काठमाडौं । नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्रको आन्तरिक द्वन्द्व अब निर्णायक मोडमा पुगेको संकेत देखिएको छ।
पार्टी एकताको प्रयास असफल भइरहेका बेला सभापति गगन थापा समूहविरुद्ध असन्तुष्ट रहेको पूर्णबहादुर खड्का समूहले आगामी २०८३ जेठ १५ गते अर्थात् गणतन्त्र दिवसकै दिन नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।
यो कुराको छनक सभापति गगन थापा पक्षले पनि पाईसकेको छ । देउवा खड्का पक्षका एक नेताले दिएको जानकारीअनुसार, खड्का पक्ष अहिले छुट्टै सम्पर्क कार्यालय खोल्ने तयारीमा छ भने पार्टी सञ्चालनका लागि आवश्यक संरचना निर्माणको काममा लागिरहेको छ । “यदि अन्तिम समयमा सहमति भएन भने जेठ १५ गते नयाँ पार्टी घोषणा हुन्छ,” ती नेताले सफलखबरसँग भने ।
गत वैशाख ५ गते सर्वोच्च अदालतले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि पार्टीभित्रको शक्ति संघर्ष झन् तीव्र बनेको हो। त्यसयता दुवै पक्षले देशभर समानान्तर भेला, छलफल र शक्ति प्रदर्शन गरिरहेका छन्। खड्का समूहले वर्तमान केन्द्रीय कार्यसमिति विघटन गरी १५ औँ महाधिवेशन आयोजक समिति बनाउनुपर्ने माग राख्दै आएको छ। उनीहरूको प्रस्तावअनुसार शेरबहादुर देउवाको नेतृत्वमा महाधिवेशन गराएर त्यसपछि मात्रै नयाँ नेतृत्व चयन हुनुपर्ने अडान छ। तर सभापति थापा उक्त प्रस्तावप्रति सकारात्मक छैनन ।
पार्टीको विशेष महाधिवेशन गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको, निर्वाचन आयोगदेखि सर्वाेच्च अदालतसम्मले थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको र निर्वाचनमा समेत थापाको हस्ताक्षरमा कांग्रेस उम्मेदवारले टिकट लिएर चुनावमा गएको कारण खड्का पक्षको माग अनुसार फेरि देउवाको नेतृत्वमा महाधिवेशनमा जान नसकिने गगन पक्षको प्रष्ट मत छ ।
गगन पक्षले देउवा खडका पक्षका देखि शेखर कोइराला पक्षका नेताहरुसम्मलाई पार्टी केन्द्रीय समितिमा मनोनित गरेर नियमित महाधिवेशनमा जानुपर्ने मत राखेको छ । त्यही अनुसार, केही नेताहरुलाई समेटेको पनि छ । तर ब्यक्ति केन्द्रीत समस्या हल खोज्ने विधिमा गगन थापा विश्वप्रकाश शर्माहरु लागेको भन्दै त्यसमा देउवा खडका पक्ष सहमत देखिन्नन । शनिबार सुर्खेतमा आयोजित कार्यक्रममा निर्वतमान कार्यबाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको सम्भावना खुला रूपमा औँल्याए।
उनले विगतमा गिरिजाप्रसाद कोइरालाका कारण पार्टी फुटेको र पुनः उनकै पहलमा एक भएको उदाहरण दिँदै अहिले पनि पार्टी जोगाउने वा फुटाउने जिम्मेवारी गगन थापाकै काँधमा रहेको बताए।
खड्काले केही दिनअघि सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मासँग भएको छलफल स्मरण गर्दै भने, “पार्टी विभाजनको डिलमा पुगेको छ। यो बाटोमा नजाऔँ भनेको छु। पार्टीलाई एक बनाउने कि फुटाउने भन्ने जिम्मेवारी अब तपाईंहरूकै (गगन विश्वप्रकाश) हो।”
उता उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र विवाद र असन्तुष्टि रहेको स्वीकार गर्दै एकताका लागि विभिन्न मोडलमा छलफल भइरहेको बताएका छन्। तर समानान्तर गतिविधि, सदस्यता वितरण विवाद, केन्द्रीय सदस्य मनोनयन र चुनावी हारको दोषारोपणले कांग्रेसभित्रको दूरी झन् बढाइरहेको देखिन्छ।
गत फागुन २१ को निर्वाचनमा कांग्रेस ३८ सिटमा सीमित भएपछि खड्का–देउवा पक्षले त्यसको नैतिक जिम्मेवारी थापा नेतृत्वले लिनुपर्ने माग गर्दै आएको छ। त्यही असन्तुष्टि अहिले सम्भावित विभाजनको आधार बन्दै गएको नेताहरूको बुझाइ छ।
यदि जेठ १५ मा नयाँ दल घोषणा भयो भने नेपालको लोकतान्त्रिक राजनीतिमा अर्को ठूलो विभाजन हुन सक्ने विश्लेषण भइरहेको छ। खासगरी गणतन्त्र दिवसकै दिन नयाँ दल घोषणा गर्ने तयारीलाई खड्का समूहले ‘राजनीतिक सन्देश’ का रूपमा अघि सारेको बुझिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ जेठ २०८३, ०९ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
ओलीसँग छलफल गर्न विश्वप्रकाश शर्मा पुगे गुण्डु
प्रदेश सरकार हेरफेरबारे ओली निवासमा कांग्रेस–एमाले नेताबीच छलफल
राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्रीले संसद् छाडेको विषयमा काँग्रेसद्वारा जवाफ माग
भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष संरक्षणको प्रावधानप्रति काँग्रेसको आपत्ति