भोलि नेपाल बन्दको आह्वान !

सफल खबर संवाददाता

सोमबार, ०४ फागुन २०८२, २० : ४९
भोलि नेपाल बन्दको आह्वान !

चितवन । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) जिल्ला समिति चितवनले २०८२ फागुन ५ गते आयोजना गरिएको नेपाल बन्द सफल पार्न सम्पूर्ण जनसमुदायसँग सहयोग र समर्थनको अपिल गरेको छ।

पार्टीले जारी गरेको विज्ञप्तिमा देश गम्भीर संकटको अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै वैदेशिक हस्तक्षेप र राष्ट्रिय स्वाधीनतामाथि खतरा बढ्दै गएको दाबी गरिएको छ। वर्तमान सरकार साम्राज्यवादी योजनाअनुसार अघि बढिरहेको आरोप लगाउँदै पार्टीले कथित निर्वाचनको तयारीप्रति असन्तुष्टि जनाएको छ।

विज्ञप्तिमा राष्ट्रिय स्वाधीनताको रक्षा र वैज्ञानिक समाजवादी व्यवस्था स्थापना आजको आवश्यकता भएको उल्लेख गरिएको छ। सोही उद्देश्यका लागि नेपाल बन्दको कार्यक्रम घोषणा गरिएको जनाइएको छ।

नेपाल बन्द सफल पार्न यातायात व्यवसायी, उद्योगी–व्यवसायी, शैक्षिक संस्था, बुद्धिजीवी, सञ्चारकर्मी तथा आम नागरिकलाई सहयोग गर्न पार्टीले अनुरोध गरेको छ।

विज्ञप्तिको अन्त्यमा कार्यक्रमलाई सफल बनाउन सबै पक्षसँग एकताबद्ध समर्थनको अपेक्षा गरिएको छ।