अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै

सफल खबर संवाददाता

बुधबार, २१ साउन २०८२, ०८ : ३९
अमेरिका जाँदै हुनुहुन्छ ? पहिल्यै १५ हजार डलर धरौटी राख्नुपर्ने नियम आउँदै

काठमाडौं। पर्यटक तथा व्यापारिक भिसा लिएर अमेरिका जाने तर स्वदेश नर्फकने समस्या देखिएपछि अमेरिकी सरकारले यस्ता भिसामा कडाइ गर्ने भएको छ । अमेरिकाले यस्ता भिसामा अमेरिका जान चाहेकालाई पहिले नै धरौटी रकम जम्मा गर्न लगाउने गरी नीति लागु गर्न खोजेको छ । तर यो सबै देशका नागरिकका सवालमा भने नभएको अमेरिकी सरकारले जनाएको छ ।

अमेरिकी सरकारले संकास्पद राखेका देशको सूचीबाट त्यस्ता देशका नागरिकका लागि मात्र यस्तो ब्यवस्था गर्न लागेको हो । यो ब्यवस्था अनुसार, केही देशका पर्यटक तथा व्यापारिक भिसा (B-1/B-2) आवेदकहरूका लागि ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्मको धरौटी रकम माग गर्ने नयाँ नीति घोषणा गरेको छ।

यो नियम दुई हप्ता पछि अर्थात् सन् २०२५ अगस्ट २० देखि लागू हुनेछ। विदेश मन्त्रालयले यो नीति १२ महिनाको लागि परीक्षण कार्यक्रमको रूपमा अघि सारेको हो।

भिसा अवधी सकिदासम्म अमेरिकामै रहने र प्रमाणिकरण प्रणाली कमजोर देखिएका देशलाई लक्षित गरी अमेरिकाले यस्तो नीति अख्तियार गर्न लागेको हो । भिसाको समय छँदै अमेरिकाबाट स्वदेश फर्केमा भने धरौटी रकम फिर्ता हुनेछ । 
सुरुमा अमेरिकाले केही देशहरुका नागरिकमा यो निति लागु गर्नेछ । त्यस्ता देशहरुको सूची उसले तयार पार्नेछ । र त्यसपछि अमेरिका जान भिसा आवेदन दिन जाँदा नै धरौटी रकमका बारेमा उसले भन्नेछ । भिसा लिँदा उसले तोकेको धरौटी रकम राखेपछि भिसा दिने र भिसा अवधीमै स्वदेश फर्केपछि रकम फिर्ता गर्ने तयारी गरेको छ ।

तर, भिसा अवधि नाघेमा वा ओभर स्टे भएमा उक्त रकम जफत गरिनेछ।

यस नियमले भिसा छुटमा सहभागी देशहरूलाई भने असर गर्ने छैन। प्रभावित देशहरूको सूची कार्यक्रम सुरु हुनु कम्तीमा १५ दिनअघि सार्वजनिक गरिनेछ।

विदेश मन्त्रालयका अनुसार, यो नीति अवैध बसाइ रोक्ने, राष्ट्रिय सुरक्षालाई मजबुत बनाउने, तथा अन्तर्राष्ट्रिय पहिचान प्रणाली सुधार गर्ने उद्देश्यले ल्याइएको हो।

विशेषज्ञहरूका अनुसार, यो कदमले विकासशील देशका यात्रुहरूलाई अमेरिका प्रवेशमा थप अवरोध पुर्‍याउनेछ। साथै, यसले भिसा प्रक्रियालाई अझ जटिल बनाउने सम्भावना रहेको छ। नेपालीहरुलाई पनि यो नीतिले असर पार्ने संभावना छ ।

यो नीति पहिलो पटक सन् २०२० मा ट्रम्प प्रशासनले प्रस्ताव गरेको थियो। तर, कोभिड महामारीका कारण लागू हुन सकेन। अहिले ट्रम्पको दोस्रो कार्यकालमा पुनः सुरु गरिएको हो।

अमेरिका आउन चाहने नेपाली नागरिकहरूले अब भिसा आवेदन गर्दा थप सतर्कता अपनाउनुपर्ने देखिन्छ।