काठमाडौं । आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् ।
प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाइन्छ ।
आसार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।
विष्णु क्षिर सागरमा सुतेकाले यी चार महिना विवाह ब्रतवन्धजस्ता माङ्गलिककार्य नगरिने परम्परा छ । यस समयमा खोला, नदी नालामा बाढी पहिरो आउने र सर्पजस्ता जीवको भयका कारण यात्रा नगर्नु शुभ मानिन्छ ।
हरिशयनी एकादशीका दिन घरघरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर विवाह गरिन्छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा बसेको हो । तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।
कात्तिक महिनाभर सबै देवदेवी तुलसीमै निवास गर्छन् भन्ने धार्मिक विश्वास छ । हरिशयनी एकादशीदेखि पूजा गरिएको तुलसीको उद्यापन अग्निस्थापना विधिबाट विशेष पूजा र हवनसहित गरिन्छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म अग्निस्थापना नजुरेका दिनपनि अग्निस्थापना विधिबाट विशेष पूजा र हवन गर्न सकिने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा. तोयराज नेपालले बताए ।
आदिकालदेखि पूजाको परम्परा बसेको तुलसीको महिमा वैज्ञानिकरूपमा पनि लाभदायक प्रमाणित भएको छ । यसैले तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुन्छ भनिन्छ । तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने आस्थाका कारण हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउँछन् ।
तुलसीको पात, डाँठ, वा फूलको रस रुघाखोकी र औलो लगायत रोगका लागि औषधि हुन्छ । यो रस शरीरमा लगाएर सुतेमा लामखुट्टेले टोक्दैन । तुलसीको मठ भएको स्थल वरपर विषालु सर्प पनि आउँदैन । मठको वरपर वहने हावाले विषालु कीटाणुलाई नष्ट गर्दछ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महा औषधि मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ कार्तिक २०८२, ०७ : ४२
लेखकबाट थप