सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल

सफल खबर संवाददाता

शुक्रबार, २९ जेठ २०८३, ०९ : ५४
सरकारको प्रतिरक्षामा सभामुख उत्रिनु उचित होइन : शंकर पोखरेल

काठमाडौँ  नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिभा बैठकमा सरकारमाथि उठेका प्रश्नको बचाउमा सभामुख स्वयं उत्रिनु उचित नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले सभामुखलाई तटस्थ रहन आग्रह गर्दै ‘संसदीय खेलका खेलाडी सांसदहरू नै भएको’ स्मरण गराएका हुन् ।

प्रतिनिधिसभा बैठकमा सांसदहरूले सरकारको आलोचना गर्दा सभामुखले त्यसको प्रतिवाद र सरकारको प्रतिरक्षा गर्ने क्रम बढेको भन्दै एमाले महासचिव पोखरेलले यस्तो आपत्ति प्रकट गरेका हुन् ।महासचिव पोखरेलले सभामुख सरकारको प्रतिरक्षामा मात्र नभई विपक्षी सांसदहरूसँग प्रत्यक्ष बहसमा समेत उत्रिने गरेको भन्दै असन्तुष्टि जनाएका छन् । संसदीय मर्यादा अनुसार सभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्नेमा त्यसो हुन नसकेको उनको बुझाइ छ ।

सभामुखको भूमिकाप्रति लक्षित गर्दै पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, “सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा र विपक्षीसँगको बहसमा सभामुख स्वयं उत्रिनु उचित होइन । संसदीय खेलका खेलाडी सांसदहरू नै हुन् ।” संसद्‌मा केरकार र बहस गर्ने काम जनप्रतिनिधिहरूको भएको भन्दै उनले रेफ्रीको भूमिकामा रहनुपर्ने सभामुख आफैँ मैदानको खेलाडी जस्तो बन्न नहुने संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस