काठमाडौँ । नेपाललाई ९ विकेटले हराउँदै दुई पटकको च्याम्पियन वेस्ट इन्डिज आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा प्रवेश गरेको छ।
तेस्रो खेलमा पराजित भएपछि नेपालको भने सुपर एटमा पुग्ने सम्भावना सकिएको छ।
आइतबार भारतको मुम्बईस्थित वानखेडे रंगशालामा नेपालले दिएको १३४ रनको सामान्य लक्ष्य वेस्ट इन्डिज १५.२ ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो।
उसका लागि कप्तान शाइ होपले अर्धशतक प्रहार गरे। उनले नटआउट ६१ रन बनाउने क्रममा ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। शिमरन हेटमेयरले नटआउट ४६ रन बनाए। उनले ३२ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
त्यसअघि ब्रान्डन किङ २२ रनमा आउट भएका थिए। उनलाई नन्दन यादवले कुशल भुर्तेलबाट क्याच गराएका थिए।
त्यसअघि टस जितेको वेस्ट इन्डिजले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै नेपाललाई आशा दिएका हुन्। अन्तिम ओभरमा आउट हुनुअघि उनले ५८ रन बनाए। खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रको अर्धशतक महत्वपूर्ण साबित भयो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ फागुन २०८२, १५ : ०६
लेखकबाट थप