माघ १९ अर्थात् कालो दिन

त्यतिबेलाको ‘कू’ र अहिले ‘कू’ को स्यालहुइँया

सफल खबर संवाददाता

शनिबार, १९ माघ २०७५, १४ : ३१
त्यतिबेलाको ‘कू’ र अहिले ‘कू’ को स्यालहुइँया

काठमाडौं । ‘त आउँदा मोही पाइनस्, नोकर पठा दूध दिउँला’ यो उखान नेपाली समाज माझ चलनचल्तिमा छ । यहि उखान अहिले पूर्वप्रधानसेनापति रुक्माङ्गत कटुवालमा ठ्याक्कै लागु भएको छ । प्रसङ्ग हो ‘कू’ को । हुन त यसअघि पनि ‘कू’ का हल्ला धेरै भए, कहिले राजाले ‘कू’ गर्ने त कहिले कसले गर्ने भनेर । पछिल्लो समय फेरि पनि यस्तै एक ‘कू’ को हल्ला फैलिएको छ ।

‘हावा न चलि पात हल्लिँदैन’ यो उखान पनि धेरै नेपालीले सुनेका छन् । त्यसो भए कसले चलायो त यो हल्ला ? धमिलो पानीमा माछा मार्नेहरु प्रशस्तै हुन्छन् । पश्चिमा राष्ट्रहरुको केही समय अगाडि आएको एक विज्ञप्ति, पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता र वर्तमान व्यवस्थालाई मन नपराउनेहरु समेतको सक्रियता बढेको भनिएकै बेला यस्तो हल्ला चल्नुले गम्भीर आशंका पैदा भएको  छ । दश वर्ष लामो जनयुद्ध र ६२/६३ को जनआन्दोलनको बलमा भएको राजनीतिक परिवर्तन संस्थागत गर्न जनताबाट निर्वाचित जनप्रतिनिधिहरुले बनाएको नयाँ संविधान लागु भइसकेको  छ । योसँगै स्थापना भएको नयाँ व्यवस्थापछि मुलुक समृद्धिको यात्रामा अघि बढ्न थालेको छ ।

यो संविधान अनुसार मुलुक स्थानीय, प्रदेश र केन्द्र गरी तीन तहको संघिय संरचनामा जानुकासाथै ती संरचना नयाँ सरकार बनेर जनताका काम जनताकै प्रतिनिधिबाट हुन थालेका छन् ।  समग्रमा लामो राजैनीतिक अस्थिरता र द्वन्द्व समाप्त भएर पनि आर्थिक प्रगतिको मार्गमा लम्कि रहेको छ । एउटा सिस्टममा मुलुक प्रवेश गरेको छ । भलै जनताका सबै इच्छा आकांक्षा पुरा भएका छैनन् । राजनीतिका दलहरुले जनता माझ गरेको धेरै प्रतिवद्धता पूरा गर्न बाँकी नै छ । तर पनि जनतामा नयाँ उत्साह र आशाको सञ्चार भएको छ ।

बहुसंख्यक जनतामा यस्तो आशा र उत्साह सिर्जना भए पनि प्राप्त उपलब्धि र वर्तमान व्यवस्थाका विरुद्धमा केही देशी, विदेशी शक्तिहरु लागेका छन् । देशभित्रका पूर्वराजा र उनी समर्थक प्रतिगमनकारी शक्तिदेखि पश्चिमा राष्ट्रहरु समेत पछिल्लो परिवर्तनलाई कमजोर बनाउने चलखेलमा छन् । यसलाई परिवर्तनकारी शक्तिहरुले समयमै पहिचान गर्न जरुरी छ । त्यस्ता गतिविधि हुन नदिन पनि उत्तिकै ध्यान पु¥याउनु पर्ने अवस्था छ । बेलाबेलामा आफ्नो सत्ता खोसिएको ‘इगो’ देखाउँदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले कहिले धार्मिक भ्रमणका नाममा त कहिले विभिन्न पर्व या अवसरका नाममा दलहरुप्रति तितो पोख्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । उनले देशको अस्तित्व गम्भीर सङ्कटमा परेको, सार्वभोमसत्ता खोसिएको  जस्ता गम्भीर र आपत्तिजनक अभित्क्ति दिने गरेका  छन् । तर, उनले कोबाट यस्तो खतरा छ भन्ने खुलाउन सकेका छैनन् । देशको अस्तित्व सङ्कटमा पर्न कि बाह्य हस्तक्षेप हुनुपर्छ । कि गृह युद्ध हुनुपर्छ कि त आर्थिक सङ्कटमा देश फस्नुपर्छ ।
दरबारकै आडभरोसामा नेपाली सेनाको प्रमुख बनिसकेका तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटुुवालसमेत पूर्वराजाको बोलीमा लोली मिलाउँदै परिवर्तन राजनीतिक व्यवस्था, यो व्यवस्थामा प्रतिस्पर्धा गरेर जनताको मन जित्न सफल राजनीतिक दल र पूर्वराजालाई उकास्ने दुष्कर्म गरिरहेका छन् । कटुवालले केही समयअघि मात्रै प्रजातन्त्र जोगाउन पूर्वराजाको सक्रिय भूमिका आवश्यक भइसकेको तर्क गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सहयोग गर्नुपर्छ भनेर नेपाली सेनालाई उक्साएका थिए । स्रोतहरुका अनुसार कटुवालले अहिले आएर नेपाली सेनाको साथ लिएर वर्तमान व्यवस्थालाइ ‘कू’ गर्न पूर्वराजा ज्ञानेन्द्रलाई सुझाव नै दिएका छन् । हो यहीँनेर लागु हुन्छ, ‘तँ आउँदा मोही पाइनस्, नोकर पठा दूध दिउँला’ भन्ने उखान ।

राजा महेन्द्रले आखलढुङ्गाबाट उठाएर ल्याएर पढाइदिएका र दरबारकै बलमा सेनामा पसेका कटुवाल प्रधान सेतापति भएकै बेला सविधानसभाले राजतन्त्रको अन्त्य गरेको थियो । आफू शक्तिमा रहेका बेला माखो मार्न नसक्ने तिनै कटुवाल अहिले ‘प्रजातन्त्र बचाउन’ सेनले ‘कू’ गर्नुपर्ने हास्यास्पद कुरा गर्दै हिँडेका छन् । उनको यो पछिल्लो गतिविधिले, हिजो वैधानिक सरकारको निर्णयविरुद्ध देशी विदेशी तत्व गुहार्ने कटुवालले नै प्रजातन्त्र जोगाइ दिएको ठान्ने व्यक्ति र पार्टीहरु पनि अहिले झल्याँस भएका छन् । किनभने कटुवालले यतिखेर नकाब उतारेर आफ्नो सक्कली अनुहार उदाङ्गो पारेका छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुझबुझपूर्ण कदम नचलेका भए त्यतिखेरै नेपालको लोकतान्त्रिक आन्दोलन दुर्घटनाग्रस्त हुने थियो । अहिले पूर्वराजा ज्ञानेन्द्र शाह मधेस झरेका छन्् । र राजनीतिक तानाबाना बुन्न तल्लिन छन् । केही समयअघि पोखरामा रहँदा पनि उनले आफू नजिककाहरुलाई भेला गरेर वर्तमान शासन प्रणालीको विरुद्ध र आफ्नो पक्षमा माहोल बनाउने प्रयत्न गरेकै थिए । दरबारकै जुठोपुरो खाएर हुर्केका कटुवाल र पूर्वराजा ज्ञानेन्द्र शाहबीच साँठगाँठ हुनु अनौठो पनि भएन ।  उनीहरुको यस्तो गुप्त षड्यन्त्र सफल नहोला पनि तर, पश्चिमा राष्ट्रहरुले तत्कालीन द्वन्द्वकालीन मुद्दालाई लिएर निकालेको संयुक्त विज्ञप्ति, कट्वाल र पूर्वराजा ज्ञानेन्द्र शाहका पछिल्ला गतिविधि र अभिव्यक्तिहरु तथा प्रमुख राजनीतिक दलहरुबीच बढ्दै गएको दुरीको साङ्गोपाङ्गो भने राज्यले केलाउनै पर्छ ।

पश्चिमा राष्ट्रहरु र स्वदेशक प्रतिगमनकारी शक्तिहरुको समेत केही विषयमा समन धारणा बन्दै जानुलाई परिवर्तनकारी शक्तिहरुले समयमै बुझ्न जरुरी हुन्छ । त्यसो त पूर्व प्र्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा आलीले बेलाबेलामा प्रतिगमनकारी शक्तिले टाउको उठाउने गरेको साङ्केतिक रुपमा बताउने गरेका छन् । केही समय पहिला प्रचण्डले पूर्वराजा शाह पार्टीमा नाचेका प्रसङ्ग निकालेका थिए भने प्रधानमन्त्रीले स्वीजरल्यान्ड भ्रमणमा रहेका बेला पश्च्मिा राष्ट्रहरुकोव गतिविधिलाई अनावश्यक चासो नलिन चेतावनी दिएका थिए ।
 

के हो वास्तविकता ?
राजनीतिक तथा कुटनीतिक विश्लेषकहरुका अनुसार पश्चिमा शक्ति चीनसँग नेपाल नहोस भन्ने चाहन्छन् । त्यसैका लागि उनीहरु यो वा त्यो बहानामा नेपालमा आफ्नो दबाब बनाइराख्न उदृत छन् । त्यही योजनाअनुसार युरोपियन युनियनसहित केही पश्चिमा राष्ट्रले विज्ञप्ति निकालेर द्धन्द्धकलिन मुद्दा उठान गरेको हुन सक्ने र राजनीतिक विश्लेषक झलक सुवेदीको बुझाइ छ । ‘पश्चिमाहरु नेपाल बरु भारततर्फ ढल्कँदा केही फरक पर्दैन, चीनसँग चाहिँ कहिल्यै नजिक नहोस् भन्ने चाहन्छन् । त्यही भएर उनीहरु नेपालको आन्तरिक मामिलामा बोल्ने गर्छन् । पछिल्लो विज्ञप्ति पनि त्यसैको एक रुप हो’ विश्लेषक सुवेदीको भनाइ छ ।

तर उनी मुलुकमा कुनै किसिमको ‘कु’ को खतरा नरहेको र त्यस्तो योजना कसैले बनाए नि त्यो सफल नहुनेमा ढुक्क छन् । ‘हल्ला मात्रै हो ‘कु’ को हल्ला । अहिले सेना वा पूर्वराजा कसैबाट पनि त्यो सम्भव छैन । कसैले हल्ला चलाइरहेको छ भने पनि तयो कसैलाई खुसी पार्नका लागि मात्र हो’ सुवेदी भन्छन् । चीनका राजदूत रहिसकेका राजनीतिक विश्लेषक टंक कार्कीका अनुसार पश्चिमा राष्ट्रहरुको चाइना र पूर्वेली राष्ट्रहरुसँगको कन्ट्राडिक्सनको प्रभाव नेपालमा पनि परेकाले अनेकन हल्ला र षड्यन्त्र भइरहेका हुन सक्छन् ।

‘यही बेला नेपालमा कम्युनिष्टहरुको शासन छ । यी कम्युनिष्टहरु कस्ता हुन्, आफ्नै ठाउँमा होला तर बाहिरी नजरले हेर्दा नेपालमा हाल कम्युनिष्टहरुकै शासन छ भन्ने बुझिन्छ । त्यसकारण हामीलाई घेराबन्दीमा पार्न देशी तथा विदेशी शक्तिहरु एकताबद्ध र तेज गतिमा लागेका छन् । त्यसका लागि उनीहरु अनेकन हल्ला फैलाउने र षड्यन्त्र बुनिरहेका हुन्छन्’ कार्कीले भने, ‘यसमा हाम्रो पनि कमाजोरी छ ।’

राजावादी डा. प्रकाशचन्द्र लोहनी पूर्वराजा शाहका पछिल्ला गतिविधि र अभिव्यक्तिहरुलाई स्वाभाविक रुपमा लिन्छन् । उनी  भन्छन्, ‘दुईतिहाईको सरकार छ । जनताका आशाअपेक्षा पूरा हुनुको साटो क्षीण बन्दै गएका छन् । आर्थिक गतिविधि धर्मराएको छ । मुद्रा सङ्कट देखिने अवस्था आएको छ । यस्तो अवस्थामा पूर्वराजाले चासो र चिन्ता प्रकट गर्नु स्वभाविक हो ।’ एक सचेत नागरिकको हैसियतमा पूर्वराजाले देश कता गइरहेको छ भन्ने कुरामा जानकारी राख्नुलाई अन्यथा लिन नहुने डा. लोहनीको दाबी छ ।

 

प्रतिक्रिया दिनुहोस