निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति

सफल खबर संवाददाता

सोमबार, २९ मंसिर २०८२, १८ : ४६
निर्वाचन पर्यवेक्षण गर्न २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई आयोगले दियो अनुमति

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका निम्ति २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ ।

आयोगले जारी गरेको सूचनाबमोजिम पेस भएका ती संस्थाहरूलाई सोमबार निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको जनाएको हो । 

निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरिएकोमा ४४ वटा राष्ट्रिय र पाँचवटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन प्राप्त भएको थियो ।

पर्यवेक्षणका लागि आवेदन गरेका संस्थाहरूमध्ये निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ मा तोकिएका आधार र प्रक्रिया पूरा गरेका संस्थाहरूलाई पर्यवेक्षण गर्न अनुमति दिने गरी निर्णय भएको आयोगले जनाएको छ ।