पष्ट छलफल हुनु जरुरी छ। सम्पूर्णबाट 

प्रतिक्रिया दिनुहोस