स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित

'ऐतिहासिक रूपमा लोडसेडिङ अन्त्य गर्दै जनमानसमा लोकप्रियता कमाएका थिए'

सफल खबर संवाददाता

बुधबार, ३२ असार २०८२, ०९ : ०९
स्वदेश फर्किए कुलमान घिसिङ, नयाँ पार्टी खोल्ने की पूरानै पार्टीबाट राजनीति गर्नेबारे अझै अनिर्णित

काठमाडौं । नेपालमा लोडसेडिङ अन्त्य गरी ‘नेशनल हिरो’ बनेका नेपाल विद्युत प्राधिकरण पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नाम फेरि एकपटक देशको राजनीतिक फलकमा चुलिएको छ ।

दुई साताको खाडी मुलुक भ्रमण सकेर सोमबार स्वदेश फर्किएका घिसिङ अब राजनीतिक पाटोमा प्रवेश गर्ने तयारीमा छन् । तर, उनले कुन मोड लिने - पुरानै पार्टीमा प्रवेश गर्ने कि नयाँ दल खोल्ने भन्ने निर्णय भने अझै गरेका छैनन् ।

घिसिङले जुलाई २ देखि १३ सम्म बहराइन, युएई, ओमान र कतारको भ्रमण गरे । विभिन्न नेपाली समुदायसँगको प्रत्यक्ष भेटघाट, अन्तरक्रिया र आत्मीय संवादले उनको यो भ्रमण केवल व्यक्तिगत मात्र थिएन भन्ने संकेत देखिन्छ । यद्यपि उनले यो भ्रमणलाई व्यक्तिगत भन्दै सामाजिक सञ्जालमार्फत साझेदारी गरेका छन् । राजनीतिक वृत्तले भने यसलाई ‘विदेशी नेपाली समुदायसँग सम्बन्ध निर्माण र मनोविज्ञान बुझ्ने प्रयास’ भनेर हेरेका छन् ।

उनका अगाडिका बाटाहरू सजिला छैनन् । दलभित्रको असहिष्णु प्रतिस्पर्धा, भित्री गुटबन्दी, संसदीय प्रणालीको जटिलता र राज्य संयन्त्रको राजनीतिक पूर्वाग्रहजस्ता तत्वहरूले उनीमाथि गहिरो असर पार्न सक्छ । त्यसैले उनका हरेक पाइला अब कुटनीतिक र रणनीतिक हुने निश्चितप्राय छ ।

प्रवासी नेपाली समुदायमा रुचाइएका घिसिङ केपी शर्मा ओली नेतृत्वको सरकारले हटाउन खोज्दा खाडी मुलुकका नेपालीले सामाजिक सञ्जालमार्फत व्यापक विरोध गरेका थिए । यही कारण, यसपटकको भेटघाटलाई उनले पुरानो सम्बन्धलाई अझ सशक्त बनाउन र आगामी योजनामा समर्थन जुटाउन प्रयोग गरेका हुनसक्ने आँकलन गरिँदैछ ।

घिसिङको नाम यसअघि २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि चर्चामा आएको थियो । नेकपा (माओवादी केन्द्र)ले उनलाई काठमाडौं–३ बाट उम्मेदवार बनाउने चर्चा चले पनि उनी निर्वाचनमा सहभागी भएनन् । स्मरण रहोस्, उनी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । सोही कार्यकालमा उनले ऐतिहासिक रूपमा लोडसेडिङ अन्त्य गर्दै जनमानसमा लोकप्रियता कमाएका थिए ।

यही पृष्ठभूमिका कारण उनी माओवादी केन्द्रमै फर्कने सम्भावना प्रवल देखिएको छ । कतिपयले नयाँ राजनीतिक दल बनाएर अघि बढ्नुपर्ने सुझाव दिइरहेका छन् । तर नयाँ दल खोल्न लाग्ने समय, पूर्वतयारी, संगठन विस्तार र सम्भावित राज्य दमनको डर समेत उनले महसुस गरिरहेका छन् । खासगरी, छोटो समयमै उदाएका रवि लामिछानेमाथि भएको ‘संस्थागत हमला’ र राज्य संयन्त्रको आक्रामक व्यवहार घिसिङको मनमा अझै ताजा छ ।

राजनीतिक जानकारहरुको धारणा छ- कुलमानजस्तो लोकप्रिय र छवि शुद्ध नेताले ‘शून्य’ बाट राजनीतिक संगठन निर्माण गर्नु जोखिमपूर्ण हुन सक्छ । उनीहरुलाई पहिले नै संगठन, जनशक्ति र संसाधनको बलियो आधार रहेको दलमा प्रवेश गरी राजनीतिको मूलधारबाट अघि बढ्नु रणनीतिक हिसाबले उचित हुने देखिन्छ । तर, यतिबेला घिसिङले न त आफू कुनै दलमा प्रवेश गरेको स्पष्ट पारेका छन्, न नयाँ दल खोल्ने घोषणा गरेका छन् ।

नेपालमा राजनीतिक भ्रष्टाचार, अक्षमता र दलदलीय स्वार्थवृत्तिको आलोचना भइरहेका बेला कुलमान घिसिङ जस्तो ‘सफल कार्यकारी’ राजनीतिमा आउनु पर्ने आशा गर्न थालेका छन् । यही कारण उनको राजनीतिक प्रवेशको चर्चा केवल व्यक्तिगत यात्रा होइन, वर्तमान राजनीतिक वैकल्पिक नेतृत्वप्रति जनआशाको अभिव्यक्ति पनि हो ।

तर, उनका अगाडिका बाटाहरू सजिला छैनन् । दलभित्रको असहिष्णु प्रतिस्पर्धा, भित्री गुटबन्दी, संसदीय प्रणालीको जटिलता र राज्य संयन्त्रको राजनीतिक पूर्वाग्रहजस्ता तत्वहरूले उनीमाथि गहिरो असर पार्न सक्छ । त्यसैले उनका हरेक पाइला अब कुटनीतिक र रणनीतिक हुने निश्चितप्राय छ ।

खाडी मुलुक भ्रमण सकेर स्वदेश फर्किएका कुलमान घिसिङ अब ‘राजनीतिक प्रवेश’ नामक यात्रा सुरु गर्ने संघारमा छन । उनी कुन बाटो लिन्छन्, पुरानै दलबाट अघि बढ्ने कि नयाँ ‘घिसिङ ब्रान्ड’ राजनीतिको श्रीगणेश गर्ने ? यो अझै खुलेको छैन । तर, उनले गरेको हरकदम अब देशका नागरिक, राजनीतिक वृत्त र सञ्चार जगतको सतर्क निगरानीमा रहने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस