काठमाडौ । आयोजक अमेरिकाले फिफा विश्वकप २०२६ को अन्तिम ३२ (नकआउट चरण) मा आफ्नो स्थान सुरक्षित गरेको छ। समूह 'डी' अन्तर्गत गएराति सम्पन्न खेलमा अस्ट्रेलियालाई २-० ले पराजित गर्दै अमेरिका नकआउट चरणमा प्रवेश गरेको हो ।
सियाटल रंगशालामा भएको खेलमा अमेरिकाले पहिलो हाफमै दुई गोलको अग्रता लिएको थियो, जसलाई अस्ट्रेलियाले दोस्रो हाफमा तोड्न सकेन।
खेलको सुरुदेखि नै आक्रामक रणनीति अपनाएको मौरिसियो पोचेटिनोको टोलीले ११ औं मिनेटमा अग्रता लियो। अमेरिकी स्ट्राइकर फोलारिन बालोगनले बाइलाइनबाट दिएको क्रसलाई बचाउने क्रममा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए।
पहिलो हाफ सकिनु दुई मिनेट अगाडि अर्थात् ४३ औं मिनेटमा एलेक्स फ्रिम्यानले हेडमार्फत गोल गर्दै अमेरिकाको अग्रता दोब्बर बनाए। सर्जिनो डेस्टको प्रहार डिफ्लेक्ट भएर आएपछि फ्रिम्यानले त्यसलाई जाली चुमाएका थिए।
खेलको सुरुवाती ४० सेकेन्डमै मोहम्मद टुरेको प्रहार जोगिएपछि अस्ट्रेलियाले खासै उल्लेख्य अवसर सिर्जना गर्न सकेन। दोस्रो हाफमा २० वर्षीय युवा प्रतिभा नेस्टोरी इरानकुन्डा मैदान प्रवेश गरेपछि अस्ट्रेलियाको खेलमा केही सुधार आएको थियो। इरानकुन्डाले सिर्जना गरेको अवसरमा क्रिस्टियन भोल्पाटोले प्रहार गरेको बल क्रसबार माथिबाट बाहिरिएको थियो। खेलको अन्त्यतिर कप्तान ह्यारी साउटरले पनि गोल गर्ने अवसर गुमाएका थिए।
सन् १९३० पछि पहिलो पटक अमेरिकाले विश्वकपका सुरुवाती दुई खेलमा लगातार जित निकाल्न सफल भएको हो । समूहको अर्को खेलमा टर्कीले पाराग्वेलाई हराउन नसकेको खण्डमा अमेरिका समूह विजेता बन्ने पक्का हुनेछ।यसअघि अमेरिकाले आफ्नो पहिलो खेलमा पाराग्वेलाई ४-१ ले पराजित गरेको थियो।
समूह चरणको अन्तिम खेलमा अमेरिकाले आगामी शुक्रबार लस एन्जलसमा टर्कीको सामना गर्नेछ भने अस्ट्रेलियाले सान्टा क्लारामा पाराग्वेसँग खेल्नेछ। हारका बाबजुद अस्ट्रेलियाको अर्को चरणमा पुग्ने सम्भावना अझै बाँकी छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०८३, ०७ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्ट्रेलियासँग वेस्ट इन्डिज पराजित