चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति

सफल खबर संवाददाता

बुधबार, ०३ असार २०८३, १५ : १७
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति

काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वउपाध्यक्षको सहभागितालाई लिएर नेकपा (एमाले) ले प्रश्न उठाएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले कानुनी व्यवस्थासँग मेल नखाने व्यक्तिको उपस्थितिमा आयोगका निर्णयहरू भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बुधबारको संसद् बैठकमा सांसद बरालले प्रधानमन्त्रीको अध्यक्षतामा बसेको आयोगको बैठकमा पूर्वउपाध्यक्ष डा. श्रीकृष्ण गिरी सहभागी भएको विषयप्रति आपत्ति जनाएका छन् ।

उनका अनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ ले तोकेको प्रक्रियाअनुसार आयोगको उपाध्यक्ष पद हाल रिक्त रहेको अवस्थामा नयाँ पदाधिकारी चयनका लागि सम्बन्धित सिफारिस प्रक्रिया चलिरहेको छ । यस्तो अवस्थामा पूर्वउपाध्यक्ष गिरी बैठकमा कुन हैसियतमा सहभागी भए भन्ने विषय स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

सांसद बरालले आयोगको उक्त बैठकबाट चिकित्सा शिक्षा क्षेत्रसँग दीर्घकालीन प्रभाव पार्ने छात्रवृत्ति कार्यविधि समेत पारित गरिएको उल्लेख गर्दै निर्णय प्रक्रियाको वैधानिकतामाथि समीक्षा आवश्यक रहेको बताए ।

उनले कानुनले तोकेको जिम्मेवारी र पदाधिकारीको भूमिकाबाहिर गएर संस्थागत निर्णय हुन नहुने धारणा राख्दै आयोगका कामकारबाहीलाई प्रचलित कानुनी व्यवस्था अनुसार अघि बढाउन माग गरे ।

प्रतिक्रिया दिनुहोस