काठमाडौँ । गण्डकी प्रदेश सरकारले ७ निर्देशनालय खारेज गरेको छ । साथै १८५ कर्मचारी दरबन्दी कटौती समेत भएको छ । यसबाट तत्काल ५० करोड आर्थिक भार कम हुने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको भनाइ छ ।
आज बिहान बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रादेशिक स्वास्थ्य निर्देशनालय खारेज गर्ने निर्णय गरेको हो ।
यसैगरी प्रादेशिक स्वास्थ्य तालिम केन्द्र र प्रादेशिक स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र समेत खारेज गर्ने निर्णय भएको छ । यसैगरी विभिन्न ३२ वटा निकायलाई गाभेर १७ वटा बनाउने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।
गण्डकी सरकारले नेपाल सरकारका पूर्वसचिव शरदचन्द्र पौडेलको संयोजकत्वमा प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समिति गठन गरेको थियो । २०८१ चैतमा गठन भएको सो समितिमा पूर्वसहसचिव महेश्वर नरसिंह केसी र अर्का सहसचिव अच्युत लामिछाने सदस्य थिए ।
समितिले बुझाएको प्रतिवेदनलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भनेर अन्तिम रूप दिन प्रमुख सचिव खगेन्द्रप्रसाद सुवेदी संयोजकत्वमा ५ सदस्यीय अर्को समितिलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिम्मा दिएका थिए ।
सोही अनुसार प्रतिवेदन क्रमशः कार्यान्वयन गर्दै जाने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ साउन २०८२, १४ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री शाहले गरे गण्डकी प्रदेशका प्रतिनिधि सभा सदस्यहरूसँग छलफल
प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष शर्मा नेकपामा समाहित
लक्षचण्डी विराट महायज्ञमा गण्डकी प्रदेश सरकारले सहयोग गर्ने
यी हुन् खारेज भएका र गाभिएका सरकारी निकाय (सूचीसहित)
गण्डकीमा घट्दै बर्खे धान खेती
गण्डकीका माओवादी सांसदले रोष्ट्रमबाटै च्याते बजेट पुस्तिका