'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल

सफल खबर संवाददाता

बुधबार, २७ जेठ २०८३, १० : ४०
'‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप' : शंकर पोखरेल

काठमाडौँ  नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा उदाएका दलहरूले अघि सारेको ‘जान्नेलाई छान्ने’ नारा पाखण्ड र भ्रष्टताको संस्थागत रूप भएको आरोप लगाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले नयाँ भनिएकाको वास्तविकता एकपछि अर्को गर्दै छताछुल्ल भइरहेको दाबी गर्दै यस्तो बताएका हुन् ।

रास्वपा र सरकारको कार्यशैलीप्रति लक्षित गर्दै पोखरेलले देशविरुद्धका घातलाई सामान्य ठान्ने र राज्यविरुद्धको विध्वंसात्मक अपराधलाई बहादुरी मान्ने प्रवृत्ति बढेको उल्लेख गरे । “स्वार्थमा आधारित सेटिङलाई विधि बनाउने, अर्थविधेयक जस्तो संवेदनशील दस्तावेजमा गैरकानूनी छेडखानी गर्ने र अवैध धनका स्रोतलाई सिस्टमको कमजोरी देखाइदिने खेल भइरहेको छ,” उनीहरूको योग्यतामाथि प्रश्न उठाउँदै पोखरेलले लेखेका छन्, “आफ्ना मानिसलाई जुक्ति लगाएर उन्मुक्ति दिने र अरूलाई जसरी पनि दोषी देखाउन खोज्ने काम भइरहेको छ । यदि यही कुरा नै ‘जान्नेलाई छान्ने’ हो भने यो योग्यता होइन, पाखण्ड हो ।”

महासचिव पोखरेलले वर्तमान गतिविधि सुशासन र तीव्र विकासका बाधक भएको भन्दै यो स्वेच्छाचारिता र पक्षपातको पराकाष्ठा भएको टिप्पणी गरेका हुन् ।

देशमा सुशासन र तीव्र विकासका लागि हिजोका कमीकमजोरी हटाउनु अपरिहार्य भए पनि नयाँका नाममा भइरहेका गलत काम कदापि स्वीकार्य नहुने उनको भनाइ छ । “हिजोका कमजोरी हटाउनु आवश्यक छ, तर त्यसलाई नै विर्साउने कूकार्य नयाँका नाममा कदापि उचित मान्न सकिँदैन,” पोखरेलले भनेका छन् । हालैका बजेट विवाद र राजनीतिक घटनाक्रमप्रति एमाले महासचिवको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस