नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २६ जेठ २०८३, ०७ : २७
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक

काठमाडौँ । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि विशेष 'FIFA World Cup 2026 TV Package' र विभिन्न आकर्षक बोनस अफरहरू सार्वजनिक गरेको छ।

विश्व खेलकुदको महाकुम्भ मानिने विश्वकपका खेलहरूलाई नेपाली दर्शकमाझ सहज र सुलभ रूपमा पुर्‍याउने उद्देश्यले टेलिकमले यो योजना ल्याएको हो।

टेलिकमले सार्वजनिक गरेको यस प्याकेज अन्तर्गत एनटीटीभीका ग्राहकहरूले मात्र ९९९ रुपैयाँमा विश्वकपका सम्पूर्ण खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन्। 

यो प्याकेज सुचारु गर्नका लागि ग्राहकले आफ्नो टेलिभिजन सेटमा 'हिमालय स्पोर्ट्स' च्यानल छनोट गर्नुपर्नेछ। च्यानल छनोट गरेपछि स्क्रिनमा देखिने निर्देशन अनुसार नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गर्नुपर्ने हुन्छ। मोबाइलमा प्राप्त हुने ओटीपी कोड राखेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ काटिनेछ र प्याकेज तुरुन्तै सक्रिय हुनेछ। यसका अतिरिक्त, ग्राहकहरूले नजिकैको टेलिकम ग्राहक सेवा केन्द्रमा गएर पनि यो प्याकेज सुचारु गराउन सक्नेछन्।

विश्वकपको अवसरमा टेलिकमले उच्च गतिको इन्टरनेट प्रयोगकर्ताहरूका लागि विशेष बोनसको व्यवस्था समेत गरेको छ। आगामी जेठ २६ देखि साउन ३ गतेसम्म वार्षिक १०० Mbps वा सोभन्दा बढी गतिको 'इन्टरनेट विथ प्रिमियम आईपीटीभी' प्याकेज नयाँ जडान गर्ने वा नवीकरण गर्ने ग्राहकहरूले यो 'FIFA World Cup 2026 TV Package' बोनसका रूपमा निःशुल्क प्राप्त गर्नेछन्। 

त्यसैगरी, १०० Mbps भन्दा मुनिको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड गर्ने ग्राहकहरूले पनि यो सुविधा निःशुल्क पाउने टेलिकमले जनाएको छ। उक्त बोनस प्राप्त गर्नका लागि ग्राहकले आफ्नो नेपाल टेलिकमको मोबाइलबाट *१४१६# डायल गर्नुपर्नेछ।

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई उच्च गुणस्तरीय प्रविधि र उत्कृष्ट खेलकुद मनोरञ्जन प्रदान गर्न सदैव प्रतिबद्ध रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस