मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
कोशी प्रदेश योजना आयोगले सोमबार बैंक सूचना प्रणालीसम्बन्धी विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रदेशसभाका सदस्यलाई राखेर योजना छनोट र योजना बैंकमा ‘योजना इन्ट्री’ गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिइएको थियो ।
कार्यक्रममा आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कार्कीले विगतमा गर्दै गएको असन्तुलित अभ्यासलाई यसपटक गम्भीर रूपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने गरी बजेट बनाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले योजना बैंकलाई व्यवस्थित ढङ्गले सञ्चालन गरी यसपटकको बजेटमा बैंकमा आएका योजनालाई प्राथमिकता दिने बताए ,।
मुख्यमन्त्री कार्कीले प्रदेश संरचनाले यसपटक देखिनेगरी काम गर्नका लागि आग्रह गर्दै यसअघि बजेट निर्माणमा भएका कमीकमजोरी यसपटक नदोरिने गरी जिल्ला तहबाट बजेट प्रविष्ट गर्ने प्रणाली विकास गरिएको जानकारी दिए । मन्त्री र सचिव पनि फेरिरहने परिपाटीले गर्दा विकासका गति अघि बढ्न नसकेको उनले गुनासो गरे ।
प्रदेश सरकारले प्रदेशभित्र रहेका विभिन्न विश्वविद्यालय र क्याम्पससँग प्रदेशको समग्र विकास सेवा प्रवाहसँग सम्बन्धित विषय साथै अनुसन्धान खोज र सम्भाव्यता अध्ययनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
प्रदेश योजना आयोगमार्फत परम्परागत रूपमा परिवारमा उत्पादन गरिँदै आइएको घरेलु मदिरा (रक्सी)को उत्पादन, गुणस्तर मापन, परीक्षण, बजारीकरण, ब्रान्डिङलगायत विषयका सन्दर्भमा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता गरिएको छ ।
त्यस्तै, त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय, कोशी प्रदेश मनमोहन प्राविधिक विश्वविद्यालयसँग पनि विभिन्न विषयमा सम्झौता गरिएको मुख्यमन्त्री कार्कीले उल्लेख गरे ।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले यो सम्झौता र आयोजना बैंकको कार्यान्वयनले प्रदेशको विकास र समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले प्रदेश सरकारले आयोजना बैंकलाई प्राथमिकता दिएर काम गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १७ चैत्र २०८२, ०७ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा
कोशी प्रदेशलाई देखिने, सुनिने र अनुभव गरिने बनाउँछु : मुख्यमन्त्री कार्की
मधेस सबै समुदायको साझा घर हो, विभाजनले समाजलाई कमजोर बनाउँछ : मुख्यमन्त्री यादव