फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते

एजेन्सी

मंगलबार, २६ जेठ २०८३, ०८ : १६
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते

एजेन्सी । फिलिपिन्सको मिन्डानाओ टापु क्षेत्रमा सोमबार ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन् ।

अधिकांश मानवीय क्षति भवन भत्किँदा र पहिरो जाँदा भएको समाचार एजेन्सी एपीले जनाएको छ ।

साराङ्गानी प्रान्तको ग्लान नगरपालिकामा भूकम्पका कारण पहिरो जाँदा १३ जनाको मृत्यु भएको छ । प्रान्तीय विपद् व्यवस्थापन अधिकारी रेने पुन्जालानका अनुसार साराङ्गानीमै थप ४ जनाको ज्यान गएको छ ।

साराङ्गानीको पहिरोबाहेक अधिकांश मृत्यु भवन भत्किँदा वा भग्नावशेषले च्यापिँदा भएको अधिकारीहरूले बताएका छन् ।

दक्षिणी प्रान्तहरू साउथ कोटाबाटो, दाभाओ ओक्सिडेन्टल तथा बालुट टापुमा मस्जिदलगायतका संरचना क्षतिग्रस्त भएका छन् ।