काठमाडौं । अमेरिकी उच्च सैनिक अधिकारी जोएल बी। भाउल नेतृत्वको टोली नेपाल भ्रमण सकेर फर्केलगत्तै चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसि) को उच्चस्तरीय राजनीतिक टोली काठमाडौं आइपुगेको छ।
नेपालमा जेनजी विद्रोहपछि भएको प्रतिनिधिसभा चुनाव र चुनावी परिणामपछि नयाँ सरकार बन्न लागेको पूर्वसन्ध्यामा दुई शक्ति राष्ट्रहरुका प्रतिनिधिहरुको नेपाल भ्रमण भएको हो । छोटो समयमै भएका दुई शक्ति राष्ट्रका प्रतिनिधिहरुका यी दुई समानान्तर गतिविधिले नेपालमा अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धा तीव्र बन्दै गएको संकेत गरेको छ।
अमेरिकी टोली तीन दिने भ्रमणमा आइतबार काठमाडौं आएको थियो। टोलीले काभ्रेको पाँचखालमा रहेको नेपाली सेनाको वीरेन्द्र शान्ति स्थापना तालिम केन्द्र अवलोकन गर्नुका साथै नेपाली सेनासँग सहकार्यका विभिन्न पक्षमा छलफल गरेको बताइएको छ ।
अमेरिकी सैनिक सक्रियता र चिनियाँ राजनीतिक दौडधुपको करिब एकै समयमा देखिएको उपस्थिति संयोग मात्र नभई रणनीतिक संकेतका रूपमा हेर्नुपर्नेमा कुटनीतिक विज्ञहरुको जोड छ ।
जोएल बी. भाउल अमेरिकी सेनाको इन्डो–प्यासिफिक कमाण्डअन्तर्गत डिपुटी कमान्डिङ जनरल हुन् । उनीसँग अमेरिकी सेनाकै म्याथ्यु कार्सटेन्सेन र टेरेल हर्डल पनि सहभागी थिए ।नेपाल आउनुअघि जनरल भाउलले भारतका सेनाप्रमुख उपेन्द्र द्विवेदीसँग पनि भेट गरी भारत–अमेरिका रक्षा सहकार्यबारे छलफल गरेका थिए। यसले क्षेत्रीय सुरक्षा सन्दर्भमा नेपाललाई समेत जोडेर हेर्ने अमेरिकी रणनीति झल्काउँछ।
यो टोली हिजो मंगलबार नै बैंकक हुँदै फर्किएको छ । यता, अमेरिकी टोली फर्किनु झण्डै दुई घण्टा अगाडी मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागअन्तर्गत नेपाल मामिला हेर्ने प्रमुख झेङ युहा ९सरला०को नेतृत्वको एक टोली पनि नेपाल आइपुगेको छ । उनीसहितको चार सदस्यीय टोली पनि तीन दिन नेपालमा रहने बताइएको छ ।
झेङ युहाको यो भ्रमण पछिल्लो केही महिनामै दोस्रो नेपाल आगमन हो। यसअघि उनी नेपालमा गत भदौं २३ र २४ मा भएको जनेजी आन्दोलनपछि र प्रतिनिधिसभा निर्वाचनअघि गत माघ ८ गते नेपाल आएकी थिइन्। अहिले भने चुनाव सकिएर नयाँ सरकार गठनको प्रक्रिया चलिरहेका बेला उनको पुनः आगमन भएको हो।
कुट्नीतिक विश्लेषकहरूका अनुसार, पछिल्लो समय अमेरिका र चीन दुवैले नेपाललाई रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्रका रूपमा हेर्दै आएको यी भ्रमणहरुले पनि पुष्टि गर्छन् । तर, यी दुवै देशहरुका नेपालमाथीको प्राथमिकता फरक छ। अमेरिका नेपालमा सुरक्षा सहकार्य, शान्ति स्थापना, विपद् व्यवस्थापन र इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत उपस्थिति विस्तार गर्न चाहान्छ । चीन भने नेपालमा निर्वाचनपछि आएको नयाँ राजनीतिक समिकरणका आधारमा राजनीतिक पहुँच, दलगत सम्बन्ध सुदृढीकरण र क्षेत्रीय प्रभाव कायम राख्ने प्रयासमा देखिएको छ ।
चुनावपछि झण्डै दुई तिहाईको सरकारको नेतृत्व गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई चीनले लिखित सन्देश नै पठाएर चुनावी सफलतामा बधाई दिएको छ । रास्वपासँगको बढ्दो सम्बन्ध र सहकार्यप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा दुई राजनीतिक शक्तिबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिएको छ । उता अमेरिकीहरुले पनि नेपालमा बन्न लागेको नयाँ सरकारसँग दुवै देशको समृद्दि र सुरक्षासम्वन्धी साझा लक्ष्यमा सहकार्य गर्न उत्सुक रहेको जनाएको छ ।
चिनियाँ टोलीले विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम राखेको छ भने अमेरिकी टोलीले मुख्यतः सैन्य र संस्थागत सहकार्यमा ध्यान दिएको देखिन्छ। नेपालमा चुनावपछि सरकार गठनको चरण जारी छ। यही संक्रमणकालीन अवस्थालाई लक्षित गर्दै दुवै शक्ति राष्ट्रले आफ्नो उपस्थिति र प्रभाव सुदृढ गर्न खोजेको विश्लेषण गरिएको छ।
विशेषगरी एउटै चिनियाँ अधिकारीले चुनावअघि र पछि दुवै समयमा नेपाल भ्रमण गर्नु, तथा अमेरिकी उच्च सैनिक अधिकारीहरूको उपस्थितिले नेपालप्रति उनीहरूको ‘निरन्तर निगरानी’ र चासो देखाउँछ। यसअघि पनि अमेरिकी इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर स्यामुएल जे. पापारोले फेब्रुअरी १३–१४ मा नेपाल भ्रमण गरेका थिए । यसले नेपालप्रति अमेरिकी सुरक्षा चासो निरन्तर बढिरहेको संकेत गर्छ।
नेपाल परम्परागत रूपमा असंलग्न परराष्ट्र नीतिमा विश्वास गर्ने देश हो। तर पछिल्ला घटनाक्रमले नेपालमाथि बाह्य शक्ति केन्द्रहरूको चासो र दबाब दुवै बढ्दै गएको देखिन्छ। विशेषज्ञहरूका अनुसार, यस्तो अवस्थामा नेपालले कूटनीतिक सन्तुलन कायम गर्ने, राष्ट्रिय हित स्पष्ट रूपमा परिभाषित गर्ने, बाह्य प्रभावलाई व्यवस्थापन गर्ने क्षमतामा अब थप परीक्षा दिनुपर्नेछ। अमेरिकी सैनिक सक्रियता र चिनियाँ राजनीतिक दौडधुपको करिब एकै समयमा देखिएको उपस्थिति संयोग मात्र नभई रणनीतिक संकेतका रूपमा हेर्नुपर्नेमा कुटनीतिक विज्ञहरुको जोड छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ चैत्र २०८२, ०९ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आफ्ना नागरिकलाई अमेरिकाले भन्यो- तुरुन्तै इराक छोड्नू
इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने
सम्झौताविना टुंगियो अमेरिका–इरान वार्ता
अमेरिकाले क्यारेबियन क्षेत्रमा गरेको डुंगा आक्रमणमा तीन जनाको मृत्यु
अमेरिकामा श्रीमती र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु
अमेरिकामा भीषण हिमपात : ४८ वर्ष पुरानो रेकर्ड तोडियो, जनजीवन ठप्प