धनगढी । कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ । सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका– ५ का २८ वर्षीय हरिश पालीको उपचारको क्रममा मृत्यु भएको हो । उनी बैंकिङ कसुर मुद्दाका प्रतिवादी थिए ।
कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले अचेत अवस्थामा भेटिएका पालीलाई सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुऱ्याउँदा पालीलाई उच्च ज्वरो र रक्तचाप निकै कम रहेको पाइएको तिमिल्सिनाले बताए ।
पालीको मुख, खुट्टा तथा शरीरका अन्य भागमा समेत चोटपटक र निलडाम देखिएपछि आफन्तले उनको हत्या भएको दाबी गर्दै शव बुझ्न अस्वीकार गरेका छन् । उनको शव प्रादेशिक अस्पतालमा रहेको छ ।
पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।
त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले यही असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।
अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्रहरीले परिवारलाई मङ्गलबार बिहान दिएको थियो । प्रहरीले बिरामी भएर उपचारको क्रममा मृत्यु भएको बताए पनि आफन्तहरूले यो सामान्य मृत्यु नभई हत्या भएको दाबी गर्दै आएका छन् ।
आफन्तले कारागार प्रशासनसँग सीसीटीभी फुटेज माग्दा सुरुवातमा देखाउने भनिए पनि पछि ‘फुटेज बिग्रिएको’ भन्दै अस्वीकार गरिएको उनीहरूको आरोप छ । मृतकका परिवारले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कारबाहीको माग गरेका छन् । न्याय सुनिश्चित नभएसम्म शव नउठाउने उनीहरूको अडान छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ असार २०८२, ०९ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आठ हजार ८१६ कैदी बन्दी अझै फरार
५८ कैदी बन्दी कारागार फर्किए
फरार कैदीलाई थप कारबाही गर्ने रौतहट प्रहरीको चेतावनी
झन्डै पाँच हजार कैदी फर्किए
कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ
कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ