काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमत सिटमा जित्ने दावी गरेको छ । देशभर रास्वपाप्रति देखिएको जनउभारका कारण एक्लै आफ्नो पार्टीले सरकार बनाउने गरी सहज बहुमत सिट जित्ने दावी रास्वपाले गरेको छ ।
विगतमा राजनीतिक दलहरुले गठबन्धन गरेको र जनतामा बढेको असन्तुष्टिमा रास्वपाले सरप्राइज मत प्राप्त गरेको थियो । त्यसको लहर यसपटक झन् बढेर गएको र जनतामा रास्वपा विकल्पको शक्तिका रुपमा उदाएको विश्लेषण सहित रास्वपाले देशभर गरेर सरकार निर्माणका लागि आवश्यक १३६ सिट भन्दा बढी सिट ल्याउने दावी गरेको हो ।
उसले बाहिर प्रचारमा प्रत्यक्ष र समानुपातिकमा गरी १५० भन्दा बढी सिट जित्ने दावी गरेको छ भने आन्तरिक रुपमा भने करिव सय आसपास सिट जितिने र पहिलो दल बन्ने आंकलन गरेको छ । जसमा अझ बढी चुनावी माहोल सिर्जना गर्न सकिएमा र पार्टी सभापति रवि लामिछाने र चुनाव पछि प्रधानमन्त्रीका रुपमा प्रस्तावित गरेका बरिष्ठ नेता बालेन शाहलाई सँगै देशभर लैजान सकिए सिट संख्या थप गर्न सकिने रास्वपाको बुझाई छ । जसकाआधारमा रास्वपाले भोलि (फागुन ६) बाट देशब्यापी चुनावी सभा आयोजना गदैछ ।
रास्वपाले फागुन ६ मा धनगढी, ७ गते सुर्खेत, ९ गते बुटवल, १० गते पोखरा, ११ गते चितवन र १४ र १६ गते काठमाडौंमा चुनावी सभा आयोजना गर्ने कार्यक्रम तय गरेको छ । यी सभाहरु प्रदेशस्तरको सभा हुने रास्वपाको भनाई छ । यो सभापछि देशभर रास्वपाको पक्षमा जनउभार उर्लिने उसले दावी गरेको छ ।
रास्वपाले सहज जित्ने क्षेत्रलाई ग्रीन जोन, प्रतिस्पर्धामा रहेको र मेहनत गरे जितिनेलाई एल्लो जोन र धेरै नै मेहनत गरेर प्रतिस्पर्धामा जाने क्षेत्रलाई रेड जोनका रुपमा वर्गीकरण नै गरेर चुनावी रणनीति बनाईरहेको छ । प्रदेश स्तरमा नेताहरुलाई सोही अनुसार परिणाम आफनो पार्टीको पक्षमा पार्नका लागि परिचालन गरिएको रास्वपाको भनाई छ ।
कोशीमा केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, मधेसमा डा नमिता यादव, बागमतीमा सरिता ज्ञवाली, गण्डकीमा तोयानाथ अधिकारी, लुम्बिनीमा अर्जुन अधिकारी, कर्णालीमा श्यामबाबु गौतम र सुदूरपश्चिममा कृष्ण भेटवाललाई रास्वपाले चुनावी कमाण्डर बनाएर परिचान गरेको छ ।
कहाँ कति जित्ने दावी ?
रास्वपाले कोसी प्रदेशका १४ जिल्लाका २८ वटा निर्वाचन क्षेत्रमध्ये ५ देखि ८ सिट जित्ने दावी गरेको छ । यस अगाडीको चुनावमा एमाले यो प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र जितेर पहिलो दल बनेको थियो । अहिले एमाले अध्यक्ष केपी ओलीलाई यही प्रदेशको झापा ५ मा रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित बालेन शाहले चुनौती दिईरेहका छन् । एमाले अध्यक्ष ओलीलाई नै पराजित गरेर कोहीमा एमाले गढ भत्काउने रास्वपाले जिकिर गरेको छ ।
रास्वपाले जित्ने दाबी गरेको क्षेत्रमा झापाका ३ सिट छन्। झापा १, झापा २ र झापा ५ रास्वपाले जित्ने दावी गरेको छ । त्यसैगरी मोरङका दुई सिट र सुनसरीका दुई सिट जित्न सकिने दाबी रास्वपाले गरेको छ । यस्तै, इलाम १ मा र उदयपुरमा पनि राम्रो हुँदै आएको रास्वपाका कोसी प्रदेश सभापति गोमा तामाङले बताइन्।
मधेस प्रदेशका ३२ सिटमा पनि रास्वपाले मधेसमा लहरै ल्याउने बताएको छ । ३२ सिटमध्ये आधा सिट मधेसबाटै जित्ने रास्वपाले लक्ष्य लिएको छ । बालेन शाहलाई जनकपुर लगेर रवि र बालेनले सँगै अभियान थालेपछि मधेसमा रास्वपाको लहर नै चलेको उसको बुझाई छ । २०७९ मा प्रतिनिधिसभा चुनावमा देशभर ल्याएको समानुपातिक मत जति मधेसबाट मात्रै ल्याउने वातावरण् निर्माण भएको रास्वपाको दावी छ । महोत्तरीमा दुई, धनुषामा २, सर्लाहीमा २ लगायत क्षेत्रमा रास्वपाले चुनाव जित्ने दावी गरिरहेको छ ।
यसैगरी बागमती प्रदेशका काठमाडौं, ललितपुर र भक्तपुर बाहेकका अन्य १० जिल्लाका १८ निर्वाचन क्षेत्रमा पनि रास्वपाले राम्रो सिट जित्ने उसले बताएको छ । चितवनको तीन वटै निर्वाचन क्षेत्र जित्ने रास्वपाको दावी छ ।
बालेन शाहको रास्वपा प्रवेश र उनलाई रास्वपाले बरिष्ठ नेता बनाउँदै भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि देशभर माहोल राम्रो देखिएको र बालेनको उपस्थितिले हौसिएको रास्वपाकी सहप्रवक्ता प्रतिभा रावल देशभरको माहोलले बागमती प्रदेशमा प्रभाव पर्ने बताउँछिन्। रास्वपा सभापति रवि लामिछानेले बागमती प्रदेशमै केन्द्रित भएर चुनावी अभियान थाल्दैछन्।
‘चितवनको ३ वटै क्षेत्र जित्छौँ, धादिङ लगायत अन्य केही क्षेत्र हामीले जित्ने सूचीमा राखेका छौँ,’ रावलले भनिन्, ‘अब सभापतिले बागमती प्रदेशकै जिल्लामा केन्द्रित भएर अभियान थालेपछि सबैतिर राम्रो हुनेमा विश्वस्त छौँ।’
गण्डकी प्रदेशमा पनि रास्वपाले गोरखा, कास्की, लगायत जिल्लामा जित्ने दावी गरेको छ । विगतमा माओवादी गढ रहेको गोरखा दुबै क्षेत्र रास्वपाले आफुले जित्ने जिकिर गरेको छ । लुम्बिनीमा पनि रुपन्देही, दाङ, गुल्मी लगायत जिल्लामा पार्टीको जित निश्चित देखिएको उसले बताएको छ ।
एमालेको विष्णु पौडेलको निर्वाचन क्षेत्र, एमालेको महासशिव शंकर पोखरेलको निर्वाचन क्षेत्र लगायतमा समेत रास्वपाले आफुले जित्ने दावी गरेको छ । कर्णालीमा पनि कम्तीमा ५ सिट जित्ने उसको दावी छ ।
सुदूरपश्चिममा रास्वपाले कञ्चनपुर २, डडेल्धुरा, अछाम–२ गरी तीन क्षेत्रमा प्रतिस्पर्धा सहज ठानेको छ। फागुन ५ (आज) मा रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाह धनगढी जाने र त्यहाँ भोलि चुनावी सभा गरेपछि कैलाली २, ४ र ५ को चुनावी माहोल बन्ने रास्वपाको आशा छ। कञ्चनपुर २ का उम्मेदवार दीपक बोहराले सुदूपश्चिममा ‘क्लिन स्विप’ गर्ने दाबी गरेका छन् ।
‘हाम्रो देशव्यापी लहर छ। यहाँ हामी क्लिन स्विप गर्छौँ। जनता परिवर्तनको पक्षमा उभिसक्नु भएको छ,’ बोहोरा भन्छन् ।
रास्वपाले काठमाडौं उपत्यकामा विगतमा जितेको निर्वाचन क्षेत्र सुरक्षित हुने र थप निर्वाचन क्षेत्रमा चुनाव जित्ने दावी गरेको छ । उसले काठमाडौंको २, ६, ७ र ८ तथा ललितपुरको ३ पार्टीले सहज जित्ने बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ फागुन २०८२, १० : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा