काठमाडौं । गत भदौं २३ र २४ को जनेजी आन्दोलनका बेला घटेका घटनाको जाँचबुझ गर्न गठन भएको उच्चस्तरीय जाँचबुझ आयोगले ततकालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका क्रममा सोधिने प्रश्न तयार पारेको छ ।
तत्कालिन गृहमन्त्री रमेश लेखकसँग बयान सकेपछि आयोगले ओलीलाई सोध्ने प्रश्न तयार पारेको हो । प्रश्न तयार पारेपछि आयोग पदाधिकारीले बिहिबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका थिए । ओली जनेजी विद्रोहका बेला २४ भदौंमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट नेपाली सेनाको हेलिकप्टरमा भागेका थिए ।
२३ भदौंमा आन्दोलनमा उत्रेका कलिला युवा विधार्थीहरुमाथी राज्यले चरम दमन र नरसंहार गरेको थियो । त्यसको भोलिपल्ट मुलुकका मुख्य प्रशासनिक केन्द्र देखि नेताहरुका घरहरुसम्म तोडफोड, आगजानी र लुटपाटका काम भएका थिए ।
यससम्वन्धमा जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्व मुख्य न्यायाधिस गौरीवहादुर कार्की नेतृत्वमा ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले अब तत्कालिन प्रधानमन्त्री ओलीसँग मात्र बयान लिन बाँकी छ । तर, ओलीले आयोगलाई नमान्ने र बयान नदिने बताईरहेका छन् । आफु कसैले भन्दैमा लुरुलुरु बयान दिन नजाने भन्दै ओलीले बयान नदिएको विषयमा चाहे सरकारले पक्रने वा गोली ठोक्न समेत सक्ने चेतावनी दिईरहेका छन् ।
यही परिवेशमा आयोगले ओलीलाई बयानमा बोलाउन पत्र लेख्ने र त्यस अगाडी उनलाई के कस्ता प्रश्नहरु सोध्ने भनेर प्रश्नपत्र तयार पारेको छ । उनीसँग आयोगले २३ भदौमा गरिएको दमन, सुरक्षाको तयारीलगायत विषयमा प्रश्न गर्नेगरी प्रश्न तयार पारेको छ ।
आयोगले सामाजिक सञ्जाल बन्दै गर्नुपर्नाको कारण के हो ? २३ भदौंको जेनजी प्रदर्शनका लागि जेन–जी युवाले प्रशासनसँग लिएको अनुमतिका बारेमा सरकार जानकार थियो कि थिएन ? युवा विधार्थीहरु मारिने अवस्था कसरी निम्तियो ? त्यसदिन दिनभर भईरहेका घटनाका बारेमा प्रधानमन्त्रीलाई के के विषय जानकारी गराइँदैथियो ? २४ भदौको घटना कसरी भयो ? यसको जिम्मेवार को हो ? संसद् भवनदेखि राष्ट्रपति कार्यालयसम्म आगजनी हुँदा किन सुरक्षा दिन सकिएन ? जस्ता प्रश्न ओलीलाई गर्ने गरी जाँचबुझ आयोगले प्रश्न तयार पारेको आयोगका एक पदाधिकारीले जानकारी दिए ।
केही प्रश्न भने तत्कालिन गृहमन्त्रीले दिएको बयानका आधारमा पनि ओलीलाई सोध्ने तयारी जाँचबुझ आयोगले गरेको छ । फिल्डमा खटिएका सुरक्षाकर्मीदेखि तत्कालीन गृहमन्त्रीसम्मको बयानका क्रममा उठेका प्रश्नहरूलाई ध्यानमा राखेर ओलीका लागि प्रश्नावली बनाइएको आयोगका ती सदस्यले बताए । पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा ५ असोजमा गठन भएको आयोगमा विज्ञानराज शर्मा र विशेश्वरप्रसाद भण्डारी सदस्य छन् ।
तीन महिना समय पाएको आयोगले अब ओलीको बयान लिएपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाउने तयारी गरेको छ । ओली बयानमा नआए, उनीसँग उनकै निवास गुन्डु भक्तपुरमा नै पुगेर बयान लिने वा लिखित बयान लिने भन्ने विकल्पमा पनि आयोग देखिएको छ । तर बयानका लागि पत्र पठाएपछि ओलीका तर्फबाट कस्तो प्रतिक्रिया आउँछ, त्यही आधारमा थप रणनीति अख्तियार गर्ने योजना आयोगले बनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सम्पन्न, आजै निर्णय सार्वजनिक गर्ने तयारी
ओलीको रिस बादलमाथि पोखियो, एमालेभित्र नयाँ ध्रुवीकरणको संकेत
ओलीको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश पोखरेलको इजलासमा
पक्राउ परेका एमाले अध्यक्ष ओली अस्पताल भर्ना
ओली र लेखकलाई अब के– के गर्न पाउँछ प्रहरीले ?
ओली र लेखकलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखियो