देश छाडेर भागेको आशंका गरिएका भेनेजुएलाली नेता काराकासमा भए सार्वजनिक

एजेन्सी

सोमबार, १५ मंसिर २०८२, ११ : २५
देश छाडेर भागेको आशंका गरिएका भेनेजुएलाली नेता काराकासमा भए सार्वजनिक

एजेन्सी । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो धेरैपछि आइतबार सार्वजनिक रूपमा देखिएका छन् । योसँगै अमेरिकासित बढ्दो तनावका कारण उनी देश छाडेर भागेको भन्ने अफवाह अन्त्य भएको सीएनएनले जनाएको छ ।

हप्तामा प्रायः धेरैपटक मादुरो भेनेजुएलाको टेलिभिजनमा देखिने गरेका थिए । तर, बुधबारयता उनी सार्वजनिक रूपमा देखिएका थिएनन् । बुधबार उनले आफ्नै टेलिग्राम च्यानलमा काराकास वरिपरि कार चलाइरहेको भिडियो पोस्ट गरेपछि देश छाडेर भागेको अनुमान गरिएको थियो ।

आइतबार उनी काराकासको पूर्वी भागमा आयोजित वार्षिक विशेष कफी पुरस्कार वितरण समारोहमा उपस्थित भएको दृश्य सार्वजनिक गरिएको थियो ।

अनलाइनमा सार्वजनिक तस्बिरमा राष्ट्रपति मादुरो कार्यक्रमस्थलमा बसेर उत्कृष्ट कफी उत्पादकलाई पदक वितरण गरिरहेका देखिएको थियो । उनले थोरै टिप्पणी गर्दै विभिन्न प्रकारका कफी चाखेका थिए । देशमा जारी संकटका विषयमा भने उनले कुनै प्रत्यक्ष टिप्पणी गरेनन् ।

कार्यक्रमको अन्त्यतिर देशको अर्थतन्त्रबारे बोल्दै उनले भेनेजुएलालाई कसैले छुन नसक्ने र अजेय रहेको बताएका थिए ।

यो अभिव्यक्ति अमेरिकासँगको तनावप्रति संकेत रहेको विश्लेषकले बताएका छन् । मादुरोले अमेरिकाले आफूलाई सत्ताबाट हटाउन खोजेको दाबी गरिरहेका छन् ।

मादुरो कफी पुरस्कार समारोहमा देखिनुभन्दा अघि केही समयअघि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले भेनेजुएलाली नेतृत्वसँग टेलिफोनमा वार्ता गरेको बताएका सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।

एयर फोर्स वानमा रहेका ट्रम्पलाई पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले उक्त विषयमा कमेन्ट गर्न चाहेका थिएनन् । उनले मादुरोसँग टेलिफोनमा कुराकानी भने भएको पुष्टि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस