चुनाव लड्ने घोषणा गरिसकेको व्यक्तिलाई सरकारमा राखिरहन नैतिकरूपमा मिल्दैन : शंकर पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०८२, ०९ : १२
चुनाव लड्ने घोषणा गरिसकेको व्यक्तिलाई सरकारमा राखिरहन नैतिकरूपमा मिल्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गैरदलीय सरकारमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई सहभागी गराउनु गलत भएको बताएका छन् । 

उनले पार्टी खोलेर चुनाव लड्ने घोषणा गरिसकेको व्यक्तिलाई सरकारमा राखिरहन नैतिकरूपमा नमिल्ने जिकिर गरेका छन् । 

“प्रधानमन्त्री सुशीला कार्कीले चुनावका लागि गैरदलीय सरकार बनाएको दाबी गर्ने तर स्वयंको पहलमा पार्टी गठन गरी चुनावमा सहभागी हुने घोषणा गरिसकेको व्यक्तिलाई मन्त्री पदमा राखिराख्नु उचित हुन्छ ?” ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गर्दै पोखरेलले फेसबुकमा लेखेका छन् । 

पोखरेलले यस्तो व्यक्ति मन्त्री पदमा बसिरहनु नैतिक दृष्टिले उपयुक्त नरहेको बताएका छन् । उनी अगाडि लेख्छन्, “प्रधानमन्त्रीको प्रतिवद्धतासँग मेल खाँदैन भने अविलम्ब मन्त्री पदबाट बिदा गर्नुपर्ने होइन र ?” 

‘उज्यालो नेपाल’ पार्टी तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ऊर्जामन्त्री घिसिङको समर्थनमा गठन भएको बताइएको छ । यद्यपि, निर्वाचन आयोगमा बुझाइएको विवरणका उनको नाम समावेश छैन । 

घिसिङ ‘उज्यालो नेपाल’ पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी भएका थिए । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि बुधबार बौद्धमा बसेको केन्द्रीय समिति बैठकमा उनी सहभागी भएर आफ्नो धारणा राखेको खबर सार्वजनिक भएको थियो ।  

प्रतिक्रिया दिनुहोस