काठमाडौं । गत भदौं २३ र २४ को जनेजी आन्दोलनका बेला घटेका घटनाको जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले ततकालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका क्रममा सोधिने प्रश्न तयार पारेको छ ।
तत्कालिन गृहमन्त्री रमेश लेखकसँग बयान सकेपछि आयोगले ओलीलाई सोध्ने प्रश्न तयार पारेको हो । प्रश्न तयार पारेपछि आयोग पदाधिकारीले बिहिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए । ओली जनेजी विद्रोहका बेला २४ भदौंमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टरमा भागेका थिए ।
२३ भदौंमा आन्दोलनमा उत्रेका कलिला युवा विधार्थीहरुमाथी राज्यले चरम दमन र नरसंहार गरेको थियो । त्यसको भोलिपल्ट मुलुकका मुख्य प्रशासनिक केन्द्र देखि नेताहरुका घरहरुसम्म तोडफोड, आगजानी र लुटपाटका काम भएका थिए ।
यससम्वन्धमा जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्व मुख्य न्यायाधिस गौरीवहादुर कार्की नेतृत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले अब तत्कालिन प्रधानमन्त्री ओलीसँग मात्र बयान लिन बाँकी छ । तर, ओलीले आयोगलाई नमान्ने र बयान नदिने बताईरहेका छन् । आफु कसैले भन्दैमा लुरुलुरु बयान दिन नजाने भन्दै ओलीले बयान नदिएको विषयमा चाहे सरकारले पक्रने वा गोली ठोक्न समेत सक्ने चेतावनी दिईरहेका छन् ।
यही परिवेशमा आयोगले ओलीलाई बयानमा बोलाउन पत्र लेख्ने र त्यस अगाडी उनलाई के कस्ता प्रश्नहरु सोध्ने भनेर प्रश्नपत्र तयार पारेको छ । उनीसँग आयोगले २३ भदौमा गरिएको दमन, सुरक्षाको तयारीलगायत विषयमा प्रश्न गर्नेगरी प्रश्न तयार पारेको छ ।
आयोगले सामाजिक सञ्जाल बन्दै गर्नुपर्नाको कारण के हो ? २३ भदौंको जेनजी प्रदर्शनका लागि जेन–जी युवाले प्रशासनसँग लिएको अनुमतिका बारेमा सरकार जानकार थियो कि थिएन ? युवा विधार्थीहरु मारिने अवस्था कसरी निम्तियो ? त्यसदिन दिनभर भईरहेका घटनाका बारेमा प्रधानमन्त्रीलाई के के विषय जानकारी गराइँदैथियो ? २४ भदौको घटना कसरी भयो ? यसको जिम्मेवार को हो ? संसद् भवनदेखि राष्ट्रपति कार्यालयसम्म आगजनी हुँदा किन सुरक्षा दिन सकिएन ? जस्ता प्रश्न ओलीलाई गर्ने गरी जाँचबुझ आयोगले प्रश्न तयार पारेको आयोगका एक पदाधिकारीले जानकारी दिए ।
केही प्रश्न भने तत्कालिन गृहमन्त्रीले दिएको बयानका आधारमा पनि ओलीलाई सोध्ने तयारी जाँचबुझ आयोगले गरेको छ । फिल्डमा खटिएका सुरक्षाकर्मीदेखि तत्कालीन गृहमन्त्रीसम्मको बयानका क्रममा उठेका प्रश्नहरूलाई ध्यानमा राखेर ओलीका लागि प्रश्नावली बनाइएको आयोगका ती सदस्यले बताए । पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा ५ असोजमा गठन भएको आयोगमा विज्ञानराज शर्मा र विशेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
तीन महिना समय पाएको आयोगले अब ओलीको बयान लिएपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारी गरेको छ । ओली बयानमा नआए, उनीसँग उनकै निवास गुन्डु भक्तपुरमा नै पुगेर बयान लिने वा लिखित बयान लिने भन्ने विकल्पमा पनि आयोग देखिएको छ । तर बयानका लागि पत्र पठाएपछि ओलीका तर्फबाट कस्तो प्रतिक्रिया आउँछ, त्यही आधारमा थप रणनीति अख्तियार गर्ने योजना आयोगले बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसलाई किन उक्साउँदै छन् ओली ? यस्ता छन् तीन कारण
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी
अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ : ओली
लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यक : ओली
ब्यक्तिगत आउनेलाई स्वागत गर्ने तर पार्टी बनाएर आउनेसँग एकता नहुने ओलीको घोषणा
जेन जी आन्दोलनपछि पहिलो पटक बालकोट पुगे ओली