एएफपी । इजरायलले गाजाको राफा नाका आजदेखि पुनः खोल्ने निर्णय गरेको छ, जसबाट इजिप्ट हुँदै गाजामा मानवीय सहयोगका सामग्री पठाइने छन् । इजरायली सार्वजनिक प्रसारण संस्थाका अनुसार, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय संस्था, निजी क्षेत्र र दातृ राष्ट्रहरूले पठाउने करिब ६ सय सवारी साधन गाजातर्फ पठाइने तयारी भइरहेको छ ।
गाजामा दुई वर्षदेखि जारी द्वन्द्वका कारण खाद्यान्न, औषधि र अन्य आधारभूत सेवाको गम्भीर अभाव भएको छ । संयुक्त राष्ट्रसंघ र विभिन्न सहयोगी संस्थाहरूले बारम्बार राफा नाका खोल्न आग्रह गर्दै आएका थिए । संयुक्त राष्ट्रसंघले गत साउन महिनामा गाजामा दुर्भिक्ष भएको घोषणा गरे पनि इजरायलले त्यो दाबी अस्वीकार गरेको थियो ।
राफा नाका खोल्ने निर्णय इजरायली राजनीतिक नेतृत्वको सहमतिमा गरिएको हो । यो निर्णय हमासले मङ्गलबार राति थप चार जना बन्धकको शव फिर्ता गरेपछि लिइएको हो । हालै सुरु भएको युद्ध विराम सम्झौताअनुसार, हमासले सबै बन्धकहरू जिउँदो वा मृत–७२ घण्टाभित्र फिर्ता गर्नुपर्ने सर्त रहेको छ ।
हालसम्म हमासले २० जना जिउँदो बन्धकहरू फिर्ता गरिसकेको छ, तर २८ जना मृतकहरूमध्ये केवल ८ जनाको मात्र शव फिर्ता गरिएको छ । इजरायलका राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन गभिरले यदि बाँकी बन्धकहरूको शव फिर्ता नगरिएमा गाजामा सहायता बन्द गरिने चेतावनी दिएका छन् ।
इजरायली सञ्चार माध्यमका अनुसार, बुधबार थप चार जना बन्धकको शव फिर्ता हुने जानकारी पाएपछि राफा नाका खोल्ने निर्णय गरिएको हो । यद्यपि, हमासले यसबारे अहिलेसम्म आधिकारिक पुष्टि गरेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ असोज २०८२, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुई सय १३ किलोग्राम गाँजा बरामद
लालबन्दीबाट ३८ केजी गाँजासहित एक जना पक्राउ
२ सय ६८ किलो गाँजा बरामद
इजरायली आक्रमणमा गाजामा २० जनाको मृत्यु
सात किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ