काठमाडौं । निर्वाचन आयोगले चितवन निर्वाचन क्षेत्र नं. ३ मा उम्मेदवारहरूको मनोनयन तथा मत परिणामसम्बन्धी भ्रामक तथा मतदातालाई प्रभावित गर्ने गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सम्बन्धित पक्षमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले प्रेस काउन्सिललाई ध्यानाकर्षण गर्दै पत्र पठाएको हो ।
आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरे अनुसार, मिति २०८१/११/०३ गते चितवन-३ मा सोविता गौतमले जित्ने र रेणु दाहाल दोस्रो हुने जस्ता शीर्षकमा प्रकाशित समाचार तथा मिति २०८१/११/०४ गते भोट रास्वपालाई दिने हो तर निकुञ्ज छेउका बस्तीबारे वालेनको तर्क गलत छ भन्ने शीर्षकका समाचारहरू निर्वाचन आचारसंहिताको स्पष्ट उल्लङ्घन भएको ठहर गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने” तथा “कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने” व्यवस्था निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) र दफा २५ को उपदफा (१) को खण्ड (ख) मा स्पष्ट रूपमा उल्लेख छ। उल्लिखित समाचारहरूले यी व्यवस्थाको प्रतिकूल कार्य गरेको आयोगको निष्कर्ष छ।
चितवन क्षेत्र नं. ३ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट रेणु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सोविता गौतम प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन्। यो क्षेत्र हाल निर्वाचनको चर्चित ‘हट सिट’ बनेको छ। आयोगले यस्ता भ्रामक समाचार प्रकाशनले स्वतन्त्र तथा निष्पक्ष निर्वाचन प्रक्रियामा असर पार्ने भन्दै प्रेस काउन्सिल नेपाल, जिल्ला प्रशासन तथा सम्बन्धित निकायहरूलाई तत्काल आवश्यक कारबाही गर्न अनुरोध गरेको छ।
आयोगले सबै सञ्चारमाध्यम, राजनीतिक दल, उम्मेदवार तथा सर्वसाधारणलाई निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ फागुन २०८२, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह