कास्की । गण्डकी प्रदेश सरकारले गलेश्वर आश्रमले पवित्र धार्मिकस्थल देवघाटधाममा आयोजना गर्न लागेको लक्षचण्डी विराट महायज्ञलाई सहयोग गर्ने भएको छ । गलेश्वर धामका पीठाधीश महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँग बुधवार भएको भेटमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहयोग र समर्थनको आश्वासन दिए । आश्रमले यही २०८२ माघ १८ देखि फाुगन १७ गतेसम्म पवित्र तीर्थस्थल देवघाट धाममा लक्षचण्डी विराट महायज्ञ आयोजना गर्दै छ ।
कलियुगमा भगवती महामाया चण्डी एवं भगवान श्रीगणेशको उपासना गर्नाले परिवारमा सुख, शान्ति, समृद्धि र राष्ट्रको अभ्युदय प्राप्त हुन्छ भन्ने शास्त्रीय मान्यताको अनुसरण गर्दै आश्रमले उक्त महायज्ञ आयोजना गर्न लागेको हो । गलेश्वर आश्रम स्थापनाको शतवार्षिकीको अवसरमा आयोजना हुने महायज्ञको उद्देश्य राष्ट्रशान्ति, समृद्धि, आत्मकल्याण, राष्ट्रवासीको सर्वांंगीण विकास तथा विश्वबन्धुत्वको भावना जागरण गर्नु रहेको छ ।
महायज्ञका लागि सहयोग र समर्थन जुटाउने तथा विशिष्ट व्यक्तित्वहरुलाई निमन्त्रणा गर्ने उद्देश्यले आश्रमको प्रतिनिधिमण्डल पोखरा पुगेको थियो । प्रतिनिधिमण्डलमा महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजीसँगै आश्रमका पदाधिकारीहरु सहभागी थिए ।
गलेश्वर आश्रम हिन्दु धर्मको सम्बद्र्धन र पवित्र देवघाट धामको ऐतिहासिक, धार्मिक महत्वलाई व्यवस्थित गर्ने संकल्प लिएर स्थापना भएको आश्रम हो । यसको स्थापना अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले गरेका हुन । आश्रमले पवित्र देवघाटधाममा वेद–वेदाङ्ग विद्यालय, यहाँ बसोबास गर्ने साधक सन्त–तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र र घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज एवं सुन्दर कल्पवास निर्माण गरी सञ्चालन गरिरहेको छ ।
आश्रमले देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निःशुल्क भोजन र बसोबाको सुविधा छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठान तथा अन्य धार्मिक क्रियाकलापहरु नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ साउन २०८२, १५ : २६
लेखकबाट थप