सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार

सफल खबर संवाददाता

आइतबार, ०४ साउन २०८२, १५ : ४६
सेयर बजारमा उतारचढाव, साढे २१ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा ठूलै उतारचढाव देखिएको छ । अघिल्लो कारोबार दिन २८७० अंकमा रहेर बन्द भएको बजार आइतबार कारोबारका क्रममा दिउँसो १ बजे ५२ अंक बढेर २९२२ मा पुगेको थियो । त्यसपछि बिक्री चाप बढ्यो ।

अन्ततः अघिल्लो दिनकै अंक २८७० मा झरेर बन्द भयो । अन्तिम १५ मिनेटको भारित औसत मूल्य समायोजन नहुँदा भने बजार अघिल्लो दिनको तुलनामा २.८७ अंक घटेर २८६७ अंकमा झरेको थियो । भारित औसत मूल्य समायोजनपछि अघिल्लो दिनको तुलनामा नेप्से जम्मा ०.३२ अंक मात्रै बढेको हो ।

बजारको उतारचढाव ठूलो हुँदा कारोबार रकम भने बढेको छ । कुल २१ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो । यो कारोबार रकम ११ महिना (२ भदौ)यताकै उच्च हो । गत वर्षको साउन ३२ गते हालसम्मकै उच्च २९ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको रेकर्ड छ।

आज १०५ कम्पनीको मूल्य बढ्दा १४४ को घट्यो । फाइनान्स समूह सबैभन्दा धेरै २.२६ प्रतिशत घट्यो । त्यस्तै बैंकिङ १.३८, विकास बैंक ०.०८, हाइड्रोपावर ०.४२, लगानी ०.१६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.०२ तथा व्यापार ०.५० प्रतिशत घटे । अन्य समूह सबैभन्दा धेरै ३.३६ प्रतिशत बढ्यो । होटल तथा पर्यटन १.२४, जीवन बीमा १.४० र निर्जीवन बीमा १.३७ प्रतिशत बढे ।

५ कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत मूल्य बढेका कम्पनीमा सान्भी इनर्जी, उन्नती सहकार्य लघुवित्त, ट्रेड टावर, शिवश्री हाइड्रोपावर र विन्ध्यबासिनी हाइड्रोपावर छन् । सिटी होटलको ८.५०, एनएलजी इन्स्योरेन्सको ७.५८, नेपाल माइक्रो इन्स्योरेन्सको ७.४३ प्रतिशत मूल्य बढ्यो ।

समृद्धि फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.८८ प्रतिशत घट्यो । त्यस्तै दोर्दीखोला हाइड्रोपावरको ४.६१, पन्चकन्या माइ हाइड्रोपावरको ४.५१ प्रतिशत घट्यो । आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा नेपाल रिइन्स्योरेन्स, बुटवल पावर, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप तथा सानिमा माइ हाइड्रोपावर क्रमशः अगाडि रहे ।

बजारको पूँजीकरण ४७ खर्ब ८७ अर्ब रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस