आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट

समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्दै

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०८२, ०७ : ४०
समूह चरणको अन्तिम खेलमा नेपालले स्कटल्यान्डसँग खेल्दै

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दै छ ।

नेपाल र स्कटल्यान्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ बजेदेखि सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा इन्दु बर्मा छन् भने स्कटल्यान्डको कप्तान क्याथरिन ब्राइस छन् ।

आईसीसी महिला टी-२०आई वरियतामा स्कटल्यान्ड ११औं स्थानमा छ भने नेपाल २१औं स्थानमा छ । तुलनात्मक रूपमा बलियो टोली स्कटल्यान्डविरुद्ध खेल्दा नेपाल जित्‍नैपर्ने दबाबमा हुनेछ ।

नेपाल पहिलो खेलमा थाइल्यान्ड तथा दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा जिम्बाबेलाई हराएको थियो । सुपर सिक्समा प्रवेश गर्नका लागि नेपालले स्कटल्यान्डलाई कुन अन्तरले पराजित गर्छ त्यसमा पनि भर पर्नुपर्ने अवस्था छ भने त्यति मात्र नभएर त्यसपछि हुने थाइल्यान्ड र नेदरल्यान्ड्सबीचको खेलको नतिजा पनि कुर्नुपर्ने अवस्था बनेको छ ।

स्कटल्यान्डले एकपटक टी-२० विश्वकप खेलेको छ । गत संस्करण यूएईमा भएको महिला टी-२० विश्वकप २०२४ स्कटल्यान्डले खेलेको थियो । समूह चरणबाट अगाडि भने बढ्न सकेन । सोही विश्वकपकै आधारमा स्कटल्यान्ड सोझै ग्लोबल छनोट खेल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस